जनार्दनको उपहारः ५.३२ प्रतिशतको महँगी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2021 | 02:03:20 PM मा प्रकाशित

laxmi  sunrise bank

मुलुकको अर्थतन्त्र नकारात्मक अवस्थामा पुग्ने खतरा बढ्दो छ । केन्द्रीय बैंकको पछिल्लो रिपोर्ट हेर्ने हो भने पनि अर्थतन्त्र धराशायी एवम् कठिन अवस्थाबाट गुज्रिरहेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/०७९ को प्रथम चौमासिक आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले अर्थतन्त्रका सबैजसो सूचक नकारात्मक देखाएको छ । 

यद्यपी, अर्थमन्त्री जनार्दन शर्मा भने ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने दाबी गरिरहेका छन् । उनको यो दाबीलाई आर्थिक क्षेत्रका जानकार तथा अर्थतन्त्रका विज्ञहरुले ‘उडन्ते’ दाबी भन्ने गरेका छन् ।

सबै सूचक ‘माइनस’मा

रेमिट्यान्स घट्दो, चालु खाता घाटामा, बढ्दो भुक्तानी असन्तुलन, मुद्रास्फीति करिब करिब नियन्त्रणबाहिर र बढ्दो राष्ट्रिय ऋणले मुलुकको अर्थतन्त्र निकै दयनीय देखाएको छ । चालु खाता घाटा बढेर २ खर्ब २३ अर्ब नाघेको छ । शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोडले ऋणात्मक छ । विदेशी बस्तुको आयात ६१ प्रतिशतले बढ्दा रेमिट्यान्स ७.५ प्रतिशतले घटेको छ । 

चालु आर्थिक वर्षको ४ महिनामा ८२ अर्ब १२ करोडको वस्तु निर्यात हुँदा ६ खर्ब ५० अर्ब २९ करोडको बस्तु तथा सेवा आयात भएको छ ।

मुलुक भित्र पनि लगानीयोग्य रकम नहुँदा बैंकहरुमा तरलता अभाव छ । विकास बजेट गर्न हुन नसक्दा भएको पैसा सबै सरकारी खातामा थुप्रिएको छ । 

यसअघिः
अर्थतन्त्र ‘कोल्याप्स’ हुने खतरामा, ५ महिनामै ‘हावादारी’ कहलिए अर्थमन्त्री

५.३२ प्रतिशतको महँगी

चालु आर्थिक वर्षको हालसम्मको अवधिमा महँगी पनि अत्याधिक बढेको छ । कार्तिक महिनाको बजार महँगी ५.३२ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बजार महँगी गत वर्षको यो अवधिमा ४.०५ प्रतिशतमा सिमित थियो ।

साउनदेखि हालसम्म आउँदा खाद्य तथा पेय पदार्थ तर्फको मुद्रास्फीति ४.७९ प्रतिशत र गैरखाद्य तथा सेवा तर्फको मुद्रास्फीति ५.७३ प्रतिशत छ । 

घिउ तथा तेलको मूल्यवृद्धि २९.११ प्रतिशत, यातायातको १२.३६ प्रतिशत, माछा तथा मासुको १०.९१ प्रतिशत, मदिराबाहेकको पेय पदार्थको १०.७० प्रतिशत, सूर्तीजन्य पदार्थको १०.३० प्रतिशत र दल तथा गेडागुडीको १०.२४ प्रतिशत मूल्यवृद्धि रहेको राष्ट्र बैंकको रिपोर्टले देखाएको छ । 

कुन ठाउँमा कति महँगी

क्षेत्रगत आधारमा हेर्दा सबैभन्दा धेरै महँगी पहाडमा बढेको छ । पहाडमा गत वर्षको समिक्षा अवधिको तुलनामा यसवर्ष ७.१४ प्रतिशतले महँगी बढेको छ । 

त्यसपछि काठमाडौँ उपत्यकामा ६.१४ प्रतिशत, हिमाली क्षेत्रमा ५ प्रतिशत र तराईमा ३.९५ प्रतिशतले महँगी बढेको छ । 

पौष मसान्त (अर्ध वार्षिक समिक्षा) सम्म पुग्दा मूल्य वृद्धि अझै बढ्ने अनुमान हुन थालेको छ । उद्योग, व्यवसाय तथा कम्पनीहरुले सरकारलाई बुझाउनुपर्ने झण्डै ८० अर्ब रुपैयाँ यही समयमा बुझाउने र त्यो रकम पनि गएर सरकारी खातामै थुप्रिने भएकाले बजारमा अझ पैसाको अभाव हुने र फलस्वरुप महँगी बढ्ने विज्ञहरु बताउँछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved