हिमालयन बैंकको वार्षिक साधारणसभाले नेपाल इन्भेष्टमेन्ट बैकसँगको मर्जर प्रस्ताव अस्विकार गरेपछि यी दुई बैंकबीचको मर्जर प्रकृयामा पूर्ण विराम लागेको छ। थपिएको समयमा पनि मर्जर सम्पन्न गर्न नसकेपछि अब दुवै बैंकलाई नेपाल राष्ट्र बैंकले नियामकीय कारवाही गर्ने भएको छ।
यद्यपि कारवाही प्रकृया अगाडी बढाउँनका लागि दुवै बैंकका मर्जर कमिटिले नेपाल राष्ट्र बैंकलाई डीमर्जको औपचारिक जानकारी गराउनुपर्ने हुन्छ। त्यसपछि तोकिएको समयभित्र मर्जर गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकले मर्जर विनियमावलीअनुसार दुवै बैंकलाई कारबाही प्रकृया अगाडी बढाउनेछ।
राष्ट्र बैंकले दुवै बैंकको स्वीकृत भईसकेको लाभांश रोक्ने, शाखा कार्यलय विस्तार गर्न नदिने, पुनर्कर्जा एसएलएफ जस्ता नियमकीय सुविधाबाट बन्चित गराउने, सेयरको दोस्रो बजारमा दुवै बैंकको सेयर कारोबार हुन नदिने जस्ता कारबाही गर्न सक्नेछ।
त्यसैले पनि राष्ट्र बैंकको कारबाहीबाट बच्नको लागि राष्ट्र बैंकलाई जानकारी गराएको तीन महिनाभित्र हिमालयन र इन्भेष्टमेन्ट बैंकले अर्को बैंक मर्जर तथा प्राप्ति गर्नुपर्ने हुन्छ।
फिर्न सक्छ सिभिल र सेन्चुरी सहित यी बैंकका दिन
कारवाहीबाट बच्नु पर्ने भएकाले हिमालयन र इन्भेष्टमेन्ट बैंक अर्को कुनै बैंक मर्जर तथा प्राप्ति गर्नुपर्ने दबाबमा हुनेछन्। यस्तो अवस्थामा हिजो हिमालयन र इन्भेष्टमेन्ट बैंकले कुरा अगाडी बढाएर बीचमै थाँती राखेका बैंकहरुले समेत अडान लिन सक्नेछन्।
बिजपाटीलाई प्राप्त जानकारीअनुसार हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जरमा जाने सम्झौता हुन अगाडी हिमालयनले सिभिल बैंकलाई र नेपाल इन्भेष्टमेन्ट बैंकले सेन्चुरीलाई प्राप्ति गर्ने प्रकृया धेरै अगाडी बढिसकेको थियो।
हिमालयन बैंकमा हबिब बैंकपछिको दोस्रो ठुलो सेयरधनी रहेको कर्मचारी संचय कोषको लगानी सिभिल बैंकमा पनि भएको र सिभिल बैंकमा धेरै सेयर हिस्सा ओगटेको अर्को कुनै पार्टी नभएकाले पनि हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रकृया धेरै अगाडी पुर्याएको थियो।
यता नेपाल इन्भेष्टमेन्ट बैंकले पनि हिमालयनसँग मर्जर सम्झौता गर्नु अगाडी सेन्चुरी कमर्शियल बैंकलाई प्राप्ति गर्ने विषय धेरै अगाडी बढाएको थियो। नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डे र सेन्चुरी कमर्शियल बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठबीचको सम्बन्ध निकै सुमधुर रहेको र सेन्चुरीमा पनि सिभिल बैंकमा झैं कुनै ठुलो पार्टीले सेयर हिस्सा नओगटेकाले सेन्चुरीलाई प्राप्ति गर्ने प्रकृया धरै अगाडी बढेको थियो।
सिभिल र सेन्चुरी बलियो अवस्थामा
तर हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैकबीच मर्जर सम्झौता भएपछिका यी १० महिनामा परिस्थितिसंगै बैंकहरुको व्यवसाय तथा कारोबारमा पनि धेरै परिवर्तन देखिएको छ। मर्जर प्रकृयामा रहेको तथा अन्य कारणले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैकको व्यवसाय विस्तार आक्रामक हुन नसकेको अवस्थामा सिभिल र सेन्चुरी बैंकले लोभलाग्दो व्यवसाय गरिरहेका छन्।
विगतको तुलनामा राम्रो स्वाप नपाएसम्म मर्जर तथा प्राप्तिमा नजाने अडान लिन सक्ने अवस्थामा यी दुवै बैंक रहेका छन्। त्यसैले पनि यदि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक आफुहरु राष्ट्र बैंकको कारबाहीबाट बच्न बिगतको तुलनामा केहि लचक हुने भएकाले सिभिल र सेन्चुरी सहित समानान्तर अवस्थामा रहेका अन्य बैंकका सेयरधनीको दिन फिर्न सक्छ।
हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैक मात्रै छैनन् विकल्प
त्यसो त सिभिल र सेन्चुरी बैंकले अरु बैंकहरुसंगको मर्जर तथा प्राप्तिको छलफललाई निरन्तरता नै दिइरहेका छन्। सेन्चुरी बैंकले माछापुच्छ्रे, प्रभु, लक्ष्मी लगायतका बैंकसँग पनि मर्जर तथा प्राप्तिको लागि छलफल अगाडी बढाईरहेको छ।
जुन बैंकबाट बढी स्वाप र अन्य सुविधा मिल्छ त्यहिसँग मर्जर तथा प्राप्तिमा जाने र सँगसंगै आफैं बलियो भएर अगाडी बढ्ने रणनीतिमा आफुहरु रहेको सिभिल र सेन्चुरीका संचालकहरुको भनाई छ।