कुनैबेला ३३ दलीय मोर्चाविरुद्द सडकमा उत्रिने महासंघ अहिले ‘विज्ञप्ति’मा सिमित किन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2022 | 02:11:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघलाई साना, मझौला व्यवसायीको गुनासो नसुनेको आरोप लाग्दै आएको छ । चुनावको समयमा पनि विशेषगरी जिल्ला नगरका सदस्यहरुले महासंघका नेताहरुले फोनसम्म पनि नउठाउने गुनासो बाक्लै गरेका हुन् । 

हुन पनि, देशमा उद्योग व्यवसायको वातावरण सिर्जना गर्न नीतिगत बहस पैरवी गर्नुपर्ने निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन अहिले ‘विज्ञप्ति’मा सिमित छ ।

महासंघमा ठूला व्यवसायी र कर्पोरेट हाउसहरुको वर्चश्व रहेकाले साना व्यवसायीका गुनासा र अफ्टयाराहरु महासंघको मुद्दा बन्न नसकेको जिल्ला नगरका व्यवसायीहरु बताउँछन् । संस्थागत रुपमा भन्दा व्यक्तिगत र आफ्नो स्वार्थ अनुकुल ‘राज्यसँग डिल’ गर्ने प्रवृत्ति महासंघभित्र मौलाएका कारण महासंघले क्रमशः आफ्नो प्रतिष्ठा गुमाउँदै गएको एक पूर्व पदाधिकारी बताउँछन् ।

कुनैबेला यस्तो थियो महासंघ

महासंघले कुनै समय ३३ दलको बन्द र आम हड्तालको विरोधमा शान्ति ¥याली निकालेको थियो । यातायात व्यवसायी र उद्योगी व्यवसायीले निर्वाध रुपमा आफ्नो व्यवसाय चलाउन पाउनुपर्ने माग राख्दै महासंघ बन्दको विरोधमा सडकमा उत्रिएको थियो । 

सुरज वैद्य महासंघको अध्यक्ष हुँदा खुल्ला मञ्चमा बन्दको विरोधमा कोणसभामा नै गरेको थियो । २०७० सालको निर्वाचनताका ३३ दलले गरेको हप्तादिनको बन्दको विरोधमा महासंघले शान्ती संवाद तथा समन्वय समितिमार्फत गरेको शान्ति ¥यालीमा राजनीतिक दलका कार्यक्रममा उपस्थित हुने कार्यकर्ता भन्दा बढी व्यवसायीहरु सडकमा उतारेको थियो ।

यसले बन्दमा उत्रिएको तत्कालिन ३३ दलीय मोर्चालाई ठूलो दबाब सिर्जना गरेको थियो ।

कहाँबाट बिग्रियो महासंघ ?

महासंघको नेतृत्वमा पुगेकाहरु व्यक्तिगत रुपमा सरकारसँग ‘बार्गेनिङ’मा लागेका कारण अरु संगठनहरु (नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघ) क्रमशः हाबी हुँदै गएको बुझाई कतिपयको छ । कुनै समय बन्द र हड्ताल विरुद्द सडकमै उर्लिएर प्रतिवाद गर्ने सामथ्र्य राख्ने महासंघ अहिले उद्योगी र व्यवसायीहरु समस्यामा पर्दा केवल विज्ञप्ति निकालेर झारा टार्ने अवस्थाबाट गुज्रिएको छ ।

राज्यबाट पाउने छुट सुविधा लिन होस् वा कुनै फाइदाजनक व्यवसायको इजाजत लिन होस्, अहिले कसले कति ‘पावर’ देखाउन सक्छ उसैले पाउने वातावरण बन्नुमा महासंघको नेतृत्व दोषी रहेको महासंघकै सदस्यहरु बताउँछन् ।

‘महासंघको नेतृत्व नै व्यक्तिगत डिल गर्न लागेपछि त्यो संस्थाको गरिमा कस्तो होला ?’ पछिल्लो समय रि–इन्स्योरेन्सको लाइसेन्स हत्याएका ठूला व्यवसायीतर्फ संकेत गर्दै ती सदस्यले भने, ‘अहिलेको भन्दा २ कार्यकाल अगाडीको नेतृत्वबाट महासंघले आफ्नो साख कमजोर बनाउँदै लग्यो । अहिलेको नेतृत्व (अध्यक्ष शेखर गोल्छा) ले पनि त्यस्तै गरिरह्यो । महासंघको पावरलाई देखाएर पर्सनल डिलिङ गर्न थालेपछि संस्था कसरी दह्रो हुन्छ ?’

ती सदस्यले चण्डीराज ढकाल र पशुपति मुरारकातर्फ संकेत गर्दै उनीहरुकै पालादेखि महासंघ क्रमशः कमजोर बन्दै गएको र अरु संगठनहरुले प्रतिस्पर्धी संगठनका रुपमा मौलाउने अवसर पाएको दाबी गरेका छन् ।

कसैले नसुन्ने विज्ञप्ति

‘महासंघको आज मिटिङ छ है भन्ने थाहा पाएपछि दर्जनौँ मिडियाहरु मिटिङमा के भयो भनेर समाचार सम्प्रेषण गर्न महासंघको भवन अगाडी क्यामेरा बोकेर कुरेर बसेका हुन्थे’ वर्तमान कार्यसमितका एक सदस्य भन्छन्, ‘तर, अहिले एक जना पत्रकार त्यहाँ देखिँदैनन् । आफैँले हामीले यो यो कुरा गर्यौँ भनेर लेखेर पठाउनु परेको छ ।’

बतास समूहमाथि (पर्यटनमन्त्री प्रेम आलेमार्फत) अन्याय हुँदा महासंघ एउटा विज्ञप्तिमा सिमित रहेको तर त्यो कसैले नसुनेको भन्दै ती सदस्य भन्छन्, ‘राष्ट्रिय उद्योगपतिहरुको संरक्षण गर्ने मामिलामा पनि महासंघ चुकेको छ, जब आफूलाई अन्याय पर्दा आफू आवद्ध संस्था÷संगठन फ्रन्ट लाइनमा उभिएर त्यसको प्रतिवाद गर्दैन भने किन सदस्य बन्ने ? उद्योगी व्यवसायीहरुले यो कुरा सोच्न थालिसके ।’

४४ वर्ष पूरानो होटल याक एण्ड यती बन्द गराउने निर्णयको विरोधमा महासंघ अहिलेसम्म ‘एक्सन’मा उत्रिन नसक्नुले महासंघ कमजोर सावित भईसकेको महासंघकै निवर्तमान पदाधिकारी बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved