इन–ड्राइभरः चोरी र अपहरणपछि नाइजेरियामा प्रतिबन्ध, मेक्सिकोमा राइडरलाई नै जरिवाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2022 | 09:09:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा अवैध रुपमा ब्यापारिक धन्दा चलाईरहेको ‘इन–ड्राइभर’ एपबाट विभिन्न देशमा चोरी र अपहरणका घटना भएको खुलेको छ । ४४ देशका ६४६ शहरमा विस्तार भएर सेवा दिँदै आएको दाबी गरेर वेवसाइटमा विवरण राखेको इन–ड्राइभरबाट चोरी र मानव अपहरणका घटना भएपछि विभिन्न देशले उक्त राइड सेयरिङ एपलाई बन्देज लगाएको र राइडरलाई कारबाही समेत गरेको भेटिएको छ ।

नाइजेरियामा चोरी र अपहरण

आफ्नो सेवा विस्तार गरेका सबै देशमा शून्य कमिशनमा काम गरिरहेको उल्लेख गर्ने इन–ड्राइभरको आम्दानीको स्रोत के हो भन्ने खुलेको छैन । 

यो एप नाइजेरियामा सन् २०१९ देखि चलेको थियो । तर, त्यहाँ प्रयोगकर्ताबाट चोरी, डकैती र राइडर (चालक)बाट मानव अपहरणका घटना भएपछि नाइजेरियाले यो राइड सेयरिङ एप्सलाई बन्देज लगाएको छ ।

प्रविधि सम्बन्धि गैर नाफामूलक अन्तराष्ट्रिय समाचार संस्था ‘रेस्ट अफ वर्लर्ड’का अनुसार व्यक्ति र सम्पत्तिको सुरक्षामा खतरा पैदा भएपछि नाइजेरियाले यो एप्सलाई बन्देज लगाएको छ । चोरी र अपहरणका घटना भएपछि यस सम्बन्धमा आवश्यक कारबाहीका लागि आफ्नो देशमा कार्यालय नभएको, आफ्नो देशमा दर्ता हुनुपर्नेमा दर्ता नभई चलेको भन्दै नाइजेरियाले यो सेवा बन्द गरेको थियो ।

यो एप्सबाट सेवाग्राहीलाई सेवा दिने राइडर तथा प्रयोगकर्ताबाट लागूअषौधको ओसारपसार समेत हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सेवा बन्द गराईएको त्यहाँको यातायात मन्त्रालयले जनाएको ‘रेस्ट अफ वर्लर्डले उल्लेख गरेको छ ।

मेक्सिकोमा राइडरलाई जरिवाना

मेक्सिकोले पनि राइड सेयरिङ एप्स इन–ड्राइभरलाई बन्देज लगाएको छ । सुरुमा यो सेवा नचलाउन आदेश दिईएकोमा आदेश अटेर गरी चलाउने प्रत्येक राइडरहरुलाई सन् २०२१ को जनवरीमा मेक्सिको सरकारले नगद जरिवाना तिराएको थियो ।

यसअघिः
खुलेयाम अवैध धन्दा चलाउँदै ‘इन–ड्राइभर’, जोखिममा यात्रु

अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार सन् २०२१ को जनवरीमा मेक्सिको सरकारले आदेश नमानी इन–ड्राइभर चलाउने प्रत्येक राइडरहरुलाई ३५ हजार पेजोस (आजको दिनमा २ लाख १५ हजार नेपाली रुपैयाँ) जरिवाना तिराएको थियो । हाल मेक्सिकोमा यो एप पूर्ण रुपमा प्रतिबन्धित छ ।

नेपालमा कसरी चल्दैछ ?

इन–ड्राइभरले नेपाली बजारमा कुनै पनि प्रक्रिया पूरा नगरी खुलेयाम ब्यापार गरिरहेको छ । नेपालमा विदेशी कम्पनी सञ्चलान, विदेशी लगानी ल्याउने प्रक्रिया लगायतका कुनै पनि कुरा पूरा नगरी केवल एपका भरमा इन–ड्राइभर चलिरहेको छ । 

ऐन, नियम तथा कार्यविधिकै अभावका बीचमा पनि राइड सेयरिङ कम्पनीहरु कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर चल्न पाउने अवस्था छ । तर, इन–ड्राइभर नाम गरेको वा इन–ड्राइभरमार्फत राइड सेयरिङ सेवा दिने गरी कुनै पनि कम्पनी हालसम्म कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको छैन । एकातिर कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता छैन भने अर्कोतिर विदेशी लगानी ल्याउने प्रक्रिया पनि पूरा गरेको छैन । विदेशी लगानी ल्याउन लगानी बोर्डबाट स्वीकृति लिनुपर्छ । तर, यसका लागि कसैबाट निवेदन समेत लगानी बोर्डमा गएको छैन ।

इन–ड्राइभर नामको राइड सेयरिङ एप नेपालमा कहिलेदेखि सुरु भयो भन्ने पनि कतै रेकर्ड छैन । खुलेयाम ब्यापार भईरहे पनि यसको सम्पर्क कार्यालय कहाँ छ कसैलाई पत्तो छैन । यतिसम्म की, इन–ड्राइभरको नेपालका लागि सम्पर्क व्यक्ति को हुन् भन्ने पनि कतै जानकारी छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved