नगदमा कारोबार हुँदा पनि आयल निगम घाटामा किन ? यस्तो छ यथार्थ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2022 | 12:54:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनबाट तेल खरिद गरेको रकम तिर्न पैसा अभाव भएको जनाएको छ । हरेक १५ दिनमा भारतीय आयल कर्पोरेशनबाट नयाँ मूल्यसूची आउने गर्दछ । तर, निगमले हरेक पटक बढाउँदैन । कहिले राजनीतिक कारण त कहिले दबाब महशुस हुँदा निगम घाटामा पेट्रोलियम पदार्थको व्यापार गरिरहेको बताउँछ ।

कति छ घाटा ?

चालु आर्थिक वर्षको हालसम्मको ६ महिनामा १२ पटक भारतबाट नयाँ मूल्य प्राप्त गरेकोमा अधिकांश पटक मूल्य बढेर आएको थियो । तर ३ पटक मात्रै मूल्य समायोजन गरेकोले निगम घाटामा गई  भारतीय आयल कर्पोरेशनलाई भुक्तानी गर्नको लागि रकम अभावको अवस्था सिर्जना भएको निगम बताउँछ ।

पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय बजार मूल्य अनुरूप निगमको आपूर्तिकर्ता ईण्डियन आयल कर्पोरेशनबाट माघ २ मा प्राप्त नयाँ मूल्य बमोजिम निगमलाई १५ दिनमा करिब २ अर्ब २४ करोड घाटा हुने देखिएको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्म १९ अर्ब २६ करोड घाटा ब्यहोरिसकेको निगमले आगामी १५ दिनमा थप २ अर्ब २४ करोड घाटा हुने जनाईसकेको छ ।

निगमका अनुसार ईण्डियन आयल कर्पोरेशनलाई आगामी २३ जनवरी २०२२ मा गर्नुपर्ने भुक्तानीका लागि २ अर्ब अपुग हुने देखिएको छ ।

नगदमा कारोबार हुँदा पनि आँखिर किन छ घाटा ?

झट्ट हेर्दा नगदमा ल्याएर नगदमै बिक्रि गर्ने चिजबाट कसरी घाटा हुन्छ भन्ने चासो आम सर्वसाधारणको छ । तर लागत भन्दा कम मुल्यमा पेट्रोलियम पदार्थ बिक्रि गर्दै आएकाले नगदमा कारोबार गर्दा पनि निगम घाटामा गएको हो। 

२०७८, माघ २ गते अन्तराष्ट्रिय बजार मुल्य पेट्रोलको प्रति लिटर ७९.४० रुपैयाँ रहेको र त्यसमा राजश्व लगायतका बिभिन्न शिर्षकको खर्च जोड्दा लागत प्रति लिटर १४९ रुपैयाँ १८ पैसा पर्न गएको छ। तर निगमले भने प्रति लिटर १३ रुपैयाँ १८ पैसा घाटा खाएर पेट्रोल प्रति लिटर १३६ रुपैयाँमा नेपाली बजारमा बिक्रि गरिरहेको छ। 

त्यस्तै निगमले डिजलमा प्रति लिटर ८ रुपैयाँ ८१ पैसा घाटा खाएर बिक्रि गरिरहेको छ भने खाना पकाउने ग्याँसमा प्रति सिलिन्डर ६४६ रुपैयाँ १६ पैसा घाटा खाएको छ। 

तर मट्टीतेल र हवाई इन्धनमा भने निगमलाई फाइदा रहेको छ। हाल प्रति लिटर मट्टितेलबाट हुने २०.५० रुपैयाँ नाफा र हवाइ इन्धनबाट हुने १४.७३ रुपैयाँ औसत नाफाको भरमा निगम रहेको निगमका सहप्रवक्ता पुष्कर कार्कीको भनाई छ । यस तथ्यांकले पनि नगदमा पेट्रोलियम पदार्थ कारोबार हुँदाहुँदै पनि निगम कसरी घाटामा गएको छ भने कुरा यस तथ्यांकले देखाउछ। 

भारतीय सिमा बजार रक्सौलको तुलनामा नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य ३८ रुपैयाँ ०३ पैसा सस्तो छ । रक्सौलमा १७२.५३ नेपाली रुपैयाँ रहेको पेट्रोल नेपाल प्रवेश गर्नासाथ १३४.५० रुपैयाँमा पाइन्छ ।

नेपालको वीरगञ्ज क्षेत्रमा ११७.५० रुपैयाँमा उपलब्ध हुँदै आएको डिजेल भारतको रक्सौलमा १४८.६२ नेपाली रुपैयाँ पर्छ । रक्सौल र वीरगञ्जमा डिजेलको मूल्य ३१.१२ रुपैयाँको फरक छ । जसका कारण निगम भारतीय आयल कर्पोरेशनलाई पैसा तिर्नै नसक्ने अवस्थामा पुगेको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved