‘गोल्ड मेडलिस्ट’ उपसचिव घुस प्रकरणमा एनआरएनएका पूर्व अध्यक्ष भट्टको कनेक्सन

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 01, 2022 | 09:54:28 AM मा प्रकाशित

laxmi  sunrise bank

६ लाख रुपैयाँ घुस र १६ लाख ५० हजार रुपैयाँ स्रोत नखुलेको रकमसहित समातिएका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीव्र अनुसन्धान थालेको छ ।

१७ साउनको अपरान्हमा मन्त्रालयका उप-सचिव नेपाललाई अख्तियारको टोलीले ६ लाख घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो ।

म्याग्दीमा प्याराग्लाइडिङ व्यवसाय सञ्चालनका लागि अनुमति माग गर्दा पर्यटन मन्त्रालयका कर्मचारीले पटक पटक घुस मागेपछि व्यवसायी पूर्ण चौलागाई र टेकबहादुर पुनले ‘यो मितिमा, यति बजेको समयमा, यो ठाउँमा, यो व्यक्तिलाई, यो कामका लागि घुस दिँदैछौँ’ भनेर अख्तियारको टोलीलाई पूर्व जानकारी गराएपछि उपसचिव नेपाल रंगेहात समातिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार अनुसन्धान जारी छ । अनुसन्धान सकेर चाँडै यथार्थ बाहिर ल्याउने प्रवक्ता भण्डारीको भनाई छ ।

बीबी एयरवेजका सीईओ पनि कठघरामा

६ लाख रुपैयाँ घुस उपसचिव नेपालले प्याराग्लाइडिङ व्यवसायी पूर्ण चौलागाई र टेकबहादुर पुनबाट लिएका थिए । तर नेपालको गाडीमा खानतलास गर्दा १६ लाख भेटिएको थियो । उक्त रकम पनि उपसचिव नेपालले घुसबापत नै लिएका हुन् भन्नेमा अख्तियारको टोली ढुक्क भएपनि कोबाट, के कामका लागि लिएको भन्ने जवाफ नेपालबाट पाएको थिएन ।

त्यसपछि घुस लेनदेन भएको स्थल नक्सालस्थित होटल अरण्यको उक्त दिनको सीसीटीभी फुटेज अख्तियारले झिकायो । उक्त सीसीटीभी फुटेजमा बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरिभक्त श्रेष्ठ देखिए ।

हरिभक्त सेतो गाडीमा चढेर उक्त होटल पुगेको देखिएको छ । उनले एउटा झोला समेत उपसचिव नेपाललाई दिएको देखिएको बताइन्छ । श्रेष्ठले आफूले उक्त रकम उपसचिव नेपाललाई सापटी दिएको भनेर बयानमै भनिसकेको दाबी अख्तियारको छ ।

किन जोडियो बीबी एयरवेज ?

बीबी एयरवेज गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष भवन भट्टको टीबीआई ग्रुपको लगानी भएको कम्पनी हो । हाल बन्द रहेको यो एयरलाइन्स पुनः सञ्चालनमा आउने तयारीमा छ ।

पर्यटन बोर्डको हलमा भएको एक कार्यक्रममा केही वर्ष अगाडी भवन भट्टले आफ्नो नाम भवनको बी र भट्टको बी जोडेर बीबी एयरवेज नाम राखिएको जस्तो देखिएको भएपनि यसको नाम आफूले भगवान बुद्ध भनेर परिकल्पना गरेको उल्लेख गरेका थिए । त्यतिबेला नै उनले उक्त हवाई कम्पनीको सेवा पुनः सुरु गर्ने दाबी गरेका थिए ।

तर सन् २००८ मा स्थापना भएर २०१२ बाट अपरेशनमा आएको भएपनि बीबी एयरवेज जम्मा ३ महिना मात्रै चलेर बन्द भयो ।

३ महिनामै टाट पल्टिएपछि बन्द गर्नु परेको थियो’ भवन भट्टले केही वर्ष अगाडी भनेका थिए ।

तर अहिले बीबी एयरवेज पुनः सञ्चालनमा आउने तयारी गरिरहेको छ । पुरानो बक्यौता समेत चूक्ता गरेर २०७८ फागुन १९ मै यसले सैद्धान्तिक सहमति पाइसकेको बताइन्छ । अहिले नागरिक उड्डयन प्राधिकरणसँग विदेशका गन्तव्यमा उडानका लागि अनुमति लिने प्रक्रिया सुरु गरेको छ ।

यसैको सिलसिलामा उपसचिव नेपाललाई बीबी एयरवेजका सीईओ हरिभक्तले घुस दिएको हुन सक्ने आशंका गरेर अख्तियारले अनुसन्धान गरिरहेको छ ।

सीईओ श्रेष्ठ तीनै व्यक्ति हुन्, जो तत्कालीन शाही नेपाल वायु सेवा निगम (हाल नेपाल एयरलाइन्स) को अध्यक्ष हुँदा लाउडा विमान प्रकरणमा ३९ करोड भ्रष्टाचार गरेको आरोपमा आज पनि मुद्दा खेपिरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved