डोजरको अत्याशलाग्दो कथा !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2022 | 01:45:27 PM मा प्रकाशित

laxmi  sunrise bank

२०७४ सालमा स्थानीय तहको निर्वाचन भएपछि स्थानीय सरकारका प्रमुख तथा वडाध्यक्षहरुको पहिलो प्राथमिकतामा ‘डोजर’ पर्यो । डोजरले डाँडा भत्काउने खालको विकासे एजेण्डा त पर्यो नै, साथमा  आफैँ डोजर किनेर मालिक बन्ने होडबाजीले मुलुकको खर्बौ रकम बाहिरियो ।

पछिल्लो ५ वर्ष डोजर सहितका ‘हेभी इक्वीपमेन्ट’को आयात बढ्दा त्यसको असर हाल तरलता र विदेशी मुद्राको सञ्चितीमा परेको प्रष्ट हुन्छ । डोजर आयातको अत्याशलाग्दो तथ्यांकले पनि यसको पुष्टि गरेको छ ।

कुन वर्ष कति भित्रिए ?

चालु आर्थिक वर्ष २०७८/०७९ को ११ महिना (जेठ मसान्तसम्म) मा साढे १० अर्ब बढीका डोजर तथा एक्जाभेटर खरिद गरिएका छन् । चालु आर्थिक वर्षको जेठ सम्ममा ५ अर्ब ७८ करोड ३४ लाख १७ हजार मूल्य बराबरका एक्जाभेटर र ४ अर्ब ७९ करोड १३ लाख ८० हजारका बुलडोजर गरी १० अर्ब ५७ करोड ४७ लाख ९७ हजार मूल्यका बुलडोजर र एक्जाभेटर नेपाल भित्रिएका छन् । 

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि अपवाद बाहेकका वडाध्यक्षहरु डोजर मालिक भए । उपभोक्ता समितिमा आफ्ना मान्छे राख्ने र आफ्नै नातेदारको नाममा खरिद गरिएको डोजर प्रयोगमा लगाएर वडाबाट विनियोजन भएको बजेट आफैँ कुम्ल्याउने ध्याउन्नमा जनप्रतिनिधि लाग्दा कुनै पनि वैज्ञानिक स्टेमेट बिना डाँडाकाँडा भत्काउने काम भईरहेका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार संघियता कार्यान्वय गर्ने नेपालको संविधान २०७२ जारी हुनुभन्दा अगाडीसम्म डोजर तथा एक्जाभेटरको आयात सामान्य थियो तर, संघियता कार्यान्वयन सुरु भएपछि डोजरको आयातमा अस्वभाविक रुपमा वृद्धि भएको छ ।

संविधान जारी भएको अघिल्लो वर्ष अर्थात् आर्थिक वर्ष २०७१/०७२ मा ४ अर्ब ६४ करोड ९० हजार रुपैयाँका डोजर आयात भएकोमा संविधान जारी भएको वर्ष अर्थात् आर्थिक वर्ष २०७२/०७३ मा ह्वात्तै बढेर ९ अर्ब ८४ करोड ५८ लाखका बुलडोजर तथा एक्जाभेटर भित्रिए ।

स्थानीय तह निर्वाचनको सुरसार भएपछि आर्थिक वर्ष २०७३/०७४ मा बुलडोजर र एक्जाभेटर आयत वापत मात्रै १८ अर्ब २२ करोड ८१ लाख ८० हजार रुपैयाँ विदेशियो । 

स्थानीय तह निर्वाचन भएको वर्ष हाल सम्मकै सबैभन्दा धेरै डोजर आयात भएका छन् । आर्थिक वर्ष २०७४/०७५ मा मात्रै २९ अर्ब ९५ करोड २४ लाख ३१ हजार रुपैयाँ रकम डोजर किनेरै बाहिरियो ।

तर, भन्सार विभागको तथ्यांक अनुसार त्यसपछिको वर्ष भने डोजर तथा एक्जाभेटरको आयातमा एकाएक झण्डै आधाले गिरावट आयो । आर्थिक वर्ष २०७५/०७६ मा १५ अर्ब ५ करोड ७८ लाख ७७ हजार रुपैयाँको डोजर तथा एक्जाभेटर भित्रिए ।

आर्थिक वर्ष २०७६/०७७ मा भने विभिन्न कारणले डोजर आयातमा गिरावट आयो । २०७६ माघबाट कोरोना फैलन सुरु गरेपछि चैतबाट नेपालमा पनि लकडाउन सुरु भयो । त्यसकारण आर्थिक वर्ष २०७६/०७७ मा ८ अर्ब ३० करोड २३ लाख १४ हजारको मात्रै डोजर आयात भयो ।

गत आर्थिक वर्ष २०७७/०७८ मा भने आर्थिक वर्ष २०७६/०७७ को तुलनामा डोजरको आयात बढ्यो । आर्थिक वर्ष २०७७/०७८ मा ११ अर्ब ७६ करोड ५० लाख ६६ हजारको डोजर तथा एक्जाभेटर आयात भएको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा नै बुलडोजर र एक्जाभेटर आयातवापत १० अर्ब ५७ करोड ४७ लाख रुपैयाँ बाहिरिसकेको छ ।

मुलुक विकासको चरणमा रहेको भन्दै सरकारले डोजरको आयातमा ४ प्रतिशत मात्रै कर लगाउने गरेको छ । जसका कारण स्थानीय तह निर्वाचन भएको वर्ष अर्थात् आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म ७५ अर्ब ६५ करोड २४ लाखको त डोजर मात्रै भित्रिएको छ ।

स्पेयर पार्टस्, बकेट, लुब्रिकेन्टस् र दाँत जस्ता अन्य पार्टस्पुर्जाहरु आयात गर्दा बाहिरिने नेपाली रुपैयाँ यस तथ्यांकमा समावेश छैन । यी सबै बस्तु आयात वापत बाहिरिएको रकम जोड्दा २०७४ सालको स्थानीय निर्वाचनपछि हालसम्म डोजर र डोजरका सामान खरिद वापत मात्रै १ खर्ब बढी रकम विदेशिएको छ । 

कति छन् डोजर ?

डोजर कति छन् भन्ने यकिन तथ्यांक नियामक निकाय यातायात व्यवस्था विभागसँगै पनि छैन । तर, आर्थिक वर्ष २०७७/०७८ सम्म ९२ हजारको संख्यामा रहेका डोजरहरु पछिल्लो १ वर्षमा १ हजार जति थपिएको हुन सक्ने अनुमान छ ।

हेभी इक्वीपमेन्ट व्यवसायी महासंघका निवर्तमान अध्यक्ष ताराबहादुर कुँबर क्षेत्री भने अब पनि डोजरको आयात यसरी नै बढिरहने हो भन मुलुकले धान्न नसक्ने बताउँछन् । अहिले भईरहेका डोजरलाई नै व्यवस्थित गरेर चलाउनुपर्ने भन्दै उनले अब डोजर तथा एक्जाभेटरको आयात रोक्नुपर्ने बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved