‘म गोल्ड मेडलिस्ट हुँ, भविष्यमा मुख्यसचिव हुन्छु’ भन्थे २२ लाख घुससहित पक्राउ परेका उपसचिव

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 03, 2022 | 09:14:38 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार साढे २२ लाख घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल आफू जत्तिको अब्बल कोही छैन भन्ने घमण्ड पाल्थे । उनले सधैँजसो आफ्नो पढाईमा घमण्ड गरिरहन्थे ।

नगरुन् पनि किन ? उनी त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्दाका ‘गोल्ड मेडलिस्ट’ हुन् । सरकारी सेवामा प्रवेश गरेपछि पनि उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर पाए । बेलायतमा अध्ययन सकेर उनी नेपाल फर्किएको ८ महिना मात्रै भएको छ । 

छात्रवृत्तिमा विदेशमा पढेर फर्किएपछि पाल्पाका उनी पर्यटन मन्त्रालयमा काम गर्न थालेका थिए । तर, ८ महिनामै साढे २२ लाख घुससहित अख्तियारको फन्दामा परे ।

पर्यटन व्यवसाय (प्याराग्लाइडिङ) को अनुमतिका लागि उपसचिव नेपालले घुस लिएका थिए । घुस लिने गरी तयारी गरिरहेको संकेत पाएपछि अख्तियारको टोलीले उनलाई पछ्याईरहेको थियो । नभन्दै, नेपालले नागपोखरीस्थित होटल अरण्यमा पुगेर व्यवसायीसँग घुस लिए । 

६ लाख घुस, १६ लाख बिना स्रोतको

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनको साथमा भेटिएको साढे २२ लाखमध्ये ६ लाख साथबाटै र बाँकी साढे १६ लाख गाडीमा भेटिएको हो । 

‘उहाँलाई हामी अख्तियारबाट हौँ भनेर खानतलासी गर्दा साथबाटै ६ लाख रुपैयाँ भेटियो, सरकारी गाडीमै उहाँ त्यहाँ पुग्नु भएको रहेछ, सरकारी गाडी भएकाले त्यहाँ पनि टोलीले खानतलास गर्यो, त्यसक्रममा थप १६ लाख भेटियो’ भण्डारीले भने, ‘६ लाख चाहिँ त्यति नै खेर उहाँले लिएको घुस थियो । गाडीमा फेला परेको साढे १६ लाखको सम्बन्धमा पनि हाम्रो टोलीले यो पैसा कसको हो, कहाँबाट अयो भनेर सोधखोज गर्यो । उहाँले भन्न सक्नु भएन, त्यसको पनि कुनै स्रोत नखुलेपछि उक्त रकम पनि बरामद गर्यौ ।’

मन्त्रालयमा दबदबा थियो नेपालको

विदेशमा अध्ययन सकेर ८ महिना अघि नेपाल फर्किएर पर्यटन मन्त्रालयमा हाँजिर गरेदेखि नै उपसचिव नेपालको ‘रवाफ’ छुट्टै थियो भन्छन् मन्त्रालयका अरु कर्मचारीहरु । यतिसम्म कि उनले आफूलाई ‘भावी मुख्यसचिव’ सोचिसकेका थिए । बेला बेला भन्थे पनि ।

‘जुनियर कर्मचारीहरुसँग पनि कहिलेकहीँ भनेको सुनिन्थ्यो, उहाँको शाखा नै हवाई उद्योग तथा अन्तराष्ट्रिय सम्बन्ध शाखा हो’ मन्त्रालयका कर्मचारी भन्छन्, ‘हवाई शाखा भएकाले हवाई सम्बन्धि व्यवसायीहरु सिँधै ठोकिन्थे । त्यतिबेला कहिलेकहीँ उहाँले म यो देशको भविष्यको मुख्यसचिव हुँ, म विदेशमा पढेर आएको मान्छे हुँ, के सोच्या छ भनेर भनेको सुनिन्थ्यो ।’

यति मात्रै नभई उनले पाल्पाका पूर्व सांसद हरि नेपालको ‘साख्यै’ भतिज हुँ भनेर पनि गफ लगाउने गरेका थिए । 

प्याराग्लाइडिङ व्यवसायी कसरी ठोकिए ?

प्याराग्लाइडिङ हवाई उड्डयन प्रकृतिको साहसिक खेल हो । त्यसैले यसको अनुमति नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लिनुपर्छ । 

तर, तालुक मन्त्रालयबाट पनि सहमति चाहिने भएकाले मन्त्रालयको नागरिक उड्डयन महाशाखामा व्यवसायीले सैद्धान्तिक सहमति माग गरेर निवेदन दिनुपर्छ ।

नागरिक उड्डयन महाशाखाको प्रमुख सह–सचिव बुद्धिसागर लामिछाने छन् । तर, यो महाशाखामा उपसचिव प्रमोद नेपाल अप्रत्यक्ष रुपमा हाबी थिए भन्ने दाबी स्रोतको छ । उपसचिव नेपालले  नै प्याराग्लाइडिङ व्यवसायका लागि ‘उडान योग्यता अनुमतिपत्र’ जारी गरिदिनुपर्ने भएकाले यसका लागि उनले व्यवसायीसँग घुस लिएका हुन् ।

अख्तियारले बुधबार विशेष अदालतमा पेश गरेर म्याद थप गरी अनुसन्धान सुरु गर्ने जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved