विश्व बैंकको कालोसूचीमा रहेको कम्पनीलाई नेपालमा इम्बोस्ड नम्बर प्लेट जडानको ठेक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2022 | 10:38:09 AM मा प्रकाशित

laxmi  sunrise bank

साउन १ गतेबाट इम्बोस्ड नम्बर प्लेट जडान नगरिएका सवारी साधनलाई कारबाही गर्ने भन्दै यातायात व्यवस्था विभाग अहिले जबरजस्ती इम्बोस्ड नम्बर प्लेट जडान गराउन लागिपरेको छ ।

तर, इम्बोस्ड नम्बर प्लेट जडानको ठेक्का पाएको बङ्लादेशी कम्पनी भ्रष्टाचार गरेर विश्व बैंकबाट कारबाही र कालोसूचीमा परेको कम्पनी रहेको खुलेको छ । विश्व बैंकले सन् २०१९ मै कालोसूचीमा राखेको कम्पनीले नेपालमा भने इम्बोस्ड नम्बर प्लेट जडानको ठेक्का पाएको भेटिएको हो ।

विश्व बैंकले सन् २०१४ मा बङ्लादेशमा सुरक्षित, विश्वसनीय र तथ्यपूर्ण राष्ट्रिय पहिचान प्रणाली स्थापना गर्न गठित ‘आइडेन्टिफिकेशन सिस्टम फर इनहान्सिङ एक्सेस टु सर्भिस प्रोजेक्ट’ परियोजनामा लगानी गरेको थियो । उक्त परियोजनाको ठेक्का फ्रान्सेली साझेदारसँग मिलेर टाइगर आईटीले पाएको थियो ।

तर, विश्व बैंकले गरेको छानबिनमा प्राविधिक मापदण्डमै कर्मचारलाई प्रभावमा पारेर टाइगर आईटीले घोटाला गरेको प्रमाणित भएको हो । २०१९ मार्च ५ मा वाशिङ्टन डीसीस्थित विश्व बैंकको मुख्यालयमा यो मुद्दाको सुनुवाई भएको थियो । सुनुवाईले भ्रष्टाचार ठहर गरेपछि विश्व बैंकले कम्पनी र यसका सीईओ जिआउर रहमानलाई २०१९ को अप्रिल २४ मा कालोसूचीमा राखेको थियो ।
विश्व बैंकले टाइगर आईटी बङ्लादेशलाई ९ वर्ष ६ महिना र सीईओ रहमानलाई ६ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखेको प्रमाण भेटिएको छ ।

म्याद सकिँदा पनि समय थप

इम्बोस्ड नम्बर प्लेट जडानका लागि टाइगरले अमेरिकी कम्पनी डेकाटुरसँग मिलेर सहायक कम्पनी डेकाटुर टाइगर आईटी बनाएर ठेक्का हत्याएको थियो । 

यातायात व्यवस्था विभागले ४ करोड ३७ लाख ८७ हजार ५ सय अमेरिकी डलर अर्थात् ४ अर्ब ६८ करोड ५२ लाख ६२ हजार नेपाली रुपैयाँमा काम सक्ने गरी २०७३ जेठ १७ मा सम्झौता गरेको थियो । ५ वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान सक्ने भन्दै भएको सम्झौताको अवधि २०७८ भदौमा सकिएको थियो । तर, विभागले पुनः २ वर्ष ६ महिनाको समय थपेर सम्झौता नवीकरण गरिदियो ।

विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई ठेक्का दिईनु, ठेक्काको म्याद सकिँदा पनि विभिन्न कारण देखाएर २ वर्ष बढी अवधि थप गरिनु र अहिले इम्बोस्ड नम्बर प्लेट  जडान नगरे कारबाही गर्ने चेतावनी दिनुले यो परियोजनामा ठूलो आर्थिक चलखेलको पुष्टि गर्ने स्रोत बताउँछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved