नेपालमा नयाँ स्टक एक्सचेन्ज खोल्न मुम्बईमा 'डिल', चल्तीकै व्यवसायीक घरानालाई दिने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2022 | 11:10:10 AM मा प्रकाशित

laxmi  sunrise bank

बजारमा नयाँ स्टक एक्सचेन्ज आउने चर्चा चुलिएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश गराएको आरोप लागेपछि राजीनामा दिएका शर्मा छानविन समितिको अध्ययनले चोखिएपछि पुनः अर्थमन्त्रालयको जिम्मेवारीमा छन् । उनलाई अन्य वित्तीय लाइसेन्ससँगै नयाँ स्टक एक्सचेन्जलाई पनि लाइसेन्स दिने प्रयोजनका निम्ति अर्थमन्त्रालय फर्काइएको चर्चा चुलिएको हो । 

तर यसको योजना २०६५ मै बनेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को पहिलोपटक प्रधानमन्त्री हुँदा नै नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रयास भएको थियो । त्यतिबेलाका अर्थमन्त्री डा. बाबुराम भट्टराई थिए भने नेपाल धितोपत्र बोर्डका अध्यक्षमा सुरवीर पौडेल थिए । 

आज प्रचण्ड र बाबुराम अलग अलग ध्रुवमा उभिएका छन् र उनीहरुले फरक फरक राजनीतिक लक्ष्य तोकेका छन् । तर त्यतिबेला उनीहरुले देखेको एउटा सपना अर्थात नेपालको सेयर बजारमा 'नयाँ स्टक एक्सचेन्ज' को सपना भने पुरा हुने तयारीमा छ । 

सुरवीर पौडेल आफू अध्यक्ष हुँदा नयाँ स्टक एक्सचेन्जको लागि आवेदन खुलाएका मात्र थिएनन्, यसको संचालन गर्ने तरिका सिक्नलाई भारतको शेयरबजारको नियामक निकाय सेबीको भ्रमण पनि गरेका थिए । 

झन्डै १४ वर्षपछि पौडेलको सपना बोकेर अहिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले गत महिना मात्रै भारतको मुम्बइस्थित सेबी भ्रमण गरेका छन् । हमालको नेतृत्वमा बोर्डका का.मु. कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, उप कार्यकारी निर्देशक कृष्णराज पोखरेल र का.मु. उप कार्यकारी निर्देशक नारायण प्रसाद शर्मा भ्रमण टोलीमा थिए। 

उक्त टीममा प्रधानमन्त्री पत्नी आरजु राणाकी नातामा बहिनी पर्ने दिव्या सिंह र एक व्यवसायी पनि साथमा भएको खुल्न आएको छ । अध्यक्ष हमालसहितको उक्त टोली मुम्बईको ताज महल प्यालेस होटलमा  बसेको र त्यसको सम्पूर्ण बिलको भरपाई समेत ति व्यवसायी आफैंले गरेको स्रोतको दाबी छ । 

'दिउँसो हामी मुम्बइस्थित सेबीको कार्यलयमा औपचारीक भेटघाटमा हुन्थ्यौं, अरु बेला अध्यक्ष हमाल कता हुनुहुन्थ्यो भन्ने हामीलाई थाहा हुँदैनथ्यो' सेबोन अध्यक्ष हमालसँगै मुम्बइ भ्रमणमा गएका एक व्यक्तिको भनाइ हो यो । 

नेपालको धितोपत्र बजारमा त्यस्तो विशेष केही नहुँदा पनि १४ बर्षपछिको बेमौसमी भ्रमण के का लागि र किन थियो भन्ने आम चासो रहेको छ । यो भ्रमण दीर्घकालीन योजनासहितको एउटा 'गुरु योजना' बनाउने भ्रमण भएको बताइएको छ । यद्यपि बोर्डले भने नेपालको धितोपत्र बोर्ड र भारतको सेबीबीच रणनीतिक साझेदारीको लागि भ्रमण भएको जनाएको छ । 

को मार्फत कुन व्यवसायीक घरानालाई नयाँ स्टक एक्सचेन्ज दिने भन्ने पहिल्यै कुरा जनार्दन शर्मा अर्थमन्त्री हुनु अगाडि नै तय भइसकेको स्रोतको दाबी छ । प्रतिस्थापन विधेयक र चालू आर्थिक वर्षको बजेटमा अर्थमन्त्री शर्माले नीतिगत निर्णयमार्फत करको दर हेरफेर गरेर फाइदा पुर्याएका सीमित व्यवसायीक घरानालाई हेर्दा पनि यसको पुष्टि हुन्छ  । 

'यस अगाडि नयाँ स्टक एक्सचेन्जको लागि आवेदन दिएका बीमा र फाइनान्स कम्पनी, हिमालयन स्टक एक्सचेञ्ज, आईएमई तथा प्रभु समूहलाई पाखा लगाएर सबै राजनीतिक दलहरु र तिनका अध्यक्षलाई विश्वासमा लिएर नेपालको अर्थतन्त्रमा उदाउँदो व्यवसायी बनेका व्यवसायिक घरानालाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने कुरा जनार्दन अर्थमन्त्री हुनु अगाडि तय थियो,' स्रोतको दाबी छ । 

नयाँ स्टक एक्सचेन्ज दिने तयारी पहिल्यै तय भए अहिले नै मुम्बइ भ्रमण किन भन्ने प्रश्नमा स्रोतले भन्यो, 'नयाँ ल्याउने भनिएपनि यसको संचालन कसरी गर्न सकिन्छ भन्ने महत्त्वपूर्ण कुरा हो । दुईवटा स्टक एक्सचेन्ज हुँदा भएका सेयर ब्रोकरको व्यवस्थापन, भएका र आउने सुचिकृत कम्पनीको व्यवस्थापन, दुवैतर्फ सुचिकृत हुँदा त्यसको कार्यान्वयन, एकै डिम्याटले दुवैतर्फको स्टकमा कारोबार गर्न सकिने मोडालिटी लगायतका धेरै प्राविधिक बिषयको जानकारीका लागि यो भ्रमण हो ।' 

उनकाअनुसार नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारी भएर नै अहिले नयाँ ब्रोकर लाइसेन्स ल्याउने तयारीमा रहेको नेप्सेको अधिकारलाई कटौती गरेर नियमावली संसोधन गरेर अर्थमन्त्रालय पुर्याइएको हो । 

यसरी अहिले तत्काललाई नयाँ ब्रोकर लाइसेन्स आउने बाटो बन्द हुने र पछि नयाँ स्टक एक्सचेन्ज आएपछि नयाँ र अहिलेको नेप्सेमा 'फिट' हुने मोडालिटीमा थप ब्रोकर लाइसेन्स ल्याउँदा 'चिची पनि पापा पनि' हुने अवस्था सिर्जना हुन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved