मासिक २० हजार किस्तामै घडेरी, ४० प्रतिशतसम्म ‘डाउन पेमेन्ट’, ब्याज कति ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 02, 2022 | 12:11:19 PM मा प्रकाशित

laxmi  sunrise bank

घरजग्गा कारोबारमा मन्दी आएपछि व्यवसायीहरुले ‘किस्ताबन्दी’को योजना अघि सारेका छन् । कारोबारमा मन्दी आएपछि अब विस्तारै व्यवसाय चलायमान बनाउन काठमाडौँ उपत्यका र उपत्यका बाहिरका ठूला शहरहरुमा किस्ताबन्दीमै घरजग्गा बिक्रिको योजना सार्वजनिक हुन थालेका छन् ।

व्यवसायीहरुले २० देखि ४० प्रतिशत ‘डाउन पेमेन्ट’मा १२ देखि १५ प्रतिशत ब्याजदरमा घडेरी बिक्रि थालेका छन् । किस्ताबन्दीमा घडेरी बिक्रि मात्रै नभई व्यवसायीहरुले ५ वर्षका लागि सहकारीबाट १२ देखि १५ प्रतिशत ब्याजदरमा ऋण पनि मिलाईदिने गरेका छन् ।

जग्गामा किस्ताबन्दीः नयाँ अभ्यास

संस्थागत व्यवसायीहरूले हाउजिङमा किस्ताबन्दीको सुविधा दिँदै आएका थिए । निर्माण सुरु भएपछि बुकिङ खोल्दा निश्चित प्रतिशत रकम लिएर बाँकी रकम निर्माण सकिएर हस्तान्तरणको समयमा लिने गर्थे ।

तर, अब उपत्यकामै घडेरीमा पनि किस्ताबन्दीको अभ्यास सुरु भएको छ । काठमाडौँबाहेक भक्तपुर र ललितपुरमा ४० प्रतिशतसम्म डाउन पेमेन्ट लिएर व्यवसायीहरुले किस्ताबन्दीमा घडेरी बेचिरहेका छन् ।

यसअघिः
घरजग्गा कारोबारमा यसरी फस्दैछन् नयाँ कारोबारी

‘किस्ताबन्दीको मोडल गाडी, बाइक किनेको जस्तै हो’ एकजना व्यवसायीले बिजपाटीसँग भने, ‘निश्चित प्रतिशत डाउनपेमेन्ट गरेपछि महिना महिनामा किस्ता तिर्दा ५ वर्षमा घडेरी आफ्नै हुन्छ, यो नयाँ अभ्यास हो, अब यसलाई फैलाउनुपर्छ ।’

एकमुष्ट तिर्न पर्दैन, ब्याज जोडिन्छ

मानौँ, २० लाख रुपैयाँको घडेरी किन्दा सुरुमा २० प्रतिशत डाउनपेमेन्ट गरियो भने सुरुमा ४ लाख तिर्नुपर्छ । बाँकी १६ लाख रुपैयाँ कम्पनीहरुले १२ प्रतिशत ब्याजमा ‘फाइनान्सिङ’को सुविधा मिलाईदिन्छन् । 

१६ लाखको १२ प्रतिशत ब्याजदरले ५ वर्षका लागि ऋण लिँदा मासिक ४२ हजार जति तिर्नुपर्छ । तर, सुरुमै ४० प्रतिशत डाउनपेमेन्ट गरेको अवस्थामा यो रकम करिब आधाले घट्छ ।

यो पनिः
घरजग्गामा कडाईः सिमेन्ट र डण्डीसहित दर्जनौँ उद्योग थला पर्दै, लाखौँको रोजगारी गुम्दै

‘किस्ताबन्दीमा घडेरी किन्नु भनेको गाडी तथा मोटरसाइकल किन्नु जस्तै हो । किनभने, सुरुमा जति धेरै डाउनपेमेन्ट गर्यो, उति नै किस्ता थोरै तिर्नुपर्छ’ ललितपुरका एक जना घरजग्गा व्यवसायी भन्छन् । 

नियमित आम्दानी हुनेलाई सहज

अहिले रेमिट्यान्स आप्रवाह घटेको छ । नेपालमै नियमित (मासिक) ५० हजारमाथि आम्दानी हुनेहरुले पनि घरजग्गा जोड्न सक्ने अवस्था छैन । 

घरजग्गा जोडन् चाहनेहरुको पनि साथमा अहिले पैसा नहुँदा कारोबार सुस्ताएको छ । त्यसकारण नियमित कम्तीमा २० हजार किस्ता तिर्न सक्ने गरि आम्दानी गरिरहेको व्यक्तिले सहजै किस्ताबन्दीमा जग्गा जोड्न सक्ने विश्वास व्यवसायीहरुको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved