महानगर र उपत्यका विकास प्राधिकरणको पार्क बनाउने ‘कम्पिटिशन’ कसले जित्ला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2022 | 09:36:45 AM मा प्रकाशित

laxmi  sunrise bank

केही समयअघि काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यका विकास प्राधिकरण खारेज गर्नुपर्ने माग गरे । उपत्यका विकास प्राधिकरणले स्थानीय तहले गर्ने प्रकृतिकै काम गर्ने भएकाले खारेज गर्नुपर्ने माग उपत्यका मेयर फोरमको तर्फबाट मेयर शाक्यले राखेका थिए ।

तर, उपत्यका विकास प्राधिकरण भने स्थानीय तहले गर्ने खालका काम गर्ने कसरतबाट टसमस भएको छैन । काठमाडौँ उपत्यकाको ‘भद्रगोल’ शहरीकरणको अवस्थालाई सुन्दरतामा बदल्न र सौन्दर्य सहितका नयाँ शहरको विकास गर्ने लक्ष्यका साथ स्थापना भएको प्राधिकरण महानगर वा अरु नगरपालिकाले गर्ने खालकै काममा व्यस्त छ ।

पार्क बनाउने होडबाजी

काठमाडौँ महानगरपालिकाले ‘एक वडा, एक कार्यक्रम’ नै चलाएको छ । यहीँ कार्यक्रम अन्तर्गत कार्तिक ९ गते महानगरका मेयर विद्यासुन्दर शाक्यले एकैपटक २ पार्कको शिलान्यास गरे । मेयर शाक्यले ‘बागमती दोभान’ र ‘अमरावती’ गरी २ पार्कको एकै पटक शिलान्यास गरे ।

काठमाडौँ महानगरले साना ठूला गरी काठमाडौँ महानगर क्षेत्रभित्र ५० बढी पार्क निर्माण भईरहेको जानकारी दिए । 

ललितपूर महानगरपालिकाले पनि खुला ठाउँलाई पार्कका रुपमा सुन्दर बनाउने काम गरिरहेको छ । भक्तपूरको मध्यपूर थिमी नगरपालिकाले पनि पार्क निर्माणलाई अभियानकै रुपमा अघि बढाएको छ ।

तर, स्थानीय तहकै शैलीमा उपत्यका विकास प्राधिकरण पनि पार्क तथा उद्यान बनाउन कम्मर कसेर लागेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा प्राधिकरणले ४८ वटा पार्क बनाउने भएको छ । प्राधिकरणले काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा पार्क बनाउन लागेको हो । १  करोड लागतका १५ वटा र १ करोडभन्दा कम लागतमा ३३ वटा पार्क बनाउने योजनामा प्राधिकरण छ । 

प्राधिकरणका अनुसार एउटा पार्क बनाउन १ करोड खर्च हुने खालका ७ वटा पार्क त काठमाडौँमै बनाईनेछ । यस्तै पार्क भक्तपुर र ललितपुरमा ४/४ वटा बनाईनेछ । 

एउटा पार्क बनाउँदा ५० लाख हाराहारीको लागत लाग्ने गरी काठमाडौँमा १९ वटा, ललितपुरमा ६ वटा र भक्तपुरमा ८ वटा पार्क बनाईने प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले चालू आर्थिक वर्षमा काठमाडौँमा पार्क बनाउन ११ करोड ९६ लाख, भक्तपुरमा ५ करोड ७० लाख र ललितपुरमा ६ करोड ३ लाख बजेट विनियोजन गरिसकिएको जनाएको छ ।

‘प्राधिकरण काम देखाउन तम्सियो’

पार्क, बगैँचा, उद्यान, मन्दिर लगायतका संरचना बनाउने काम आफूहरुको भएको उपत्यका मेयर फोरमको दाबी छ । उनीहरुले प्राधिकरणले अरु केही काम गर्न नसकेर काम देखाउने नियतका साथ पार्क निर्माणमा हात हालेको काठमाडौँ महानगरपालिका भित्रका एक वडाध्यक्षको आरोप छ ।

‘स्थानीय सरकारले काम गरिरहेको छ, मसिना विकास निर्माणका काम वडाले नै महानगरबाट बजेट ल्याएर गरिरहेका छन्’ ती वडाध्यक्ष भन्छन्, ‘उपत्यका भित्रका महानगर र नगरपालिकाभित्र हेर्ने हो भने सयौँ पार्क बनिसके, खुला ठाउँ सजाईसकिएको छ । २०७४ सालमा हामी आउनुभन्दा पहिल्यै जन्मेको निकाय हो त प्राधिकरण त, अहिले आएर पार्क बनाउन तम्सिनेले के हेरेर बस्या थ्यो यत्तिका वर्ष ?’

यदि स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने काममा चुनौती दिँदै ‘प्रतिस्पर्धा’मा उत्रिएको हो भने प्राधिकरणको पराजय हुने चेतावनी पनि ती वडाध्यक्षले दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved