सिमित व्यवसायिक घरानाले 'कब्जा जमाउंदै' उद्योग वाणिज्य महासंघ (सेटिङको फेहरिस्तसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 04, 2022 | 08:29:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ साधारणसभा २८–२९ चैत २०७९ मा हुँदैछ । यसपाली सिमित व्यवसायिक घरानाले उद्योग वाणिज्य महासंघमा दीर्घकालसम्म नेतृत्व हत्याईरहने सेटिङ थालेको छ ।

११–१३ मंसिर २०७७ मा भएको महासंघको ५४औँ साधारणसभा तथा निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका चन्द्र ढकाल महासंघको विधान अनुसार स्वतः अध्यक्ष बन्दैछन् । तर, उनीपछि महासंघको अध्यक्षमा सिमित व्यवसायिक घरानाको एकाधिकार कसरी कायम गर्न सकिन्छ भनेर अहिले सिंगो घराना छलफलमा छ।

यस्तो छ सेटिङ

महासंघमा यसअघि रहेका ११ सय जति एसोसियट्स सदस्यमा अहिले ७ सय सदस्य थप गरेर १८ सय बनाईएको छ । थपिएका झण्डै ७ सय सदस्यमध्ये ५ सय जति एसोसियट्स उपाध्यक्ष रामचन्द्र सांघाई र अब एसोसियट्स उपाध्यक्षको उम्मेदवार बन्ने तयारी गरेका साहिल अग्रवाल मिलेर थपेका छन् ।

थपिएका बाँकी २ सय जति सदस्यहरुमा बस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठका केही छन् भने पूर्व अध्यक्ष चण्डीराज ढकाल निकट पनि अलिअलि छन् । 

‘११ सय जतिमा ५ सय जतिले मात्रै आफैँ नवीकरण गर्थे, बाँकी ६/७ सयको पनि चुनावको मुखमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार र एसोसियट उपाध्यक्षका उम्मेदवारले रि–न्यू गरिदिन्थे’ स्रोतले भन्यो । 

अहिले त नयाँ सदस्य थप्ने मात्रै नभई, अब महासंघको अध्यक्षको उम्मेदवार हुने लाइनमा सिमित व्यवसायिक घरानाका व्यक्ति मात्रै रहने गरी सेटिङ मिलाइँदैछ । यसका लागि हालका अध्यक्ष शेखर गोल्छा नै भित्रभित्रै सक्रिय भएर लागेका छन् ।

‘वरिष्ठ उपाध्यक्षमा ३ जना भिडाएर रामचन्द्र सांघाईलाई जिताउने र बस्तुगत उपाध्यक्ष र एसोसियट उपाध्यक्षमा पनि सिमित व्यवसायिक घरानाकै व्यक्तिलाई ल्याएर श्रृङ्खलावद्ध रुपमा महासंघको अध्यक्ष बनाउने सेटिङ देखिएको छ’ स्रोत भन्छ, ‘अब महासंघ सिमित व्यवसायिक घरानाबाट मात्रै चलाउने भित्रि सेटिङ छ ।’ 

स्रोतको दाबीलाई पुष्टि गर्ने गरी आन्तरिक तयारी भएको पनि देखिन थालेको छ ।

‘एसोसियट्सको भोट सिमित व्यवसायिक घरानाको हातमा हुने नै भईहाल्यो, पहिलाको ११ सयमा पनि उनीहरुकै बढी थियो । अहिले त झन एक्लैले ५ सय थपेका छन्’ स्रोतले अझै स्पष्ट पार्दै भनेको छ, ‘यसरी ३० प्रतिशत मतभार रहेको एसोसियट एकलौटी बनाउने र ५० प्रतिशत मतभार रहेको जिल्ला नगरलाई किनेरै आफ्नो बनाउँछु भन्ने तयारीमा उनीहरु छन् ।’

यी सिमित व्यवसायिक घरानालाई जिताउने खेल

महासंघमा सबैभन्दा चतुर खेलाडीका रुपमा चिनिने पूर्व अध्यक्ष चण्डीराज ढकाल यसपाली उमेशलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्ष हुनुपर्छ भनेर लागेका छन् । महासंघमा अब ‘हस् र हुन्छ’ मात्रै भन्ने नेतृत्व नचाहिएको र अहिले आर्थिक क्षेत्र कठिन अवस्थामा रहेको बेला सरकारसामू ‘निजी क्षेत्रका कुरा निर्धक्क’ राख्न सक्ने व्यक्ति चाहिएको भन्दै उनी उमेशलाललाई जिताउनुपर्ने बताउन थालिसकेका छन् ।

तर, सिमित व्यवसायिक घरानाले अबको कम्तीमा ९ देखि १२ वर्ष सम्मका लागि आफ्नै घरानाका व्यक्ति मात्रै महासंघको नेतृत्वमा पुग्न सक्ने र अन्य उद्योगी व्यवसायीहरु उम्मेदवार नै हुन नसक्ने गरी भित्रभित्रै तयारी थालेको दाबी गर्न थालिएको छ ।

‘अलग अलग टिमबाट पनि सिमित व्यवसायिक घराना मात्रै जित्ने गरी तयारी भईरहेको हामीले बुझेका छौँ’ स्रोत दाबी गर्छ, ‘वरिष्ठमा उमेशलाल, अन्जन र दिनेशलाल ३ जनालाई नै हराएर रामचन्द्र सांघाईलाई जिताउने, बस्तुगतमा चण्डीराजकै भाई हेमराज र महेश प्रधानका छोरा मनिषलाई हराएर सन्दीप गाडियालाई जिताउने र एसोसियटमा भरत आचार्यलाई हराएर साहिल अग्रवाललाई जिताउने खेल सुरु भएको छ । अनि रामचन्द्रपछि पालैपालो साहिल र सन्दीपलाई वरिष्ठ हुँदै अध्यक्ष बनाउने प्रपञ्च रचिएको छ । यति मात्रै होइन, कोषाध्यक्षसमेत यहि घरानाकै बनाएर वरिष्ठ उपाध्यक्ष, २ जना उपाध्यक्ष र कोषाध्यक्ष गरी पदाधिकारीमै ४ जना सिमित व्यवसायिक घरानाका व्यक्ति राखेर चन्द्र ढकाललाई असफल अध्यक्षको बिल्ला भिराएर आउट गराउने रणनीति सिमित व्यवसायिक घरानाले बुनेका छन् ।’

तर, तत्कालै जिल्ला नगरको उपाध्यक्ष सिमित व्यवसायिक घरानाबाट हुने अवस्था छैन । 

‘जिल्ला नगरको उपाध्यक्षमा पनि कतै आफ्ना मान्छे छन् कि भनेर खोजी त गरेका छन्, तर भेटेका छैनन्’ स्रोतले भन्यो ।

यसअघिः

महासंघमा चुनाव लाग्योः वरिष्ठ उपाध्यक्षमा ४ जना आकांक्षी, कसलाई कसको समर्थन ?

महासंघ निर्वाचनः ३ उपाध्यक्षका लागि १३ जना दाबेदार (नामसहित)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved