मोबाइल आयातमा चलखेल: २९ करोडको आयात रोकेर साढे ३ अर्बको आयात खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2022 | 05:51:09 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको चाप न्यूनीकरण गर्ने भन्दै सरकारले ६ सय डलर भन्दा माथि मूल्य पर्ने मोबाइललगायत अन्य १० वस्तुको आयात रोकेको छ । 

सोधनान्तर घाटा तथा विदेशी मुद्राको सञ्चितिलगायतका समस्या समाधानमा पहल गर्ने उपायका रूपमा रोकिएका आयातमध्ये मोबाइल आयातमा अर्बौंको चलखेल भएको देखिएको छ ।

चालू आर्थिक वर्षको चैत्रसम्ममा आयात भएका ५० लाख मोबाइलमध्ये ६०० डलर भन्दा माथिको मोबाइल संख्या जम्मा २१ हजार ८ सय ५८ रहेको छ । प्रतिशतमा हेर्दा यो जम्मा शून्य दशमलव ४ प्रतिशत हो ।

१ प्रतिशत पनि संख्या नरहेको मोबाइलको आयात रोकेर सरकारले ९९ दशमलव ६ प्रतिशत मोबाइल भित्र्याउन दिएको छ । 

स्रोतले बिजपाटीलाई दिएको जानकारी अनुसार ६ सय डलर भन्दा माथिको मोबाइल आयात गर्दा चालू आवको पहिलो नौ महिनामा जम्मा २ अर्ब ६० करोड विदेशिएको छ भने ६ सय डलर भन्दा तल मूल्य पर्ने मोबाइलका लागि ३२ अर्ब ३७ करोड खर्च भएको छ । 

अर्थात गत चैत मसान्त सम्मको तथ्यांकलाई हेर्दा ६ सय डलर भन्दा माथिको मोबाइल आयात गर्दा प्रतिमहिना २८ करोड ९० लाख मात्र बाहिरिएको छ । जबकी अन्य मोबाइल आयातमा प्रतिमहिना ३ अर्ब ५९ करोड बाहिरिने गर्छ । औसतमा प्रति महिना २९ करोडको हुने आयात रोकेर सरकारले साढे ३ अर्बको आयात खुला गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्र बैंकका गभर्नर र अन्य सरकारी अधिकारीहरूले सरकारको यो निर्णयले शोधनान्तर संचितीमा परेको चाप कम हुने हास्यास्पद तर्क गर्दै आइरहेका छन् । अर्थ मन्त्रालयका एक कर्मचारीका अनुसार सरकारको यस्तो निर्णयमा बिचौलियाहरूको ठूलो प्रभाव छ । नाम उल्लेख नगर्ने शर्तमा उनले भने, 'सरकारले सबैतिर अध्ययन गरेर भन्दा पनि केही बिचौलियाको प्रभावमा परेर यस्तो अदूरदर्शी निर्णय गरेको हो ।'

'नेपालीले चलाउने फोन सामान्यतयाः ५०/६० हजार (५/६ सय डलर) भन्दा तल्लो बजेटकै हुन्छन्,' उनले थपे, 'तथ्यांकले पनि त्यही भन्छ । तर सरकारले आयात गर्दा वैदेशिक संचितीमा निकै कम प्रभाव पर्ने वस्तुलाई रोकेर बढी प्रभाव पर्ने वस्तुहरू निर्वाध रूपमा खोलिदिएको छ ।'

यसबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले महँगो मोबाइल विलासिताको वस्तु भएकाले रोकिएको बताए । '६ सय डलर भन्दा माथिका मोबाइल विलासिताको वस्तु भएको निष्कर्षका साथ रोकिएको हो,' उनले भने, 'तर कम मूल्यका मोबाइल भने आवश्यकता हुन् । बच्चाबच्चीले अनलाइन पढ्नुपर्छ, गाउँ र दूर दराजमा सबैले प्रयोग गर्ने फोन कम मूल्यका हुन्छन् ।'

आयातको ९९ प्रतिशत भन्दा बढी ओगट्ने ६ सय डलर भन्दा कम मूल्यका मोबाइल भएपछि त्यसलाई रोक्नुको के अर्थ भन्ने प्रश्नमा रेग्मीले भने, 'बढी मूल्यका मोबाइल त बढी कै हुन् नि । यसमा ओभरअल हिसाब गर्नुहुँदैन । मोबाइल आयात रोक्ने विषयमा कुनै चलखेल भएको छैन ।'

सरकारले निकासी तथा पैठारी ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गर्दै मदिरा, सुर्ती, डिजेल तथा पेट्रोल गाडी, २५० सिसीभन्दा बढीका मोटरसाइकल, कुरकरे तथा लेजलगायतका खाद्यान्न, हीरा, ६ सय डलरभन्दा महँगा मोबाइल सेटलगायत सबै प्रकारका खेलौनाहरू, खेल्ने तास, ३२ इन्चभन्दा ठूला रंगीन टेलिभिजनलगायतका सामग्री आयातमा रोक लगाएको हो । सरकारले लगाएको आयात प्रतिबन्ध चालू आर्थिक वर्षको असार मसान्तसम्म लागू हुने राजपत्रमा उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved