प्राधिकरणले सुरु गर्‍यो लोडसेडिङ, कुलमानले बिजुली दिन नसक्दा देशैभरका उद्योग बन्द

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 23, 2022 | 02:17:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ सुरु गरेको छ । भारतबाट बिजुली खरिदमा समस्या आएपछि देशका उद्योगहरुमा बिजुली कटौती गरिएको छ । विशेषगरी ठूला उद्योगहरु भएको भैरहवा क्षेत्रमा बिजुली काटिएको छ ।

भारतबाट आयात भइरहेको बिजुली मंगलबार रातिबाट आउन बन्द भएको छ । हरेक दिन बिड गरेर बिजुली किन्ने गरिएकोमा मंगलबारको बिडिङमा नेपाल नपरेपछि भारतबाट बिजुली आउन रोकिएको हो । 

भारतबाट आयात भईरहेको १२ हजार मेगावाट आवर बिजुली रोकिएको छ । 

लुम्बिनी करिडोरका सबै उद्योग बन्द

बिजुली नभएपछि लुम्बिनी करिडोर भित्रका सबै उद्योग अहिले बन्द भएका छन् । नेपाल विद्युत प्राधिकरणको मणिग्राम कार्यालयले फ्याक्ट्री नचलाउन भनेको पञ्चकन्या स्टिलका महाप्रवन्धक देवेन्द्र शाहले जानकारी दिए ।

‘अहिले यो क्षेत्रमा बिजोग छ, बिहान ८ बजे लाईन काटिदियो, हामीले फोन पनि गर्यौँ’ उनले भने, ‘माथिबाट निर्देशन नआएसम्म फ्याक्ट्री नचलाउनु भन्ने जवाफ हाम्रो क्षेत्रका प्राधिकरणका हाकिमले दिएका छन् । लोड हाम्रो जति छ, विद्युत त्यति छैन भन्ने जवाफ हामीले पायौँ । लुम्बिनी करिडोरमा जति पनि फ्याक्ट्री छन्, सबैमा काटिएको छ ।’

पञ्चकन्या स्टिल, अम्बे स्टिल, अर्घाखाँची सिमेन्ट, लाली चाउचाउ, एभरेष्ट रोलिङ मिल्स, गोयन्का स्टिल, श्री स्टिल लगायतका ठूला उद्योगहरुमा लाइन काटिएको छ ।

लिखित दिन मानेन प्राधिकरण

प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरेपनि उद्योगहरुलाई लिखित जानकारी दिन भने मानेको छैन । उद्योगीहरुले प्राधिकरणको मणिग्राम कार्यालयमा पुगेरै र फोन गरेर कुराकानी गरेपनि लिखित जानकारी दिन माथि (प्राधिकरणको केन्द्रीय कार्यालय) बाट आदेश नरहेको जवाफ आफूहरुले पाएको पञ्चकन्या स्टिलका महाप्रवन्धक देवेन्द्र शाह बताउँछन् ।

‘माथिबाट उद्योगलाई लाइन काटेर घरघरमा मात्रै दिने निर्देशन छ रे, हाम्रो क्षेत्रका हाकिमले हामीलाई यहीँ बताए’ शाहले भने, ‘यदि त्यसो हो भने हामीलाई लिखित पत्र दिनु भन्यौँ, उहाँले लिखत दिन मिल्दैन, माथिबाटै कन्ट्रोल गर्छ भन्नुभयो ।’

उनले साँच्चै लोडसेडिङ हो भने लिखित रुपमा ‘सेड्युअल’ (तालिका) उपलब्ध गराउन प्राधिकरणसँग माग गरेका छन् । यसका लागि उद्योगको तर्फबाट पत्र पनि पठाएको उनले जानकारी दिए ।

बिजुली बढी भयो भन्ने अनि अहिले पुगेन भन्ने ?

केही दिनअघि प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ आफैँ पनि भैरहवा क्षेत्रमा पुगेका थिए । त्यतिबेला उनले पञ्चकन्या स्टिलका महाप्रवन्धक शाहसहित अरु उद्योगका कर्मचारी र उद्योगीहरुलाई भेटेर बिजुलीको खपत बढाउन भनेका थिए ।

‘कुलमान सरले मसँगै भेटेर फ्याक्ट्रीमा एक्स्ट्रा लोड थपिहाल्नुस् भन्नु भएको थियो’ शाहले स्मरण गर्दै भने, ‘बिजुली बढि भएको भनेको केही दिनमै अहिले लाइन काटिएको छ । तालिका नै दिए भईहाल्यो नि, कुचुकुचु १ घण्टा, २ घण्टा लाइन छोड्दा हामीलाई लस (घाटा) हुन्छ, ८ घण्टा दिने हो कि, १२ घण्टा दिने हो कि, हप्तामा २ दिन मात्रै दिने हो कि, त्यो तालिका त हामीलाई दिनुपर्यो नि ।’

अहिले मुलुक भरीको दैनिक उच्च माग १६ सय मेगावाट रहेकोमा ८ सय मेगावाट मात्र स्वदेशी उत्पादनले धान्दै आएको छ । यसमा निजी क्षेत्रबाट उत्पादित बिजुली करिब ३ सय मेगावाट छ । बाँकी ८ सय मेगावाट भारतबाट किन्नुपर्ने बाध्यतामा प्राधिकरण छ ।

यसकारण गएराती बाटै भैरहवासहित वीरगञ्ज, विराटनगर, हेटौँडा लगायतका औद्योगिक क्षेत्रका उद्योगहरुले पनि बिजुली पाएका छैनन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved