२० खर्बको वैदेशिक व्यापारमा १७० जनाको सिण्डिकेट

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 16, 2022 | 01:43:26 PM मा प्रकाशित

laxmi  sunrise bank

भन्सार एजेन्टको परीक्षा फेरि स्थगित भएपछि यहाँभित्र ठूलो चलखेलको आशंका उब्जिएको छ । कोरोना, अदालतमा परेको मुद्दा लगायतका कारण पटक पटक स्थगित हुँदै आएको भन्सार एजेन्टको परीक्षा पछिल्लो पटक पुनः अदालतमा मुद्दा परेपछि स्थगित भएको छ । अब कहिले हुने भन्ने ठेगान छैन ।

भन्सार एजेन्टका लागि आवेदन खुलाउादा समावेशी नभएको भन्दै पाटन उच्च अदालतमा रिट दायर भएको छ । रिटमा भन्सार एजेन्टको परीक्षा नै स्थगितको अन्तरिम आदेश दिन माग गरिएको थियो ।

उच्च अदालतले ६ चैत्रमा दुवै पक्षलाई छलफलमा बोलाएको छ । तर, विभागले फागुन २८ गतेका लागि परीक्षाको मिति तोकेको थियो । अदालतले चैत्र ६ गते दुबै पक्षलाई बोलाउँदै तत्कालका लागि परीक्षा स्थगित गर्न अल्पकालिन आदेश दिएपछि परीक्षा स्थगित भएको छ ।

विभागले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गरेको छ । विभागका प्रवक्ता पूण्यविक्रम खड्काका अनुसार परीक्षाको टुंगो अब उच्च अदालत पाटनले चैत्र ६ गते गर्ने निणर्यका आधारमा तय हुनेछ ।

विभागले २०७७ चैत १६ गते ६६० जना भन्सार एजेन्टका लागि दर्खास्त आह्वान गरेको थियो । ९ हजार २३ जनाले आवेदन दिएका छन् । उनीहरु परीक्षाको पर्खाइमा छन् ।

१७० जनाको सिण्डिकेट 

२०२५ सालदेखि नै भन्सार एजेन्ट राख्ने व्यवस्था भएपनि २०५७ सालदेखि नयाँ एजेन्ट आउन सकेका छैनन् । २०५७ सालमा ५६ जना नयाँ एजेन्ट थपिएपछि भन्सार एजेन्टको संख्या १७० पुगेको हो । यीनीहरुले बढीमा २ जना प्रतिनिधि राख्न पाउने व्यवस्था छ । त्यसो हुँदा अहिले ३ सयको हाराहारीमा प्रतिनिधिले भन्सार जाँचपासको काम गर्दै आएका छन् । 

पूराना भन्सार एजेन्टहरुले नयाँ एजेन्टहरु आउँदा ‘आफूहरु अपहेलित हुनुपर्ने’ जोखिम रहेको घुमाउरो कुरा गर्दै आएका छन् । 

‘नयाँ एजेन्ट आउँदा पढेका, कम्प्युटरको ज्ञान भएका आउँछन्’ नाम नखुलाउने सर्तमा एकजना एजेन्टले भने, ‘हामी २०औँ वर्षदेखि काम गर्दै आएका छौँ, नयाँ आएपछि त उनीहरुसँग जस्तो आधुनिक ज्ञान त हामीसँग हुँदैन, अनि २०औँ वर्षदेखि काम गरिरहेका हामीहरुलाई उनीहरुले हेप्छन् ।’ 

यसअघिः
२० वर्षपछि खुल्यो भन्सार एजेन्टको विज्ञापन, कतिले पाउँदैछन् नयाँ लाइसेन्स ?

पूराना एजेन्टहरु आफ्नो सिण्डिकेट कायम राखेर नयाँ एजेन्टको परीक्षा हुनै नदिने चलखेलमा लागेका छन् । 

यसअघि २०६९ सालमा पनि नयाँ भन्सार एजेन्टको परीक्षा लिने तयारीमा विभाग लाग्दा एजेन्टहरुले नै विफल बनाईदिएका थिए । यसपटक पनि सर्वोच्चमा मुद्दा परेको थियो । सर्वोच्चले रिट खारेज गरेपछि परीक्षा हुने आशामा आवेदकहरु थिए । तर, उच्च अदालत पाटनमा परेको रिटमा भने अदालतले परीक्षा हुने २ दिन अगाडी अल्पकालिन आदेश दिएपछि परीक्षा फेरि धकेलियो ।

२० खर्बको व्यापारमा रजाईँ !

भन्सार ऐन २०६४ अनुसार ७ लाख रुपैयाँ धरौटी र वार्षिक ७ हजार रुपैयाँ तिरेर भन्सार एजेन्टको अनुमतिपत्र नविकरण हुँदै आएको छ । 

नेपालको वैदेशिक व्यापार दिनप्रतिदिन बढिरहेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को ७ महिना (साउनदेखि माघसम्म) मा ११ खर्ब ४७ अर्ब ४६ करोड ६४ लाख बस्तु आयात भएको छ । यहीँ अवधिमा १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख बराबरको बस्तु तथा सेवा निर्यात भएको छ ।

यो पनिः
धेरै पढेका भन्सार एजेन्ट आउने भएपछि डरायो महासंघ, योग्यता घटाउन माग

यसरी, ७ महिनाको अवधिमा आयात र निर्यातको समग्र वैदेशिक व्यापारको तथ्यांक १३ खर्ब हाराहारी छ । फागुन महिनाको तथ्यांक आउन बाँकी छ । आर्थिक वर्षको अन्त्यसम्म (२०७९ असार मसान्तसम्म) मा आयात र निर्यात गरी कुल वैदेशिक व्यापार २० खर्बको हाराहारीमा पुग्ने लक्षण अहिलेको मूल्य वृद्धिले देखाएको छ ।

गत आर्थिक वर्षमा १७ खर्बको आयात निर्यात भएको थियो ।

तर, भन्सार एजेन्ट भने जम्मा १७० जना मात्रै छन् । यो आँकडा अनुसार एक जना भन्सार एजेन्टले वर्षमा औसतमा १० अर्बको व्यापार हेर्दै आएका छन् ।

व्यापार क्रमशः बढ्दै जाने देखेपछि विगतमा लगाएको सिण्डिकेट जस्तै अब वैदेशिक व्यापारले २० खर्बको आँकडा पार गर्दासम्म पनि आफ्नै सिण्डिकेट कायम राख्ने ध्याउन्नमा पूराना एजेन्टहरु लागिरहेको भन्सार विभाग स्रोत बताउँछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved