करको दायरामा किन आउन सकेन कलाकारिता र मनोरञ्जनको क्षेत्र ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2022 | 12:34:12 PM मा प्रकाशित

laxmi  sunrise bank

एक जना सेलिब्रेटी कलाकार आफूले राज्यलाई तिर्नुपर्ने कर तिर्न जाँदा भिडियो नै बनाएर ‘फलानो कलाकारले कर तिर्नुभयो’ भनेर प्रचार भएको धेरै भएको छैन । तर, मनोरञ्जन क्षेत्रमा आवद्ध कलाकार वा यो क्षेत्रमा जोडिएका व्यक्तिहरुको न आम्दानीको रेकर्ड हुन्छ, न सबैले स्थायी लेखा नम्बर (प्यान) नै लिएका हुन्छन् । मनोरञ्जन क्षेत्र मूलतः अझैपनि औपचारिक रोजगारी सिर्जनाको क्षेत्र बन्न नसक्दा यो क्षेत्रबाट राज्यले करोडौँ कर गुमाईरहेको छ ।

लोकदोहारी क्षेत्रकी सदाबहार हिट गायिका विष्णु माझीले एउटा गीत गाएको २ लाख रुपैयाँ लिने गरेको समाचार आईरहेका छन् । तर, २ लाख लिँदा उनले कर तिर्ने गरेकी छन् कि छैनन् भन्ने समाचार कतै आएका छैनन् । नायिका शुष्मा कार्कीले ५ मिनेट स्टेजमा नाँचेको ३ लाखसम्म लिने गरेको आफ्नै मुखबाट बोलेकी छिन् । तर, उनले एक पटक नाँच्दा लिने ३ लाखवापत राज्यलाई तिर्नुपर्ने कर तिर्छिन वा तिर्दिनन् ? उनले खुलाएकी छैनन् ।

यी नाम केवल उदाहरणका रुपमा मात्रै प्रस्तुत गरिएको हो । 

किन ल्याउन सकिएन ? 

तर, कर नतिर्नेमा कलाकार वा मनोरञ्जन क्षेत्र मात्रै एक्लै नरहेको बताउँछन् पूर्व अर्थसचिव कृष्णहरी बाँस्कोटा । उनले मनोरञ्जन सँगै अरु क्षेत्र पनि आंशिक रुपमा मात्रै करको दायरामा आएको बताएका छन् । मनोरञ्जन क्षेत्रभित्र धेरै क्षेत्र पर्ने भएकाले ‘क्याटागोराइज’ गर्नुपर्ने तर, अहिलेसम्म गर्न नसक्दा अन्य क्षेत्रको तुलनामा मनोरञ्जन क्षेत्र करको दायरामा कम मात्रामा आएको बाँस्कोटाको अनुभव छ ।

मनोरञ्जन क्षेत्र बैंकिङ कारोबारमा जान नसक्दा वा सरकारले लैजान नसक्दा यो क्षेत्र असंगठित क्षेत्र जस्तै बनेको उनको बुझाई छ ।

‘मानौँ, तपाई र म नाँच्ने मान्छे भयौँ, कतैबाट नाँच्ने निम्तो आयो । हामीले पाँच पाँच हजार लियौँ, हामीलाई बोलाउनेले हामीलाई नगदमा पाँच हजार नै दियो, उसले ५ हजारको १५ प्रतिशत टीडीएस ७५० रुपैयाँ काटेर ४२ सय ५० मात्रै त दिँदैन । हामीले नै ५ हजारको १५ प्रतिशत टीडीएस काटेर खातामा पैसा हालिदेउ भन्नुपर्ने संस्कारको विकास गर्नुपर्छ । मनोरञ्जन क्षेत्र अहिले यो तहमा पुगिसकेको छैन ।’

उनले मनोरञ्जन क्षेत्रलाई हेर्ने नजर पनि फरक भएकाले यो क्षेत्रबाट आउनुपर्ने जति कर नआएको बताए । मनोरञ्जन क्षेत्र भन्ने बित्तिक्कै खराब ठाउँ, विकृतियुक्त स्थान भन्ने सोच रहेको र राज्यले पनि कलाकारिता वा मनोरञ्जनको अन्य क्षेत्रलाई सम्मानजनक व्यवहार नगर्दा मनोरञ्जन क्षेत्र करको दायरामा आउन नसकेको बाँस्कोटा बताउँछन् । 

कसरी ल्याउने ?

मनोरञ्जन क्षेत्रलाई करको नमूना क्षेत्रका रुपमा विकास गर्नुपर्ने पूर्व अर्थसचिव बाँस्कोटा बताउँछन् । यसका लागि अहिलेको अपुरो कानुनलाई पूर्ण बनाउनुपर्ने सुझाव उनको छ । 

दोहोरी साँझ, रोधी घर, डान्स बार, नाइट क्लब मात्रै नभई फुटसल क्लब, पौडी, ब्याटमिन्टन, भलिबल, फुटबल, कुस्ति लगायतका क्षेत्र पनि मनोरञ्जनात्मक व्यवसायको क्षेत्र भएको बाँस्कोटाको भनाई छ । यी सबै क्षेत्रहरुको संघ हुने र संघमार्फत सबैलाई प्यान नम्बर उपलब्ध गराउन सके यो क्षेत्र करको दायरामा आउने उनको सुझाव छ ।

‘मनोरञ्जन क्षेत्रलाई सम्मानपूर्वक प्यान दिईनुपर्छ, मैले राजस्व सचिव हुँदा कलाकारलाई बोलाएरै प्यान दिएको थिएँ, त्यतिबेला राजेश हमाल, रेखा थापा, दिपक–दीपा लगायतका कलाकारले प्यान लिनु भएको थियो’ बाँस्कोटा स्मरण गर्छन् ।

उनले मनोरञ्जनात्मक व्यवसायका संघहरुसँग मिलेर बोर्डमै प्यान नम्बर खुलाउनुपर्ने व्यवस्था हुनुपर्ने पनि बताए । 

‘अहिले राहदानी लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ, यस्तै सबै व्यवसायको क्षेत्रलाई कुनै न कुनै संघ त चाहिन्छ, संघमा सदस्य हुन अनिवार्य प्यान लिएको हुनुपर्ने व्यवस्था गर्नुहोस् भनेर संघलाई सरकारले भन्न सक्नुपर्यो । कामदार, अरु कर्मचारी, सञ्चालक सबैको प्यान चाहिन्छ भन्नुपर्यो, कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्न प्रोत्साहन गर्नुपर्यो, नोटको कारोबार क्रमशः घटाउँदै लानुपर्यो । यसो भयो भने मनोरञ्जनको क्षेत्र करको दायरामा आउने मात्रै होइन, करको सबैभन्दा नमूना क्षेत्र बन्छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved