
सत्तारुढ
पाँचदलीय गठबन्धनको कार्यदलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास
बालुवाटारमा केही समय बसेको बैठकले ठोस निर्णय भने गरेन ।
कार्यदलका
सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले
बैठकमा सकारात्मक कुराकानी भएको,
सिट बाँडफाँडबारे
विभिन्न मोडालिटीमा छलफल भएको बताए । उनले चाँडोभन्दा चाँडो कार्यदललाई तोकिएको
जिम्मेवारी पूरा गर्ने बताए । ‘बैठक सकारात्मक भयो । विभिन्न मोडालिटीमा कुराकानी
भयो । चाँडै सिट बाँडफाँडको टुंगो लाग्छ,’
उनले भने ।
आगामी प्रदेश
र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडका लागि बनेको कार्यदलको आजको बैठकमा सबै
दलबाट प्रतिनिधित्व गरेका नेताले सिट बाँडफाँडका लागि पार्टीका आधार प्रस्तुत
गरेका थिए ।
कांग्रेस
नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको ११ सदस्यीय कार्यदलमा कांग्रेसबाट गगन थापा
र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । माओवादी केन्द्रबाट वर्षमान
पुन, जनार्दन शर्मा र देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव
र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य
छन् ।