ब्यापारी दीपक मल्होत्राले ‘प्लटिङ’ गर्न कसरी पाए चिया बगानको जग्गा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2022 | 02:05:03 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यवसायी दीपक मल्होत्राले राजनीतिक पावर लगाएपछि झापाको गिरिबन्धु टी–स्टेटले हदबन्दी छुटको जग्गा सट्टापट्टाको स्वीकृति पाएको खुलेको छ । 

हदबन्दी भन्दा बढीको जग्गा सट्टापट्टा गर्न कानुनले नै रोकेको भएपनि मल्होत्राले राजनीतिक शक्तिको आडमा गिरिबन्धुको जग्गा ‘रियल स्टेट’मा प्रयोग गर्ने गरी सट्टापट्टाको स्वीकृति पाएको खुलेको हो । 

कति छ जग्गा ?

गिरिबन्धु टी–स्टेटले व्यवसायी मल्होत्राकै योजनामा हदबन्दी छुटको जग्गा सट्टापट्टाका लागि पटक पटक निवेदन दिएको थियो । तर, सफल भईसकेको थिएन । पछिल्लोपल्ट १९ पौष २०७७ मा र १४ माघ २०७७ मा पनि उसले निवेदन दियो । 

त्यसपछि तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले १३ बैशाख २०७८ मा गिरिबन्धुको हदबन्दी छुटको ३४३ बिघा १९ कट्ठा १२ धुर जग्गा सट्टापट्टा गर्न अनुमति दियो । 

सट्टापट्टाको अनुमति पाएसँगै उब्जनी नहुने र काम नलाग्ने कुनै ठाउँको जग्गा चिया बगानको ३४३ बिघा १९ कट्ठा १२ धुरसँग साटेर उक्त जग्गालाई प्लटिङ गरेर बेच्न वा त्यहाँ ‘ब्यापारिक कम्प्लेक्स’ बनाएर भाडामा लगाएर कमाउन मल्होत्रालाई बाटो खुलेको हो । 

‘धेरै अगाडीदेखि नै त्यहाँको जग्गा सट्टापट्टा गरेर त्यहाँको जमिनलाई रियलस्टेटमा प्रयोग गर्न खोजिरहेका थिए’ स्रोत भन्छ, ‘अब त्यो जग्गा प्लटिङ भएको देखियो भने अचम्म नमान्दा हुन्छ ।’

मन्त्रिपरिषदले गरेको निर्णयमा के छ ? 

१३ बैशाख २०७८ मा ओली नेतृत्वको मन्त्रिपरिषदले गरेको निर्णयः

‘झापा जिल्ला साविक अनामनी गाविस–१ हाल बिर्तामोड नगरपालिका–६ मा रहेको गिरिबन्धु टी–स्टेट प्रा.लि. हाल सञ्चालनमा रहेको स्थानबाट भूमिसम्बन्धी ऐन २०२१, भू–उपयोग ऐन २०७६, भूमिसम्बन्धी नियमहरू २०२१ तथा जग्गाको हदबन्दी छुट दिनेसम्बन्धी आदेश २०७४ ले तोकेको सर्त र अधिनमा रही प्रदेश १ भित्र अन्य स्थानमा स्थानान्तरण गर्न हाल कम्पनीको स्वामित्वमा रहेको क्षेत्रफल ३४३–१९–१२ बिघा जग्गा भूमिसम्बन्धी ऐन २०२१ को दफा १२ ग को प्रतिबन्धात्मक वाक्यांशको खण्ड २  र भूमिसम्बन्धी नियमहरू २०२१ को नियम १६ क को उपनियम ६ अनुसार देहायका सर्त तोकी सट्टापट्टाको स्वीकृति दिने गरी नेपाल सरकारले २०७८ वैशाख १३ मा निर्णय गरेको व्यहोरा जानकारी गराइन्छ । 

सर्तहरूः

१. जग्गा सट्टापट्टा गर्दा साविकको क्षेत्रफल बराबरको जग्गा एकै पटकमा प्रचलित भूमिसम्बन्धी ऐन, भू–उपयोग ऐन, भूमिसम्बन्धी नियमहरू र जग्गाको हदबन्दी छुट दिनेसम्बन्धी आदेश २०७४ को प्रतिकूल नहुने र चिया उत्पादन नघट्ने गरी सट्टापट्टा गर्न सक्नेछ ।

२. जग्गा सट्टापट्टाको कार्य एकपटकमा गर्न नसकिने भए कम्पनीको स्वामित्वमा रहेको जग्गा कुल क्षेत्रको कम्तीमा १÷३ (एकतिहाइ) मा नघट्ने गरी कम्पनीले चाहेको तर्फबाट सट्टापट्टा गर्न सक्नेछ । सट्टापट्टापछि कम्पनीको नाममा कायम हुने जग्गा चिया उत्पादनका लागि उपयुक्त र एउटै स्थानमा हुनुपर्नेछ । 

३. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट मन्त्रिपरिषद्को निर्णयको जानकारी पाएको मितिले स्वीकृति पाएको क्षेत्रफल बराबरको जग्गा कम्पनीले एक वर्षभित्र सट्टापट्टा गरी कम्पनी स्थानान्तरण गर्नुपर्नेछ । कुनै विशेष वा असामान्य परिस्थिति सिर्जना भई निर्धारित समयावधिभित्र सट्टापट्टा गरी स्थानान्तरण कार्य सम्पन्न गर्न नसकी विभागमा निवेदन परेमा विभागको रायसहित सिफारिस भई आएमा आवश्यक र औचित्यको आधारमा मन्त्रालयले बढीमा ६ महिनाको अवधि थप गर्न सक्नेछ । 

४. कम्पनीको सट्टापट्टा गर्ने जग्गा यकिन भएपश्चात् सम्बन्धित भूमिसुधार तथा मालपोत कार्यालयमा देहायका कागजातहरू संलग्न राखी निवेदन दिनुपर्नेछः  

क) प्रस्तावित जग्गामा चिया खेती तथा कम्पनी सञ्चालन गर्न सम्बन्धित स्थानीय तहको सिफारिस  ख) जग्गा र जग्गाधनी विवरण  

ग) कम्पनीसँग जग्गा सट्टापट्टा गर्ने जग्गाधनीको मञ्जुरीनामा ।

के छ कानुनी प्रावधान ?

भूमिसम्बन्धी ऐन २०२१ को दफा १२ (ग) मा हदबन्दीभन्दा माथिको जग्गा बिक्रीवितरण वा सट्टापट्टा गर्न नपाईने प्रावधान छ । सोही दफाको (ख) मा हदबन्दीभन्दा बढी जग्गा प्राप्त गरेका उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना, शिक्षण संस्था वा अन्य कुनै पनि संस्थाले जुन प्रयोजनका लागि जग्गा प्राप्त गरेको हो, सोही प्रयोजनमा मात्रै प्रयोग गर्नुपर्ने व्यवस्था छ ।

तर, ऐन विपरित मल्होत्राले घर–घडेरीको व्यापार गर्न सक्ने गरी गिरिबन्धुको हदबन्दी छुटको जग्गा सट्टापट्टाको अनुमति दिईएको हो ।

यति मात्रै नभई, वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले त बजेटमै उद्योगहरूलाई हदबन्दीभन्दा बढीका जग्गा सट्टापट्टा गर्न दिने व्यवस्था गरिदिने घोषणा नै गरेको छ ।

यस सम्बन्धमा मल्होत्रासँग कुरा गर्न फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved