प्याडको आन्दोलन देखाएर अर्थमन्त्रीले ‘विशाल ग्रुप’लाई यसरी दिलाए अर्बको फाइदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2022 | 04:58:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सेनेटरी प्याडको आयातमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत ९० प्रतिशत भन्सार महशुल छुट दिने घोषणा गरेपछि नेपालका उद्योगीहरु चिन्तित बनेका छन् । वार्षिक ९० करोड थान (पिस) उत्पादन क्षमता स्वदेशी उद्योगसँगै भएको, कुल खपत ३० करोड पिस मात्रै रहेको र यसमा पनि आयातित प्याडले ५० प्रतिशत बजार हिस्सा ओगटेको अवस्थामा अर्थमन्त्रीले आयातकर्तालाई पोस्ने गरी नीति लिएका हुन् ।

यसमा मुख्य भूमीका विशाल ग्रुपले खेलेको छ । जगदीश प्रसाद अग्रवाल अध्यक्ष रहेको विशाल ग्रुप नेपालको बैंकिङ (एनआईसी एशिया बैंक), बीमा क्षेत्र र अटोमोबाइल्ससहित अन्य क्षेत्रमा पनि लगानी भएको समूह हो ।

विशाल ग्रुपले बहुराष्ट्रिय कम्पनी प्रक्टर एण्ड ग्याम्बलको उत्पादन ‘ह्वीस्पर’ ब्राण्डका सेनेटरी प्याड नेपालमा आयात गर्दै बिक्रि गर्दै आएको छ । यो ब्राण्डका सेनेटरी प्याडको मूल्य नेपालमा प्रति पिस न्यूनतम् ५५ रुपैयाँदेखि २ सय रुपैयाँसम्म पर्छ ।

यसरी ‘सक्सेस’ भयो विशाल ग्रुप

विशाल ग्रुपले सेनेटरी प्याडको आयातमा भन्सार शुल्क छुट लिनका लागि लामो समयदेखि पहल गर्दै आएको थियो । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारका समयमा पनि अर्थमन्त्री युवराज खतिवडाले हरेक पटक बजेट ल्याउने बेलमा कुनै न कुनै रुपमा विशाल ग्रुपले लाभ लिएको थियो ।

२०७८ जेठ १५ गते चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट आउँदा संसद विघटन थियो । त्यतिबेला अर्थमन्त्री थिए विष्णु पौडेल । उनीमार्फत पनि प्याडको आयातमा भन्सार महशुल छुट पाउने नीतिका लागि विशाल ग्रुपका उपाध्यक्षसमेत रहेका एनआईसी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवाल समेतले लविङ गरेका थिए भन्ने स्रोतको दाबी छ । तर, त्यतिबेला अर्थमन्त्री रहेका पौडेल सकारात्मक नहुँदा विशाल ग्रुप सफल भएन । 

लगत्तै संसद पुनःस्थापना भएपछि बनेको गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेट ल्याउने तयारी गरेपछि विशाल ग्रुपका निर्देशकहरुले उनलाई भेटेका पनि थिए । बजेट निर्माणमा हतार भएका कारण उनले गत भदौ २५ मा प्रतिस्थापन बजेट ल्याउँदा अर्थमन्त्री शर्माले प्याडको आयातमा भन्सार छुट दिने नीति समावेश गर्न पाएनन् ।

यो पनिः
राज्यमन्त्री उमेश श्रेष्ठको घरमा अर्थमन्त्रीसहित प्रधानमन्त्रीका छोराको ‘ककटेल पार्टी’

बेला बेलामा महिला अधिकारकर्मी वा संस्थाको नाममा सेनेटरी प्याडमा लगाईएको कर खारेजीको माग गर्दै आन्दोलन हुँदै आएको थियो । यसै क्रममा गत पौष २४ गते जावलाखेलमा ‘रातो कर, माफ गर’ भन्दै प्रदर्शन भएको थियो । उक्त प्रदर्शनपछि अभियान्ता भनिनेहरुले विभिन्न माध्यममार्फत संसदमा कुरा पुर्याए । 

‘रातो कर माफ गर भन्ने आन्दोलनले कर छुटको कुरा गरेको थियो, कर छुट भनेको उत्पादन लागत कम गरेर सस्तोमा उपभोक्तालाई उपलब्ध गराउनु भन्ने अर्थमा हामीले बुझेका थियौँ’ स्रोत भन्छ, ‘तर यहाँ त आयातमा भन्सार छुट गराएर नेपालका उद्योगलाई थला पार्ने प्रपञ्च रचिएको रहेछ, महिला संवेदनशीलतालाई देखाएर स्वदेशी उद्योग मास्ने खेल रहेछ ।’

स्रोतले त अझ सेनेटरी प्याडमा कर छुटको आन्दोलन ‘प्रायोजित’ भएको दाबी पनि गरेको छ । 

किनभने, आगामी आर्थिक वर्षको बजेटको तयारीका बेला अर्थमन्त्री शर्माले निजी क्षेत्रका विभिन्न संघ संगठनसँग सुझाव माग गरेका थिए । तर, विशाल ग्रुपका एक उच्च पदाधिकारी सहितको टिम संगठनमार्फत नभई एक्लै अर्थ मन्त्रालय पुगेको थियो । २०७९ बैशाख १९ गते विशाल ग्रुपको समूहले अर्थमन्त्री शर्मालाई भेटेर ‘प्याडमा भन्सार महशुल छुट गरिदिन’ अनुरोध गरेको थियो ।

महिला संवेदनशीलतासँग जोडिएको विषय भनेर अर्थमन्त्री शर्मालाई ‘कन्भिन्स’ गराएर टोली फर्किएको थियो । त्यसपछि पनि यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवामार्फत र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठमार्फत विशाल ग्रुपले लविङ जारी राख्यो । 

फलस्वरुप, जेठ १४ गतेसम्म नेपालमै पर्याप्त उत्पादन हुने र आत्मनिर्भर रहेका उत्पादनहरुको आयातमा कडाई गर्ने उद्घोष गर्दै हिडेका अर्थमन्त्री शर्माले जेठ १५ गते बजेट भाषण गर्दा सेनेटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार शुल्क छुटको घोषणा गरे ।

यसबाट विशाल ग्रुपले बिना कुनै कर वार्षिक १ अर्बको सेनेटरी प्याड सहजै बिक्रि गर्ने भएको छ । यसका लागि विशाल ग्रुपले प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई पनि ‘अनसीन’ पार्टनर बनाएको छ । यसका लागि जयवीरले आफ्नी आमा आरजु राणामार्फत प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ र अर्थमन्त्री जनार्दन शर्मासँग कुरा गरेका थिए ।

बजेटमार्फत आफू अनुकुलको घोषणा गराउन सफल भएपछि जयवीरले जेठ १६ गते राती राज्यमन्त्री उमेश श्रेष्ठको सानेपास्थित घरमा अर्थमन्त्री शर्मा, राज्यमन्त्री श्रेष्ठ र विशाल ग्रुप सम्वद्ध पक्षलाई ‘ककटेल’ पार्टी दिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved