कसले तिरिदिन्छ धुर्मुस–सुन्तलीलाई रंगाशाला बनाउँदा लागेको १७ करोड ऋण ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 21, 2021 | 11:00:13 AM मा प्रकाशित

laxmi  sunrise bank

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगाशाला निर्माणको कामबाट कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सोमबारबाट औपचारिक रुपमा हात झिके । उनीहरुले चलाएको धुर्मुस–सुन्तली फाउण्डेशनले २०७५ साल माघ १६ गते रंगाशाला निर्माणको घोषणा गरेका थिए । 

चन्दा उठाएर ३ अर्बको ‘प्रोजेक्ट’ बनाउने महत्वकांक्षाले अन्ततः धुर्मुस र सुन्तली डुबे । आर्थिक रुपमा आफूहरु ऋणमा डुबेको बताईरहेका उनीहरुले अहिले आलोचना पनि खेप्नुपरेको छ । एकातिर १७ करोड ऋणको बोझ र अर्कोतिर सामाजिक टिकाटिप्प्णी तथा आलोचनाले धुर्मुस र सुन्तलीलाई सकस पारेको छ ।

ऋण तिर्न सरकार तयार !

रंगाशालाको दायित्व कति बाँकी हो भन्ने हरहिसाब यकिन भएपछि बाँकी काम सरकारले नै अघि बढाउने भएको छ । हालसम्म लागेको ऋण कति हो भनेर जाँचबुझ र मूल्यांकन गरेर सरकारले नै तिरिदिने भएको हो । 

धुर्मुस–सुन्तली फाउण्डेसनको आग्रह पनि यही थियो । उनीहरुको आग्रह बमोजिम नै सरकारले स्वामित्व ग्रहण गर्न लागेको हो । 

कसरी तिर्छ सरकारले ?

फाउण्डेसन र भरतपुर महानगरबीच छलफल हुने र उक्त छलफलबाट प्राप्त सुझावअनुसार निर्णय हुने युवा तथा खेलकुद मन्त्रालय बताउँछ ।

भरतपुर महानगरकी मेयर रेणु दाहालका अनुसार फाउण्डेशनबाट महानगरलाई प्राप्त विवरणहरूको जाँचबुझ हुनेछ । जाँभबुझपछि रंगशालाको बाँकी काम र ऋणबारे महानगरले आवश्यक निर्णय गरेर खेलकुद मन्त्रालयमा प्रस्ताव पठाउने उनको भनाई छ । महानगरले पठाएको प्रस्ताव खेलकुद मन्त्रालयले मन्त्रिपरिषदमा पठाउने छ । 

हालसम्म भएको खर्च एवम् आर्थिक पाटो र त्यसको प्राविधिक अध्ययन गरिनेछ । फाउण्डेसनले बुझाएका कागजात महानगरकको सघन शहरी तथा भवन निर्माण आयोजनामा छन् । ती कागजातको अध्ययन नेपाल चार्टर एकाउन्टेन्ट संस्थाले गर्नेछ भने अध्ययनका आधारमा महानगरले निर्णय गर्छ ।

त्यसपछि मात्रै कति ऋण बाँकी भन्ने यकिन हुने र अनि मात्रै सरकारले तिर्नेछ ।

धुर्मुसका फरक फरक कुरा

भरतपुर महानगरपालिका धुर्मुस र सुन्तलीका फरक फरक धारणाले आजित बनेको छ । त्यही भएर पनि बजेटका लागि महानगरले खासै पहल नगरेको स्रोत बताउँछ । आफ्नै क्षेत्रमा अन्तराष्ट्रिय क्रिकेट रंगाशाला बन्नु गौरवको विषय भएपनि धुर्मुसलाई झट्ट विश्वास गर्ने ‘मुड’मा मेयर तथा अरु जनप्रतिनिधि नदेखिएको स्रोतको दाबी छ ।

महानगरले विश्वास नगर्नुमा धुर्मुसकै बोली रहेको स्रोतले दाबी गरेको छ । ऋण लागेपछि काम रोकेका धुर्मुस सुन्तलीले साउन भदौ तिर युट्युबमा अन्तर्वार्ता दिँदै १५ करोड ऋण लागेको बताएका थिए । त्यतिबेला महानगरलाई पनि उनले १५ करोड ४५ लाख ऋण लागेको भन्दै सम्झौता अनुसार स्वामित्व लिन अनुरोध गरेका थिए । 

यो पनिः
तीव्र महत्वकांक्षाले डुबेका ‘धुर्मुस–सुन्तली’ अब के गर्लान् ?

तर, अहिले ऋण १७ करोड पुग्यो भनिरहेका छन् । महानगरका अधिकारी भने भदौदेखि कुनैपनि काम नभएको अवस्थामा एकाएक २ करोड ऋण कसरी बढ्यो भन्ने अन्यौलमा छन् । त्यसैले उनीहरुले बुझाएको विवरणमा सहमत हुन नसकेर महानगरले नेपाल चार्टर एकाउन्टेन्ट संस्थाबाट थप अध्ययन गर्न लागेको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनका अनुसार रंगशाला निर्माणको काम ३५ प्रतिशत सकिएको छ । हालसम्म करिब ५५ करोड खर्च भएको छ । 

के भन्छन् खेलकुद मन्त्री ?

यो परियोजना केन्द्र सरकार वा भरतपुर महानगर कसले अघि बढाउने भन्ने निर्णय भईसकेको छैन । तर, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँगको भेटमा धुर्मुसले १७ करोड ऋण तिरिदिन र अहिलेसम्म सहयोग गरेका दाताहरुको नाम शिलालेखमा लेखिदिन अनुरोध गरेका थिए ।

स्वामित्वका विषयमा भने महानगर र फाउण्डेशनबीच भएको सम्झौता मुख्य विषय हुने मन्त्री गहतराज बताउँछन् । सम्झौतामा विशेष परिस्थिती आएको खण्डमा फाउण्डेसनले निर्माणकै क्रममा रंगशालाको स्वामित्व महानगरपालिकालाई हस्तान्तरण गर्न सक्ने उल्लेख छ । त्यही भएर महानगर र फाउण्डेशन दुबैले संयुक्त रुपमा अनुरोध गरेको पत्र आए केन्द्र सरकार स्वामित्व लिएर बाँकी काम अघि बढाउन तयार रहेको मन्त्री गहतराजको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved