५ वर्षदेखि रोक्का रहेको उपत्यकाको १ लाख ३० हजार रोपनी जग्गा फुकुवा हुँदै (ठेगानासहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 15, 2022 | 11:39:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ सहर निर्माणका लागि रोक्का राखिएको जग्गा फुकुवाको प्रक्रिया सुरु भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले ४ वटा नयाँ सहर निर्माण गर्न रोक्का राखेका जग्गा फुकुवा गर्ने प्रक्रिया सुरु गरेको हो ।

प्राधिकरणले जग्गा फुकुवाको प्रस्ताव सहरी विकासमन्त्री अध्यक्ष रहेको भौतिक विकास समितिमा पेश गरेको छ । यसअघिको भौतिक विकास समितिको बैठकमा जग्गाको प्रतिबन्ध हटाउने प्रस्ताव गईसकेको छ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अबको बैठकमा यसबारे छलफल गर्ने बताईसकेकी छिन् ।

माघ ७ गते बैठक बस्ने भनिएपनि प्राधिकरणका कर्मचारी कोरोना संक्रमित भएपछि बैठक बस्न सकेन । त्यसपछि अब प्राधिकरणले अवस्था सहज भएकाले तत्कालै बैठक राख्ने तयारी गरेको छ । 

१ लाख ३० हजार रोपनी जमिन फुकुवा हुँदै

उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ७ अनुसार ३ वर्षका लागि तोकिएको ४ किल्ला क्षेत्रभित्र जस्तोसुकै प्रकारको अचल सम्पत्ति प्राधिकरणको पूर्व स्वीकृति बिना त्यसको भौतिक परिवर्तन गर्न वा त्यसलाई टुक्र्याउन नपाउने निर्णय गरिएको थियो ।

५ असार २०७४ मा राजपत्रमा प्रकाशित भएको यसको म्याद २०७७ असार ४ गते सकिएको छ । तर, जग्गा रोक्काको म्याद सकिएपनि फुकुवा हुन सकेको छैन । प्राधिकरणको भौतिक समितिमार्फत मन्त्रिपरिषदमा प्रस्ताव गएपछि मन्त्रिपरिषदबाट निर्णय भएपछि मात्रै यो जग्गा फुकुवा हुने भएकाले केही समय लाग्ने छ ।

यसरी कित्ताकाट गर्न प्रतिबन्ध लगाईएको जग्गा १ लाख ३० हजार रोपनी छ । ४ स्थानहरु काठमाडौँ ईशान (१ लाख रोपनी), आग्नेय (१० हजार रोपनी), नैऋत्य (१० हजार रोपनी) र उत्तर (१० हजार रोपनी) गरी कुल १ लाख ३० हजार रोपनी क्षेत्रफलमा नयाँ सहर विकास गर्ने योजना अनुसार प्राधिकरणले जग्गा रोक्का राखेको हो । अब यी सबै जग्गाको प्रतिबन्ध फुकुवा हुने भएको हो ।

ईशान, आग्नेय र उत्तरकोको डीपीआर मन्त्रिपरिषदमा पुगेको भएपनि मन्त्रिपरिषदले स्वीकृत गरेन । नैऋत्य सहर भने ललितपुर महानगरपालिकाले अस्वीकृत गरेको छ । 

यी जग्गा हुँदैछन् फुकुवा

ईशान सहरका लागि रोक्का राखिएको कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ४ देखि ९ सम्मको जग्गा, शंखरापुर नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ९ को जग्गा, भक्तपुर नगरपालिकाको २, ६ र १० नम्बर वडाको जमिन, मध्यपुर थिमी नगरपालिकाको वडा नम्बर २, ६, ७, ८ र ९ र चाँगुनारायण नगरपालिकाकाको वडा नम्बर १ देखि ५ सम्मको पुरै भू–भाग र ६ देखि ८ नम्बर वडाका केही क्षेत्रको जमिन फुकुवा हुनेछ ।

ईशान (पूर्व उत्तर) को ४ किल्लाको पूर्वी सिमाना भक्तपुरको नगरकोट जाने सडक, भत्केको पाटी, नगरकोटको जंगल क्षेत्र हुँदै तेलकोट भन्ज्याङसम्मको जग्गा पनि फुकुवा हुनेछ । यसको ४ किल्लामध्ये पश्चिम सिमानातर्फ जोरपाटी क्रिकेट स्टेडियम, मुलपानी, गोठाटार हुँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटो, उत्तरमा क्रिकेट मैदानदेखि साँखु जाने सडक, साँखु बजार, तालुवारी, घट्टेखोला हुँदै तेलकोटसम्मको रोक्का भएको जमिन फुकुवा हुनेछ । 

दक्षिण सिमानातर्फ भुक्तपुर पुरानो बाटो (नेपाली सेना प्रतिष्ठान–खरिपाटी) देकोमिबा इतापाके जग्गा एकिकरण आयोजना, सिन्टीटार जग्गा एकिकरण आयोजना र दिव्यश्वरी जग्गा एकिकरण आयोजनाबाहेकको क्षेत्रहरु) क्षेत्रको जग्गा फुकुवा हुनेछ । 

चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ५ को पुरै भाग र वडा नम्बर ६ देखि ८ को केही भाग समावेश भएको जग्गा फुकुवा हुनेछ । 

काठमाडौं उत्तर (हरित सहर) को ४ किल्ला पूर्वमा भिल्ली, सपनतीर्थ दोभान, भूतखेल चोक, पश्चिममा भेडीगोठ चोक (तारकेश्वर), काभ्रेस्थली बाईपास, उत्तरमा चिम्बर पोखरी, बिहानी चोक, महादेव मन्दिर, र दक्षिणमा टोखा, भत्केको पुल, नागपोखरी, तल्लो भेडीगोठ चोक र काभ्रेस्थली क्षेत्रमा पर्ने जमिन फुकुवा हुनेछ । 

यसअघिः
१३ स्मार्ट सिटीको ‘मास्टर प्लान’ बन्यो, कहाँ कहाँ बन्दैछन् आधुनिक शहर ?

आग्नेय (पूर्व–दक्षिण)को पूर्वतर्फ भक्तपुरको सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिर वरपरको वनक्षेत्र, पश्चिममा खहरे खोला, बालकोट–बिरुवा सडक, पानी ट्यांकी बालकोट, ठिमी, उत्तरको सीमा अरनिको राजमार्ग सम्मको क्षेत्र, दक्षिणतर्फको सिलामखाल, रानीकोट जंगलछेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार–बिरुवा र खहरेसम्मको जग्गा फुकुवा हुनेछ । 

नैऋत्य सहर को पूर्वतर्फ साविकको खोकना १ देखि ८ नम्बर वडा हुँदै साविकको बुङ्मति १ हुँदै छम्पी जाने बाटो र वडा नम्बर २ देखि ६ सम्म तथा पश्चिम र दक्षिणतर्फ वागमती नदीको सीमा र उत्तरमा साविकको सैँबु गाविसको सीमासम्मको जमिन फुकुवा हुँदैछ । 

अपार्टमेन्ट र हाउजिङ परियोजनाका लागि जग्गा अभाव भईरहेको अवस्थामा अपार्टमेन्ट र हाउजिङ डेभलपर्सको नजरमा यी जग्गा पर्न सक्ने अनुमान गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved