अर्थतन्त्र हालसम्मकै ‘ऋणात्मक’, ५ वर्षकै उच्च विन्दुमा पुग्यो मूल्यवृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 09:50:23 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्म) को तथ्यांक हेर्दा अर्थतन्त्र अत्यन्त कमजोर अवस्थामा पुगेको छ । राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको वर्तमान अर्थतन्त्रको अवस्था सम्बन्धि अध्ययन प्रतिवेदनले मुलुकको अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा रहेको देखाएको छ ।

देशमा भित्रिने र देशबाट बाहिरिने विदेशी मुद्राको अवस्था दर्साउने शोधनान्तर स्थिती हालसम्मकै उच्च घाटामा छ । विदेशी मुद्रा सञ्चितिमा १ खर्ब ८५ अर्बले कमी आएको छ । मूल्यवृद्धि ५ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।

सबै सूचक घाटामा पुगेको पहिलो पटक

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मंसिरसम्म आईपुग्दा शोधनान्तर घाटा १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ  । शोधनान्तर घाटामा हुँदा वैदेशिक लगानीमा भारी गिरावट आउने र यसको नकारात्मक प्रभाव उत्पादनमा पर्ने भएकाले परनिर्भरता बढाउने अर्थतन्त्रका जानकारहरु बताउँछन् ।

गत असारमा शोधनान्तर स्थिति १ अर्ब २५ करोड रुपैयाँ बचतमा थियो । तर, नयाँ आर्थिक वर्ष (आर्थिक वर्ष २०७८÷०७९) सुरु भएपछि हरेक महिना शोधनान्तर स्थिति घाटामा छ । 

अर्थतन्त्रका सबै सूचक एकै पटक ऋणात्मक भएको यो नै इतिहासकै पहिलो पटक हो । अहिलेको मूल दायित्व भनेकै शोधनान्तर स्थिति सन्तुलनमा ल्याउनु र वित्तीय प्रणालीमा देखिएको तरलताको समस्या समाधान गर्नु भएको अर्थशास्त्रीहरु बताउँछन् ।

आर्थिक स्थायित्वका परिसूचक दबाबमै छन्ः राष्ट्र बैंक

राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले नै आर्थिक स्थायित्वका परिसूचकहरु दबाबमा रहेको देखाएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पनि अहिले अर्थतन्त्रमा देखिएको दबाब कम गर्न आयात कम गर्नुपर्ने बताएका छन् ।

‘आर्थिक स्थायित्व कायम गर्दै आर्थिक गतिविधिहरुलाई निरन्तरता दिनुपर्ने अहिलेको चुनौती हो,’ डा. भट्टले भने, ‘अहिलेको अवस्थामा अत्यावश्यक बाहेकका वस्तुको आयात कम गर्दै लैजानुपर्छ ।’ 

महँगी ५ वर्षयताकै उच्च

वार्षिक उपभोक्ता मूल्यवृद्धि ७.११ प्रतिशत पुगेको छ । यो ५ वर्षयताकै उच्च हो ।

आर्थिक वर्ष २०७३/०७४ को भदौमा मूल्यवृद्धि ७.९० प्रतिशत पुगेको थियो । तर, चालु आर्थिक वर्षमा मूल्यवृद्धि ६.५ प्रतिशतभित्रै सिमित राख्ने दाबी राष्ट्र बैंकले गरेको भएपनि मंसिरसम्म आईपुग्दै ०.६१ प्रतिशतले लक्ष्य नाघेको छ । 

रेमिट्यान्स निरन्तर ओरालो

रेमिट्यान्स (विप्रेषण आप्रवाह)मा निरन्तर कमी आईरहेको छ । चालु आर्थिक वर्षको ५ महिना (साउनदेखि मंसिरसम्म) मा रेमिट्यान्समार्फत ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ मुलुकमा भित्रिएको छ  । 

गत आर्थिक वर्षको यो अवधिको तुलनामा रेमिट्यान्स ६.८ प्रतिशतले घटेको हो । गत वर्षको यो अवधिमा रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढेको थियो  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved