‘बिचौलिया’को काम गरेर नाफा कमाउने ‘कुलमान नीति’ले ३५ दिनमै ८.५ अर्ब गुमाउँदै प्राधिकरण

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 24, 2022 | 10:57:50 AM मा प्रकाशित

laxmi  sunrise bank

‘लोडसेडिङ मुक्त नेपाल’ भनिएपनि मंगलबार रातीबाट उद्योगहरुले बिजुली पाएनन् । विशेष गरी ठूला उद्योगहरु भएको भैरहवा औद्योगिक क्षेत्र र लुम्बिनी करिडोरका उद्योगहरुले मंगलबार रातीबाट अघोषित लोडसेडिङ भोग्नुपर्यो ।

यसको कारण के हो भने, भारतबाट नेपालले बिजुली किन्न सकेन । नेपालले दैनिक बिडिङमार्फत भारतबाट बिजुली खरिद गर्दै आएकोमा मंगलबार नेपालले राखेको मूल्यमा भारतले बिजुली दिएन । भारतमा बिजुलीको मूल्य ३६ रुपैयाँ प्रतियुनिट सम्म पुग्यो । नेपालले भारु ८ देखि ९ रुपैयाँमा बिजुली किनिरहेको थियो । मंगलबार पनि सोही मूल्यमा बिड गर्दा नेपालले बिजुली पाएन । जसका कारण उद्योगहरुले एक रातमा अर्बौ नोक्सान ब्यहोर्नुपर्यो ।

बेच्दा ३ रुपैयाँ, किन्दा २५ रुपैयाँ

नेपालले पनि वर्षायाममा भारतलाई केही बिजुली बेचेको थियो । तर, भारतलाई प्रतियुनिट ३ रुपैयाँ ६८ पैसामा बिजुली बेच्ने प्राधिकरणले भारतबाट आयात गर्दा भने औसतमा प्रतियुनिट २५ रुपैयाँ बढी तिर्नुपर्ने अवस्था आएको छ ।

भारतीय प्रतिस्पर्धी बजारमा बिहीबारको विद्युतको मूल्य  प्रतियुनिट १५.२७ पैसा भारु पुगेको छ । यो बिजुली नेपाल ल्याउँदा थप ५३ पैसा भारु प्रशारणलाइन शुल्कका रुपमा जाडिन्छ । यसरी प्रतियुनिट १५.८० पैसा भारु पर्न जान्छ । यो भनेको प्रतियुनिट लागत २५.२८ रुपैयाँ हो ।

तर, आज बिहिबार पनि भारतबाट प्राधिकरणले बिजुली पाउने सम्भावना छैन । किनकी, प्राधिकरणले भारु १२ मा बिड गरेको जनाएको छ । योभन्दा बढी मूल्यमा भारतीय उद्योगहरुले नै कोट गरेका कारण बिहिबार पनि बिजुली नआउने खतरा रहेको हो ।

अहिले भारतबाट औसतमा १२ सय मेगावाट प्रतिघण्टाका दरले विद्युत् आयात गनुपर्ने बाध्यतामा प्राधिकरण छ ।

३५ दिनमै ८.५० अर्ब गुम्ने खतरा

बुधबार प्राधिकरणले औसत मूल्यभन्दा केही बढाएर बोलकबोल गर्दा पनि मूल्य आकाशियो । त्यसकारण प्राधिकरणले ९६ ब्लकमा गरिएको बिडमा जम्मा १२ वटा युनिटमा मात्रै बिजुली पायो । 

मूल्य बढ्ने क्रम अझै रोकिएको छैन । भारतमा औसत प्रतियुनिट बिजुलीको मूल्य भारु २० सम्म पुग्ने अवस्था देखिएको प्राधिकरणकै अधिकारीहरु बताउँछन् । यदि भारतमा प्रतियुनिट बिजुलीको मूल्य २० भारु पुगेमा प्राधिकरणले ३५ दिनमा ८.५० अर्ब नोक्सानी ब्यहोर्ने खतरा बढेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार भारतमा कोइलाको अभाव हुँदा त्यहाँका आधा बढी विद्युत गृहहरु बन्द छन् । जसका कारण बिजुली महँगो हुन गएको हो । 

बिजुली महँगो हुँदा प्राधिकरणले अबको ३५ दिनमा ८ अर्ब ५० करोड थप नोक्सान ब्यहोर्नुपर्ने अवस्था आउन सक्ने कुलमानले नै स्वीकार गरेका छन् । 

‘कुलमान बिचौलियाको काम गर्दा हिरो भएका हुन्, वास्तविकता देखिँदैछ’

उद्योगी व्यवसायीहरुले बिजुली कटौती हुने समय माग गर्दा पनि प्राधिकरणले दिन अस्वीकार गरेको छ । नेपालको बिजुली उत्पादन क्रमशः बढिरहेपनि अहिले उपभोक्ता (उद्योगबाहेक)ले नियमित बिजुली बाल्ने अवस्था यहाँको उत्पादनले सम्भव भएको होइन । भारतबाट महँगोमा बिजुली किनेर ल्याएर प्राधिकरणले बिचौलियाको काम गरिरहेको उद्योगीहरुको भनाई छ ।

नेपालले भारतको एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)सँग १५० मेगावाट र पावर ट्रेड कर्पोरेसनसँग ७० मेगावाट बिजुली नियमित रुपमा आयात गर्न सम्झौता गरेको थियो । तर, बिजुलीको मूल्य बढेपछि यी दुबै एजेन्सीले १ महिनादेखि नेपाललाई बिजुली दिएका छैनन् ।

‘डिमाण्ड १६ सय मेगावाट छ, उत्पादन ८ सय मेगावाट मात्रै छ’ एक उद्योगी भन्छन्, ‘किनेर ल्याएर बेचौला भनेर मात्रै हुँदैन, अहिलेसम्म कुलमानले वाहवाही कमाएको त्यहीँ बिचौलियाको काम गरेर मात्रै हो, भारतबाट ल्याउने यहाँ बेच्ने । उद्योगलाई प्राथमिकतामा राखेर बिजुली दिनुपर्छ भन्ने चेतना कसैको छैन । त्यहाँ मजदूर हुन्छन्, तिनका परिवार हुन्छन्, उद्योगीको अर्बौ लगानी हुन्छ, यसलाई बचाउनुपर्छ भनेर कोही बोल्दैनन् । यहाँ त कुलमानले भारतबाट किनेर ल्याएको बिजुली बाल्न पाएर सबै मख्ख छन् । आफ्नो देशमा उत्पादन बढाउनुपर्छ भन्ने कोही छैनन् । कुलमानले नै साना लगानीका जलविद्युतको पीपीए रोकिदिएको कसैले देख्दैन । यो देशमा उत्पादन गर्ने होइन, दलाली गर्नेहरु हिरो कहलिन्छन् । अर्थतन्त्र डामाडोल भएको त्यसै होइन ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved