जापानमा हुँदा नेपालको जग्गा गायब, फर्केपछि कोट-कचहरीको तनावमा भिमबहादुर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2022 | 02:20:32 PM मा प्रकाशित

laxmi  sunrise bank

रोजगारीको सिलसिलामा जापानमा रहेकै बखत ३ रोपनी भन्दा बढी जग्गा मालपोत कार्यालय स्याङ्जाले लापरवाहीपूर्वक अर्कैको नाममा देखाइदिएका कारण स्याङ्जा भीरकोट नगरपालिकाका भिमबहादुर थापा यतिबेला तनावमा छन् ।

थापाको दाबीअनुसार भिरकोट नगरपालिका - १ बस्ने धनकुमारी खत्रीले मालपोत कार्यालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर थापाको ३ रोपनी भन्दा बढी जग्गा आफ्नो नाममा देखाउन लगाई साना किसान सहकारी संस्थाबाट ७ लाख ऋण पनि निकालेर चलाइसकेकी छन् ।

२०७५ को फागुन २७ गते मालपोत कार्यालयले खत्रीको नाममा थापाको जग्गा कायम गरिदिँदा थापा जापान थिए । नेपालमा हुँदै नभएको व्यक्तिको जग्गा अर्कैको नाममा गरिदिएर मालपोत कार्यालयले यतिबेला थापालाई कोर्ट-कचहरी डुल्न बाध्य पारेको छ ।

सहकारीबाट ऋण निकालेर खाने नियतकै साथ धनकुमारीले मालपोत कार्यालयका हाकिमसहित कर्मचारीलाई आर्थिक प्रलोभन दिएर दार्सिङ दहथुमस्थित ४७७ नम्बरको कित्ताको ६ रोपनी भन्दा बढी जग्गामध्ये आफ्नो हकभोगमा रहेको आधा जग्गा धनकुमारीले आफ्नो नाममा गर्न लगाएको दाबी भिमबहादुरको छ ।

साना किसान सहकारी संस्थाका प्रमुख रामेश्वर पौडेलले धनकुमारीले लिएको ७ लाखको म्याद नाघिसक्दा पनि उनले पैसा नतिरेको जानकारी दिए ।

'उहाँ(धनकुमारी)ले म्याद नाघिसक्दा पनि १ लाख भन्दा दिनुभएको छैन,' पौडेलले भने, 'अर्कैको जग्गालाई आफ्नो नाममा बनाएर यहाँबाट ऋण लिएको भन्ने सुन्नमा आएको छ, तर हामीलाई जग्गा कसको नाममा थियो भन्ने कुराको मतलब भएन । हामीले ऋण दिनेबेलामा लालपूर्जा हेर्दा ४७७ कित्ता नम्बर धनकुमारीकै रहेको मालपोत कार्यालयले जारी गरेको लालपूर्जामा देखिएको थियो । त्यसैका आधारमा हामीले ऋण लगानी गर्यौं । त्यो ऋण फिर्ता नहुनेबेलासम्म रोक्का जग्गा फुकुवा गर्ने कुरा पनि भएन ।'



भिमबहादुरले २०५३ साल वैशाखमा धनकुमारीकै ४ दिदीबहिनीको संयुक्त नाममा रहेको ४७७ कित्ता नम्बरको ६ रोपनी भन्दा बढी जग्गामध्ये दुई दिदीबहिनीको नाममा कायम भएको आधा जग्गा डेढ लाखमा लिएको मालपोत कार्यालयको अभिलेखमा देखिन्छ ।

त्यतिबेला कित्ताकाट भएको थिएन । ४ दिदीबहिनीको संयुक्त अंश रहेको जग्गाको आधा जग्गा राजीनामा गरेर लिएको जग्गा अहिलेसम्म भिमबहादुरले नै भोगचलन गरिरहेका छन् ।

४ मध्ये दुई दिदीबहिनीले जग्गा भिमबहादुरलाई बेचेपछि बाँकी रहेको आधा जग्गा धनीमध्येकी अर्की बहिनीले बिहे गरेर भारत गएपछि धनकुमारीकै नाममा नामसारी गरिदिएकी थिइन् । नामसारीका क्रममा मालपोत कार्यालयले भिमबहादुरको जग्गा पनि २०७५ सालमा धनकुमारीकै नाममा गरिदियो ।

रोजगारीका सिलसिलामा जापान रहेका भिमबहादुर त्यसको २०७४ मा नेपाल आएर आफ्नो नाममा रहेको जग्गा रोक्का गरिदिन मालपोत कार्यालयलाई अनुरोधसमेत गरेका थिए । त्यतिबेला रोक्का गरिएको जग्गा त्यसको एक वर्षपछि भिमबहादुरकै अनुपस्थितिमा फुकुवा भएर पनि धनकुमारीको नाममा गयो ।


अहिले आफ्नो जग्गा फिर्ता गराउन यता उता हिंडिरहेका भिमबहादुर भन्छन्, 'मैले मेरो नाममा रहेको जग्गा यताउता होला कि भनेर २०७४ सालमै रोक्का गर्न लगाएको थिएँ । अहिले मालपोत कार्यालयका कर्मचारीहरूले ऋण नलिएकाले रोक्का जग्गा फुकुवा भएको भनेर हास्यास्पद जवाफ दिन्छन् ।'

भिमबहादुरले आफ्नो जग्गा फिर्ताका लागि जिल्ला अदालत स्याङ्जामा मुद्दासमेत दिएका छन् । डेढ वर्ष अघि मुद्दा दिएपनि अहिलेसम्म पेशीमा चढेको छैन ।

मालपोत कार्यालय स्याङ्जाका कर्मचारी महेश पराजुलीले रोक्काको पत्रमा प्रिन्टिङ मिस्टेक भएर समस्या आएको स्वीकारे । बिजपाटीसँगको संक्षिप्त कुराकानीमा पराजुलीले भने, '२०७५ सालको चैतमा सहकारीलाई पठाइएको रोक्काको पत्रमा हकहिस्सा मात्र रोक्का भन्नुपर्नेमा समग्र कित्ता नै रोक्का भन्ने शब्द परेको हो । त्यो हाम्रो प्रिन्टिङ मिस्टेक थियो । तर हकहिस्सा भने धनकुमारी र भिमबहादुरको संयुक्त आधा-आधा नै हो भन्ने प्रष्ट छ ।'

मालपोत कार्यालयले २०७८ साउन ११ मा लेखेको पत्रमा भनिएको छ, 'कित्ता नम्बर ४७७ को आधा हिस्सा भिमबहादुर थापाको भएको, निजले उक्त जग्गा कसैलाई कुनै व्यहोराले हक हस्तान्तरण गरी दिएको कैफियत टिपोटबाट नदेखिएको, यसकारण निजको आधा हकाहिस्साको स्वामित्व यथावत कायम रहेको ।'



मालपोत कार्यालयले उक्त कित्ताको आधा हकाहिस्सा भिमबहादुरकै नाममा कायम भएको भनेता पनि धनकुमारी भने यो तथ्य मान्न तयार छैनन् । उनी भिमबहादुरका नाममा जग्गाको आधा हिस्सा कित्ताकाट गर्न पनि तयार देखिन्नन् ।

मालपोत कार्यालयका प्रमुख शेषकान्त पौडेलले जग्गाको स्वामित्व हस्तान्तरण गर्न कुनै एक पक्ष भएपनि हुने तर कित्ताकाट गर्नुपर्ने हकमा दुवै पक्षको उपस्थिति अनिवार्य रहेको बताए । त्यही कारणले यसअघि जतिसुकै प्रयास गर्दा पनि भिमबहादुरले आधा हिस्सा जग्गा कित्ताकाट गर्न पाएनन् । धनकुमारी आधा हिस्सा जग्गा कित्ताकाट गरेर भिमबहादुरलाई दिन तयार छैनन् ।

बिजपाटीसँगको कुराकानीमा धनकुमारीले भनिन्, 'म पढेलेखेको मान्छे होइन । जमानामा भिमबहादुरले हामी चार दिदीबहिनीमध्ये एक जनाको हकहिस्साको जग्गा किनेको हो । अहिले पनि त्यही ४ मध्ये एउटा हिस्सा मात्र उनको हो । त्यो लिएर मान्ने भए कुरा मिल्छ, नत्र मेरो जग्गा किन कित्ताकाट गरेर दिनु मैले ?'



धनकुमारीले ४ मध्ये जम्मा एउटा हिस्सा भिमबहादुरको हकाहिस्साको रहेको दाबी गरिरहँदा मालपोत कार्यालयले भने आधा हिस्सा कायम रहेको बताउने गरेको हो ।

त्यतिबेला निकै कम मूल्य रहेको उक्त जग्गालाई अहिले करोडौं मूल्य पर्छ । त्यही करोडौंको लोभ जागेकै कारण धनकुमारीले पहिल्यै बेचिसकेको जग्गामा आफ्नो स्वामित्व रहेको दाबी गर्न छोडेकी छैनन् भने मालपोत कार्यालयले पनि बीचमा लापरवाही गरिदिएको थियो ।

उक्त लापरवाहीका कारण भिमबहादुर यतिबेला तनावमा देखिन्छन् । २०५३ सालमै लिएको जग्गामा अहिलेसम्म विवाद कायम रहँदा जग्गाको भोगचलन गरिरहेका भिमबहादुरलाई जग्गा नै गुम्ने हो कि भन्ने भन्ने चिन्ता छ । जिल्ला अदालतले पनि मुद्दाको छिनोफानो गर्न समय लगाएको छ ।

'डेढ वर्ष भइसक्यो,' भिमबहादुरले भने, 'दुख गरेर कमाएको पैसाले किनेको जग्गा म नेपालमा हुँदै नहुँदा अर्कैको नाममा गएर ऋण ल्याएर पनि खाइसके । अदालतले पनि छिटो छिनोफानो गरिदिए मेरो तनाव हट्थ्यो कि !'

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved