नाडामा कर्पोरेट हाउसको सिण्डिकेटः ८ वर्षपछिको अध्यक्ष अहिल्यै ‘फिक्स’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2021 | 01:59:13 PM मा प्रकाशित

laxmi  sunrise bank

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा आटोमोबाइल्स एसोसियसन अफ नेपालमा अहिले चुनावी गर्मी बढेको छ । मंसिर २२ र २३ गते ४५ औँ साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि चुनाव हुँदैछ । 

चुनावी मैदानमा आफूलाई ‘कर्पोरेट हाउस’ को प्रतिनिधि भन्न रुचाउने करण चौधरीलाई साना मझौला अटो व्यवसायीका प्रतिनिधि ध्रुब थापाले चुनौती दिँदैछन् । यद्यपी, अध्यक्ष कृष्णप्रसाद दुलाल र महासचिव सुनिल रिजालले सहमतिको सम्भावना कायमै रहेको बताउँदै आएका छन् ।

करणसँग गुनासै गुनासा

अध्यक्षका प्रत्याशी चौधरी हालको पदाधिकारी टिमको बुहमत समर्थनमा छन् । उनी मिडियासँग मात्रै होइन, नाडाका सदस्य रहेका अटो व्यवसायीसँग पनि भेट गर्न चाहदैनन् । 

‘भन्सार विभाग, अर्थ मन्त्रालय, यातायात मन्त्रालयसँग सिँधै ठोक्किने अटो व्यवसायीको नेतृत्व गर्छु भनेर हिड्नु भएको छ, तर मेरै फोन उठाउनु हुन्न’ एक जना मोफसलका व्यवसायी भन्छन्, ‘अहिले त फोन उठाउनु हुन्न, असिस्टेन्ट छ उहाँको । झन, चुनाव जित्नुभयो भने त के आश गर्नु ?’

व्यवसायीहरुले आफ्नो संस्थाको नेतृत्व सधैँ ‘उपलब्ध होस्’ र कम्तीमा फोन उठाएर आफ्ना गुनासा सुनिदिने होस् भन्ने चाहने तर, नाडामा ठूला व्यवसायीको हालीमुहाली रहेकाले स्पेयर पार्टस्, टायर, लुब्रिकेन्टस् व्यवसायीको समस्या कहिल्यै सम्बोधन हुन नसकेको ती व्यवसायी बताउँछन् ।

‘उहाँहरु त ठूला व्यवसायी भईहाल्नु भयो नि, उहाँहरुले चाहे संस्था नै नभई पनि एक्लै मन्त्री, हाकिमलाई भेट्न सक्नुहुन्छ’ उनी भन्छन्, ‘समस्या त हामीलाई छ व्यवसाय गर्न, हामीले जति भनेपनि हाम्रै नेतृत्वले सुन्दैन, जो आएपनि केही न केही ।’

कर्पोरेट सिण्डिकेट

नाडामा अध्यक्षका प्रत्याशी ध्रुब थापाले ‘कर्पोरेट हाउसको सिण्डिकेट’ तोड्न आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताउँदै आएका छन् । तर, बिजपाटीले कस्तो सिण्डिकेट भन्ने जिज्ञासा राख्दा उनले खुलेर कुरा गर्न चाहेनन् ।

तर, बिजपाटीले निरन्तरको ‘फलोअप’ पश्चात त्यो थापाले संकेत गरेको सिण्डिकेट के हो भन्ने पत्ता लगाएको छ । नाडामा हाल अध्यक्षका उम्मेदवार रहेका चौधरीलाई ४५ औँ साधारणसभाबाट अध्यक्ष बनाउने ‘प्लान’ ४४ औँ साधारणसभाबाटै बुनिएको थियो । 

त्यतिबेला अध्यक्षमा कृष्णप्रसाद दुलाल र प्रकाश कपुरी प्रमुख दाबेदार थिए । तर, सर्वसम्मत रुपमा दुलाल अध्यक्ष चुनिए । हाल, दुलाल र कपुरी दुबै चौधरीको पक्षमा छन् । त्यतिबेला नै अर्को कार्यकालका लागि चौधरीलाई अध्यक्ष बनाउने ‘गोप्य’ सहमति भएपछि नै दुलाल अध्यक्ष बनेको स्रोतको दाबी छ ।

यस्तै, अब आगामी २ वर्षपछि चौधरीको कार्यकाल सकिएपछि कसलाई अध्यक्ष बनाउने भन्ने अहिले नै यो टिमबीच भित्रि सहमति भईसकेको छ । हालको संस्थापन समूहकै एक सदस्यका अनुसार आगामी कार्यकालका लागि ‘राजनबाबु श्रेष्ठ’लाई अध्यक्ष बनाउने गोप्य सहमति छ ।

त्यसको २ वर्षपछि ‘सुरेन्द्रकुमार उप्रेती’ वा ‘सुनिल रिजाल’ मध्ये एकलाई अध्यक्ष बनाउने सहमति भईसकेको छ । तर, स्रोतले भने उप्रेतीलाई ६ वर्षपछि र रिजाललाई ८ वर्षपछि अध्यक्ष बनाउने ‘कर्पोरेट डिल’ भईसकेको दाबी गरेको छ ।

रिजाल हाल महासचिव छन् । उनी करण चौधरी प्यानलबाट उपाध्यक्ष बन्ने लाइनमा छन् । आगामी कार्यकालका लागि अध्यक्ष बनाउने भनिएका राजनबाबु श्रेष्ठ पनि उपाध्यक्षकै उम्मेदवार हुन् । सुरेन्द्र उप्रेतीलाई महासचिव बनाउने तयारी छ ।

त्यसपछि मात्रै हाल सचिव रहेका अनुप बराल लगायतको पुस्तालाई अध्यक्षमा पालो दिने तयारी छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved