छानबिन समितिमा जनार्दनको ‘३ घण्टे’ बयान, के के भने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2022 | 01:13:42 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले आज बिहान उनीसँग बयान लियो । बिहान ८ बजेपछि सुरु भएको बयान झण्डै ११ बजेसम्म चल्यो । 

३ घण्टा लामो समयसम्म बयान लिएका समिति सदस्यहरुले उनलाई निकै कसिला प्रश्नहरु सोधे । सुरुमा बजेट भाषणको अघिल्लो दिन जेठ १४ गते अनाधिृकत व्यक्तिको प्रवेशको विषयबाट बयान लिन सुरु गरेका समितिका सदस्यहरुले ‘सीसीटीभी फुटेज डिलेट गर्ने निर्देशन तपाईले नै दिएको हो भनेर किन नभन्ने ?’ सम्मका प्रश्नहरु गरे ।

शर्माले अर्थ मन्त्रालयमा बजेट निर्माणको काम भईरहेका बेला बाहिरी मान्छे पस्ने कुनै सम्भावना नै नरहेको र त्यो कल्पना नै गर्न नसकिने जिकिर गरे । 

‘त्यहाँ को भित्र पस्यो, को बाहिर निस्कियो भन्ने कुरा सजिलै थाहा हुनसक्छ । त्यहाँ सुरक्षाकर्मीहरु हुन्छन्, अरु मर्यादापलकहरु पजि हुन्छन्’ समितिमा बयान दिँदै शर्माले भनेका थिए, ‘बाहिरी मान्छे पस्ने सम्भावना नै हुँदैन । पसेको भए थाहा भईहाल्थ्यो नि ।’

सीसीटिभीक फुटेजका सन्दर्भमा पनि शर्माले फुटेज कति दिन रहन्छ, कहिलेसम्म रहन्छ भन्ने कुरा आफ्नो जानकारीमा हुने कुरा नभएको बताए । 

‘भिडियो कहिलेसम्म रहन्छ ? के हुन्छ ? त्यो मलाई केही थाहा थिएन, थाहा हुने कुरा पनि भएन’ शर्माले बयानका क्रममा भने ।

बयान दिएर बाहिरिँदा पनि जनार्दन शर्माले सञ्चारकर्मीहरुका अगाडी आफूले छानबिन समितिका सदस्यहरुले सोधका प्रश्नको जवाफ दिएको बताएका छन् । 

‘मैले उहाँहरूले सोधेका सबै कुराको जवाफ दिएको छु’ शर्माले पत्रकारहरुका अगाडी भने, ‘मैले हिजोदेखि जे भन्दै आएको छु, यहाँ पनि त्यहीँ भनेको छु । मैले जहाँ गएपनि भन्ने कुरा त्यहीँ नै हो , त्यो तपाईहरुले सुन्दै आउनु भएकै छ ।’

समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले पनि शर्माले यसअघि संसदमा बोलेकै कुराहरु दोहोर्याएको बताएका छन् । 

समितिको म्याद थप गर्न माग

बजेट निर्माण गर्दा आधिकारिक व्यक्तिबोहक अनाधिकृत विचौलियालाई छिराएर करका दरहरु हेरफेर गरेको आरोपपछि शर्मामाथि छानबिन गर्न समिति बनाईएको थियो । ११ सदस्यीय समिति बनेकै दिन उनले राजीनामा दिएका थिए । 

१० दिनमा छानबिन प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश पाएको छानबिन समितिले स्पष्ट ‘क्लु’ अझै भेटाएको छैन । केही काम अझै बाँकी रहेपछि म्याद थपको तयारी भएको छ । समितिले सिसिटिभी फुटेज नपाएपछि डिलेट भएको भनिएको फुटेज रिकभर गर्न प्रहरीलाई पठाएको छ । 

आज बसेको समितिको बैठकले ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरिसकेको छ । 

समितिले यसअघि अर्थसचिव मधु मरासिनीसहित अर्थका अन्य अधिकारीसँग पनि बयान लिईसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved