रक्सीले मातेका पर्यटन बोर्डका सीईओले एयरपोर्टमा कर्मचारी कुटे, घटना गुपचुप राख्न 'सर्कुलर'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2021 | 12:19:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कर्मचारी कुटेका छन् । तिहारको टिकाको दिन बेलायतबाट फर्किएका सीईओ रेग्मीले विमानस्थलको भन्सार जाँचपासमा खटिएका कर्मचारीमाथि हात हालेका हुन् ।

मदिराले मातेर आएका उनले ब्यागेजमा ६ बोतल मदिरा ल्याएका थिए । ब्यागेजमा मदिरा देखेपछि विमानस्थल भन्सारका नायब सुब्बा सुमन थापाले ६ बोतल रक्सी एक्लैले ल्याएको कि साथमा अरु साथीहरु पनि छन् भन्दै प्रश्न गरे । लगत्तै सीईओ डा. रेग्मीले थापालाई थप्पड हाने ।

‘म को हुँ तैले चिनेको छस् ?’ डा. रेग्मीले भनेको शब्द सुनाउँदै स्रोतले भन्यो, ‘म यो देश चलाउने मान्छे हुँ, बुझिस् ।’

जाँचपासमा खटिएका कर्मचारीमाथि हातपात भएपछि रेग्मीलाई भन्सार अधिकृतले नियन्त्रणमा लिए । लगत्तै एयरपोर्ट भन्सारका प्रमुख महेश भट्टराईले यो विषयको जानकारी भन्सार विभागका महानिर्देशक नारायण सापकोटालाई पनि गराए । सापकोटाले जोसुकै भएपनि नियम अनुसार कारबाही गर्न भने ।

भन्सार ऐन २०६४ मा विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउने व्यवस्था छ । तर, डा. रेग्मीले ६ बोतल ल्याएपछि उक्त मदिरा जफत गरिएको विमानस्थल भन्सार स्रोतले बताएको छ ।

मदिरा जफतसहित उनलाई ५ हजार जरिवाना पनि तिराईएको छ । 

घटना गुपचुप राख्न सर्कुलर

उनले मदिरा सेवन गरेको पुष्टि स्वास्थ्य जाँचमार्फत पनि भयो । तर, भीआईपी भएकै कारण घटना लुकाउन विमानस्थल कार्यालय आफैँ पनि लाग्यो ।

उनलाई छोड्ने र घटनालाई बाहिर कहीँकतै सार्वजनिक नगर्न कर्मचारीलाई सर्कुलर नै जारी गरियो । विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराई पनि ती व्यक्ति को हुन् भन्नेमा आफूलाई जानकारी नभएको बताउँछन् । 

टीकाको दिन मदिरा सेवन गरेका एक यात्रुले कर्मचारीमाथि दुर्व्यहार गरेको अभिलेख रहेको तर, ती व्यक्ति को हुन् भन्ने जानकारी नरहेको भट्टराईको दाबी छ ।

के भन्छ पर्यटन बोर्ड ?

पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल घटनाबारे आफूले पनि भर्खरै जानकारी पाएको बताउँछन् । उनले यसबारे बोर्डमा अनौपचारिक छलफल हुने पनि बताए ।

‘अब सचिव (पर्यटन सचिव) ले प्रस्ताव ल्याएको खण्डमा औपचारिक छलफल नै होला, नत्र अनौपचारिक छलफल मात्रै हुन्छ, के भएको हो भन्ने कुरा बुझ्ने काम हुन्छ । बाँकी छलफल पछि नै थाहा होला ।’

बोर्डको अध्यक्ष पर्यटन सचिव रहने व्यवस्था छ ।

बोर्डका सीईओ डा. कार्तिक १५ गते (नोभेम्बर १) देखि लण्डनमा सुरु भएको ३ दिने वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्केका थिए । मार्टमा नेपाली टोलीको नेतृत्व पर्यटन मन्त्री प्रेम आलेले गरेका थिए । साथमा सचिव यादवप्रसाद कोइराला पनि थिए । तर, रेग्मीले कर्मचारीमाथि हातपात गर्दा उनीहरु थिएनन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved