एमालेको महासचिव बन्न ३ जनाको दौड, को कति बलियो ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 15, 2021 | 11:34:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले १० औँ राष्ट्रिय महाधिवेशनको सम्मुखमा छ । अध्यक्षमा केपी शर्मा ओली दोहोरिने पक्का जस्तै भएपनि अध्यक्ष पछिको दोस्रो कार्यकारी पद महासचिव को बन्ला भन्ने सर्वत्र चासोको विषय बनेको छ । 

मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुने महाधिवेशन आउन अब १० दिन मात्रै बाँकी छ । पार्टी विभाजन भएको हुँदैनथ्यो भने यतिबेला कयौँ नेताले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका हुन्थे । तर, विभाजनको पीडाकै बीचमा महाधिवेशन गर्न लागेको एमालेले अध्यक्षमा ओलीलाई दोहोर्याउने निश्चित छ भने बाँकी १४ पदाधिकारीमा को को अटाउँछन् भन्ने चासोको विषय बनेको छ ।

२ कार्यकाल महासचिव भइसकेका ईश्वर पोखरेल पार्टीको विधानका कारण महासचिवबाट अनिवार्य रुपमा बाहिरिँदैछन् । त्यसैले ओलीले अब महासचिवमा कसलाई ल्याउलान् भन्ने धेरैको चासो छ । लामो समयसम्म महासचिव नै पार्टी प्रमुख हुने अभ्यास गरेको हुनाले एमालेमा महासचिव पदको आफ्नै महत्व पनि छ । 

शंकर पोखरलेको सम्भावना कति ?

महासचिव बन्ने दौडमा रहेका अनुहारमा शंकर पोखरेलको अनुहार पनि एक हो । असोज १५ गते एमालेको प्रथम विधान महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन पढ्दा पढ्दै नसकेपछि बाँकी पढ्ने जिम्मा पोखरेललाई दिएका थिए । त्यतिबेला नै ओलीले आफ्नो उत्तराधिकारीमा पोखरेललाई ल्याउन लागेको भन्दै लख काटिएको थियो ।

२०७४ सालको आम निर्वाचनमा शंकर पोखरेल प्रदेश सभामा उम्मेद्वार बने । चाहना विपरित उनी प्रदेशमै खुम्चिन पुगे । यद्यपी, उनलाई मुख्यमन्त्री बनाउने बाचासहित प्रदेशमा लगिएको थियो । माओवादी केन्द्रसँगको गठबन्धन पनि भएकाले सहजै निर्वाचन जितेका उनी मुख्यमन्त्री पनि बने । 

पार्टीको नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजित भएपनि पोखरेल पार्टी राजनीतिमा भने केन्द्रमै रहँदै आएका थिए । त्यतिबेला २ जनाको लागि भएको निर्वाचनमा घनश्याम भुसाल र विष्णु पौडेल विजयी हुँदा पोखरेल तेस्रो हुँदै पराजित बन्न पुगेको थियो ।

एकातिर पार्टीको महाधिवेशनमा पराजित र अर्कोतिर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेपछि शंकर पोखरेल केन्द्रीय राजनीतिबाट ओझेलमा परे भन्ने कोणबाट आँकलन पनि भयो । तर, उनी प्रदेशमा खुम्चिएनन् ।

नेकपा कालमा प्रचण्ड र ओलीको विवाद मिलाउन होस् वा एमाले ब्यूतिएपछि ओली–नेपाल मिलाउने प्रयासमा होस्, उनको दौडधूप बढी नै रह्यो । उनले आफ्नो सक्रियता सधैँ पार्टीको केन्द्रमा नै देखाए ।

यति मात्रै नभई शंकर पोखरेलले बोलेका केही कुराहरुले उनको दूरदर्शितालाई पनि पुष्टि गरेको छ । जस्तो की, उनले अनेरास्ववियुको अध्यक्ष हुँदा नै जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको कार्यक्रममा मात्रै सिमित नराखेर सिद्धान्त बनाउनुपर्छ भनेका थिए । छैठौँ महाधिवेशनले जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा पारित गर्यो । सातौं महाधिवेशनमा उनले पार्टी संविधानसभामा जानुपर्ने विचार राखे । अन्ततः एमालेले संविधानसभा स्वीकार गर्यो । शंकर पोखरेलको दूरदर्शितालाई प्रमाणित गरेका अरु पनि उदाहरण छन् ।

पोखरेल एमालेको स्कुल विभागको उपप्रमुखसमेत बने । उनको प्रशिक्षण सधैँ जबज केन्द्रित हुने भएकाले पनि पार्टीका कार्यकर्ताले उनको प्रशिक्षण रुचाउने गरेको विश्लेषकहरु बताउँछन् । जबज प्रति प्रतिवद्ध नेता भएकाले एमालेको आन्तरिक राजनीतिमा निर्णायक हस्तक्षेप गर्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शंकरलाई नै सहयोग गर्ने निश्चित छ । यस्तो अवस्थामा पोखरेल एमालेको महासचिव बन्न सक्ने सम्भावना प्रवल छ ।

‘पास’ भईसकेका विष्णु पौडेलले फेरी परीक्षा देलान् ?

विष्णु पौडेल नेकपा कालमा महासचिव चलाईसकेका नेता हुन् । एमाले र माओवादीबीच एकता भएपछि २ अध्यक्ष रहने त सहमति भयो नै । तर, पुष्पकमल दाहाल प्रचण्डले महासचिवमा नयाँ अनुहार खोजी गर्नुपर्ने अडान राखे । एमालेका महासचिव इश्वर पोखरेललाई नै महासचिवको जिम्मेवारी दिन प्रचण्ड तयार भएनन् । इश्वर पोखरेल एमालेको निर्वाचित महासचिव थिए । तर, प्रचण्डले नरुचाएका पोखरेलको ठाउँमा एमालेको नवौँ महाधिवेशनमा उपमहासचिव जितेका पौडेलले महासचिवमा बाजी मारे ।

विष्णु पौडेल आठौं महाधिवेशनअघि माधव नेपाल पक्षमा थिए । आठौं महाधिवेशनपछि ओली खेमामा लागेका उनी नवौँमा आईपुग्दा ओलीकै टिमबाट उपमहासचिव बने ।

नेकपा एक हुँदा महासचिवको हैसियतमा उनी सचिवालय सदस्य भए । उनले नेकपा कालमा महासचिवको भूमीकालाई कुशलतापूर्वक निर्वाह गरे । आन्तरिक विवादका समयमा ओली र प्रचण्डसँग बराबरी जस्तै छलफल गर्ने उनलाई माओवादीले पनि मन पराए । 

नेकपा हुँदाको एउटा कार्यक्रममा प्रचण्डले पौडेल र आफू ‘हलगोरु’ नै भएको बताए । यसले पनि पौडेललाई पार्टी महासचिवको रुपमा स्थापित गरिदियो । महासचिव भनेको पार्टीको काममा अत्यन्त खट्नुपर्ने पद हो । नेकपा हुँदा खटेर पौडेलले आफू प्राप्त पदीय जिम्मेवारी पूरा गर्न सक्छु भन्ने प्रमाणित गरिसकेका छन् ।

नेपालकै ठूलो, २ तिहाई जनमतसहित सत्ता सञ्चालनमा रहेको कम्युनिष्ट पार्टीको महासचिव बनेर उत्तीर्ण भएका विष्णु पौडेल एमाले महासचिवको प्रवल दाबेदार हुन् । 

तेस्रो प्रयासमा सुरेन्द्र पाण्डे

माधब कुमार नेपाल निकटका सुरेन्द्र पाण्डे पार्टी विभाजनको विपक्षमा उभिँदै आए । विभाजन नै भएपछि उनी नेता नेपालसँग नगई एमालेमै बसे । 

पाण्डे एमालेको महासचिवका लागि तेस्रो पटक प्रयास गर्दैछन् । नवौँ महाधिवेशनमा बहालवाला महासचिव ईश्वर पोखरेलसँग जम्मा ६ मतले पराजित भएका पाण्डे नेकपा कालमा प्राचण्ड–नेपाल समूहको महासचिव झण्डैले घोषणा भएका थिए । पछि एमाले २ समूहमा बाँडिएको समयमा नेपाल–खनाल पक्षबाट उनले महासचिवकै हैसियतमा भूमीका निर्वाह गरे । महासचिवकै हैसियतमा उनले केही कार्यक्रम पनि चलाए ।

यसरी झण्डै २ पटक महासचिव बनेका पाण्डे अहिले ओलीलाई रिझाएर महासचिव बन्ने लाइनमा छन् । उनले अध्यक्षमा ओली सर्वसम्मत हुनुपर्ने धारणा राख्दै आएका छन् । ओलीलाई चिढ्याएर नभई साथमै लागे मात्रै भूमीका पाईन्छ भन्ने उनले राम्रोसँग बुझेको देखिन्छ ।

हुन त, एमाले विभाजनको संघारमै पुगेको समयमा पनि उनले फुटलाई रोक्न अन्तिमसम्म प्रयास गरेकै हुन् । नेपाल–खनाल पक्षका कार्यक्रममा उनी अन्तिम समयमा निष्क्रिय जस्तै बने । 

यति मात्रै नभई, काँग्रेससँग मिलेर माओवादी र एमालेको तत्कालिन माधब नेपाल पक्षले शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा उनी भेलामा सहभागी भएनन् । बैशाख २७ गते ओलीले संसदमा विश्वासको मत लिने कार्यक्रममा उनी पक्षमा मत दिनुपर्छ भन्ने लाइनमा थिए । तर, माधब नेपाल नमानेपछि उनी अनुपस्थित भए । 

यसरी आन्तरिक संघर्ष भएपनि पार्टी विभाजन रोक्नुपर्छ भन्ने लाइनमा पहिल्यैदेखि सक्रिय भएकाले उनलाई महासचिव बनाउँदा न्याय नै हुने एमाले वृत्तमा चर्चा छ । उनले पनि महासचिव भन्दा तल आफ्नो ‘पोजिशन’ नहुने बताईसकेका छन् । 

पाण्डेकै गृह जिल्लामा १० औँ महाधिवेशन गर्न लागेको एमालेले मूल व्यवस्थापन समितिको सहसंयोजकको जिम्मेवारी पनि उनैलाई दिएको छ । यसले पनि पाण्डे ओलीको छत्रछायाँमार्फत महासचिव बन्न सक्ने अनुमान हुन थालेको छ ।

यदि, पाण्डे महासचिव बनाईए भने विभाजन अस्वीकार गर्ने नेताहरुलाई एमालेभित्र विभेद छैन भन्ने दाबी ओलीले गर्न पाउनेछन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved