कान्तिपथको ‘काठमाडौँ बाराही होटल’ अप्रिलबाट सञ्चालनमा, कम्प्लेक्सको बुकिङ धमाधम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2021 | 01:07:45 PM मा प्रकाशित

laxmi  sunrise bank

बाराही समूहले काठमाडौँमा बनाएको चार तारे ‘काठमाडौँ बाराही होटल’ अप्रिलबाट सञ्चालनमा आउने भएको छ । पोखराबाट ४० वर्ष अघि हस्पिटालिटी विजनेशमा उदाएको बाराही समूहले कान्तिपथमा बनाईरहेको होटलको बाहिरी संरचना निर्माणको काम सकिएको छ । इन्टेरियरको काम सकेर अप्रिलबाट होटल सञ्चालनमा ल्याउने समूहले जनाएको छ ।

बाराही समूहका प्रमुख विप्लव पौडेलका अनुसार सपिङ कम्प्लेक्सको निर्माण भने सकिएको छ । ‘बाराही प्लाजा’ नाम दिईएको सपिङ कम्प्लेक्स जनवरी १ बाट सञ्चालनमा आउने छ । 

नेपाल भ्रमण वर्षलाई लक्षित गरि निर्माण सुरु भएको यो परियोजना कोरोनाका कारण केही ढिला गरी निर्माण सम्पन्नको चरणमा पुगेको हो । 

लागत कति ?

बाराही समूहले यो परियोजना निर्माणको सुरुवाती डिजाइन गर्दा ९० करोडको लागत अनुमान गरिएको थियो । तर, अहिले लागत बढेर १ अर्ब ३० करोड पुग्ने देखिएको छ । 

सपिङ कम्प्लेक्स सहितको होटल पूर्ण रुपमा सञ्चालनमा आउँदा सुरुवातमा अनुमान गरिएको ९० करोडमा ४० करोड रुपैयाँ लागत थप हुने समूहको भनाई छ ।

सपिङ कम्प्लेक्सको भने बुकिङ सुरु भईसकेको छ । भाडामा लिन चाहनेले आफूलाई आवश्यक पर्ने बराबरको क्षेत्रफल नापेर लिन सक्ने व्यवस्था मिलाईएको छ ।

के के छन् विशेषता ?

अहिले नयाँ बन्ने होटलमा विशेषतः सपिङ कम्प्लेक्स पनि साथमै रहने गरी डिजाईन गरिएको पाइन्छ । काठमाडौँ बाराही होटलमा पनि यस्तो विशेषता छ ।

विशाल भवनको चौथो तलादेखि माथिका आठवटा तलासम्म होटल सञ्चालन हुनेछ । होटलमा जम्मा ८० वटा कोठा रहने छन् । यी मध्ये ८ वटा ‘स्वीट्स रुम’ र बाँकी ७२ वटा ‘डिलक्स रुम’ हुनेछन् ।

आठौ तलामा स्वीमिङ पुल रहनेछ । कफीशप, रेष्टुरेण्ट र बार पनि रहने छन् ।

७० वटा ४ पांग्रे सवारी एकैपटक पार्किङ गर्न सकिने ‘हाइड्रोलिक पार्किङ’को व्यवस्था गरिने छ । 

आफ्नै व्यवस्थापन

अहिले काठमाडौँमा खुलेका ठूला होटलको व्यवस्थापनमा अन्तराष्ट्रिय चेन ब्राण्डलाई भित्र्याईएको छ । तर, काठमाडौँ बाराहीको सम्पूर्ण व्यवस्थापन बाराही समूह आफैँले गर्नेछ ।

बाराही समूहले आफ्नै व्यवस्थापनलाई अन्तराष्ट्रिय स्तरमा विकास गर्दै आफ्नै चेन निर्माण गर्ने लक्ष्य पनि लिएको छ । यो समूहले यसअघि पोखरा र चितवनमा सञ्चालनमा ल्याएको होटल तथा रिसोर्टमा पनि आफ्नै व्यवस्थापनमार्फत काम गर्दै आएको छ ।

होटलमा १२५ जनाले रोजगारी पाउने छन् ।

बाराही समूहले पोखरामा ‘होटल बाराही’, पोखराकै सराङकोटमा ‘सराङकोट माउन्टेन रिसोर्ट एण्ड स्पा’ र चितवन राष्ट्रिय निकुञ्जमा ‘बाराही जंगल लज’ चलाउँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved