कुलमानका कारण देशलाई दैनिक १० अर्ब नोक्सानी

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 31, 2022 | 10:27:32 AM मा प्रकाशित

laxmi  sunrise bank

औद्योगिक करिडोरका उद्योगहरुमै अघोषित लोडसेडिङ हुँदा अहिले उद्योगीहरु तनावमा छन् । केही उद्योग आंशिक र केही उद्योगहरु पूर्ण रुपमै बन्दको अवस्थामा छन् । ५० देखि ६० प्रतिशत क्षमतामा चल्दै आएका उद्योगहरु अहिले पूर्ण रुपमा बन्द छन् ।

नेपाल विद्युत् प्राधिकरणबाट स्वीकृति लिएको लोड अनुसारको विद्युत नपाउँदा उद्योगीहरुले फ्याक्ट्री बन्द गराएका छन् । तर, प्राधिकरण लोडसेडिङ छ भन्ने मान्न तयार छैन ।

१४ घण्टासम्म लोडसेडिङ

प्राधिकरणले महँगोमा भारतबाट बिजुली किनेर सस्तोमा बेच्दा घाटा हुने भन्दै बिजुली नकिन्दा उद्योगहरु समस्यामा परेका हुन् । 

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल कुलमान घिसिङले प्राधिकरणको वित्तीय विवरण नाफामा रहेको देखाउन भारतबाट बिजुली नकिन्दा अहिले उद्योगहरु बन्द भएको गुनासो गरेका छन् । उनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमानले दैनिक २२ करोड रुपैयाँ बचत गर्ने मानसिकता बोक्दा उद्योगहरुले दैनिक ११ अर्ब रुपैयाँ गुमाईरहेको बताएका छन् ।

‘कुलमान घिसिङकै कारण देशको अर्थतन्त्र टाट पल्टिने भयो, तरलता अभाव छ, उद्योगहरुले जसोतसो अर्थ क्षेत्र चलायमान बनाउँदै थिए’ उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल भन्छन्, ‘तर, अब यो पनि बन्द भयो । कुलमान सरले आफैँले प्रतिवद्धता गरे अनुसारको बिजुली दिन नसक्दा उद्योग क्षेत्रले दैनिक १० देखि १ अर्ब रुपैयाँ घाटा ब्यहोरिरहेको छ ।’ 

बीरगञ्ज क्षेत्रका उद्योगहरुले पनि अहिले १४ घण्टासम्म लोडसेडिङ ब्यहोरेका छन् । १४ घण्टा बिजुली नपाउने अवस्था भएपछि त्यस क्षेत्रका उद्योगहरुले ठूला मेशिनहरु बन्द गरेका छन् ।

प्राधिरकणले प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्दा ३५ दिनमा ८ अर्ब रुपैयाँ घाटा हुने बताईसकेको छ । दैनिक बोलकबोलमा भाग लिने गरेको तर महँगो मूल्य राख्दा पनि बिजुली नपाएको प्राधिकरणको भनाईमा नै उद्योगीहरुले आशंका व्यक्त गरेका छन् । 

‘प्राधिकरणले साँच्चै बिड राखेको छ जस्तै लाग्दैन’ एक जना उद्योगी भन्छन्, ‘बाहिर बाहिर बिड राख्यौँ, तर पाएनौँ भनिदिने, भित्रभित्रै बिड नै नराखिएको पो हो कि ?’

कुलमानको ‘फिगर’ जोगाउन उद्योगमाथि प्रहार

३८ रुपैयाँ प्रतियुनिटमा बिद्युत खरिद गर्दा प्राधिकरणलाई दैनिक २२ करोड रुपैयाँ नोक्सान हुन्छ । त्यो २२ करोड जोगाउन प्राधिरकरणले नियोजित रुपमै उद्योग बन्द गराएर दैनिक १० अर्ब नोक्सान गराएको आरोप उद्योगीहरुले लगाएका छन् ।

कुलमान घिसिङ आफ्नो अघिल्लो कार्यकालमा चुलिएको वाहवाही नबिग्रियोस् भनेर लोडसेडिङ भन्न पनि तयार छैनन् । अर्कोतिर प्राधिकरणको ब्यालेन्स सिट घाटामा देखाउँदा जनतामा आफ्नो ‘फिगर’ बिग्रने भएकाले उनले बरु भारतबाटै बिजली नकिन्ने नीति लिएको उद्योगीहरुको आरोप छ ।

तर, प्राधिकरणका प्रवक्ता सुरेश भट्टराई भारतमै ऊर्जा संकट चुलिएकाले महँगोमा पनि बिजुली नपाउँदा उद्योगहरुलाई दिन नसकिएको बताउँछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved