'डलर अर्बपति चौधरी'को उद्योगका सुरक्षा गार्डले पाएनन् तलब, गुनासो गरे निकालिन्छन्

ईश्वर अर्याल/बिजपाटी

ईश्वर अर्याल/बिजपाटी

Oct 31, 2022 | 05:19:08 PM मा प्रकाशित

laxmi  sunrise bank

भाइटिकाको दुई दिन अगाडि बिजपाटीकर्मी नवलपुरस्थित चौधरी ग्रुपको उद्योगमा पुग्दा गेटमा ड्युटी गरिरहेका २ जना सुरक्षा गार्ड निन्याउरो अनुहारमा भेटिए ।

चुनावी रिपोर्टिङका लागि विनोद चौधरी उम्मेदवार बनेको नवलपरासी १ पुगेर फर्किएका बिजपाटीकर्मी नवलपुरस्थित चौधरी ग्रुपको उद्योगलाई बाहिरबाट नियाल्ने प्रयोजनका निम्ति रोकिएका थिए । तिहारको रौनक शुरू भइसकेको थियो ।

चाडपर्वका बेलामा पनि गेटमा कर्तव्य जिम्मेवारी गरिरहेका सुरक्षा गार्ड निन्याउरो अनुहारमा हुनुले केही न केही संकेत गरिरहेको हुनुपर्छ भन्ने निष्कर्षका साथ बिजपाटीकर्मी गार्डको नजिकै गएर हालखबर सोध्न थाले ।

ती गार्डले शुरूमा केही कुरा खोल्न चाहेनन् । 'यहाँ काम गर्ने वातावरण कस्तो छ, चाडपर्व पनि आयो, छुट्टीमा घर जाने हो कि नाईं ?' बिजपाटीकर्मीले सोधेको प्रश्नको जवाफमा ती गार्डले भने, 'ठिकै छ । सिफ्टअनुसार काम गर्नुपर्छ, यो तिहारमा हामीले छुट्टी पाएनौं ।'

सामान्य चिनापर्चीपछि उनले भने, 'ए तपाईंहरू पत्रकार हुनुहुँदो रहेछ, हाम्रो नाम आयो भने यहाँ अप्ठेरो पर्छ ।'

त्यसपछि नजिकै अर्का सुरक्षा गार्ड आए । उनले केही बेर अघिदेखिको कुराकानी सुनिरहेका थिए । उनले सिधै मुख फोरिहाले, 'तलब नपाएको डेढ महिना भयो । तिहारमा छुट्टीमा घर गएर पनि के गर्नु, मनाउन पैसा छैन ?'

नाम खुलासा नगरिदिने आश्वासन पाएपछि दोस्रा सुरक्षा गार्डले थपे, 'हामीलाई हाम्रो ठेकेदार कम्पनीले डेढ महिनादेखि झुलाएर राखेको छ, पैसा माग्यो भने जागिर जान्छ । नभए अन्तै पठाइदिन्छ ।'

उनले आफूहरू कर्म सेक्युरिटीको भएको बताए । 'हामीलाई महिनाको २९ हजार पाउने भनेर काममा लगाइएको हो । तर सबै काटकुट गर्दा जम्मा २० हजार दिने गरेको थियो । त्यो पनि डेढ महिनादेखि बन्द छ ।'

उनले आफूहरू २० जनाको संख्यामा रहेको बताए । 'कसैले पनि तलब पाएको छैन । तिहार शुरू भइसक्यो । हामीलाई कम्पनीले पैसा नदिएको कुरा यो उद्योगको म्यानेजमेन्टलाई पनि थाहा छ । हाम्रो कुरा कसैले बुझ्दैनन्,' उनले भने ।

उनीहरूलाई एजेन्सीले दैनिक ८ घण्टा काम गर्ने भन्दै ल्याएको थियो तर दैनिक १२ घण्टा काम गर्नुपर्ने, नगरे जागिरबाट हात धुनुपर्ने धम्की दिने गरेको रहेछ ।

तर तलब र सेवासुविधा भने जम्मा ८ घण्टाकै दिने गरेको गुनासो उनीहरूको छ । तलब नपाएको कुरा बाहिर कसैलाई भने जागिर खाइदिने धम्की पाएका उनीहरू आफ्नो पीडा कसैलाई सुनाउन सक्दैनन् ।

२९ हजारमा काटिएको ९ हजार पोशाक खर्च र संचय कोषमा जाने रहेछ ।

कुराकानी गर्दागर्दै गेट भित्रबाट एक कर्मचारी नजिकै आए । बाहिरका एक सुरक्षा गार्डले मुखमा चोर औंलो लग्दै हामीलाई 'चुप' लाग्न भने ।

भित्रका कर्मचारीले कुरा सुने जागिर जान सक्ने भय उनीहरूको थियो । लगभग १५ मिनेटको भलाकुसारीपछि उनीहरूले भने, 'ल सर, हाम्रो नाम नलेख्दिनु होला, हामीलाई अप्ठेरो पर्छ ।' त्यसपछि उनीहरू आफ्नो गुनासो पोखेर केही नभएजस्तो सामान्य अवस्थामा फर्किए ।

उनीहरूलाई ठेक्कामा लगाएको कर्म सेक्युरिटी कम्पनीको फोनमा सम्पर्क गर्न खोज्दा आगमन कल निषेध गरिएको जानकारी पाइन्छ । गैंडाकोट २ नवलपुर ठेगाना रहेको उक्त कम्पनीको कार्यालय केही दिनदेखि बन्द रहेको स्थानीयहरू बताउँछन् । 

उक्त कम्पनीको अध्यक्ष डा. मनोहर प्रधान नेपाल मेडिकल एसोसियसन चितवन शाखाको उपाध्यक्ष रहिसकेका व्यक्ति हुन् भने ८ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको बोर्डमा रहेर काम गरिसकेका छन् ।

यता चौधरी ग्रुपले कन्ट्रयाक्टमा हायर गरेका गार्डहरूले तलब नपाएको विषयलाई कुनै हिसाबले सम्बोधन गर्न सकेको छैन ।

फोर्ब्स म्यागाजिनले डलर अर्बपति घोषणा गरेका चौधरीले आफ्नै उद्योगमा काम गर्नेहरूले तिहार मनाउन नपाएको विषयलाई त्यति सिरियस लिएका छैनन् ।

चौधरीको सचिवालय सदस्य मधुसुदन पौडेलले सुरक्षा गार्डले तलब नपाएको कुरालाई चुनावसँग लगेर जोडे । बिजपाटीसँग कुरा गर्दै उनले भने, 'सुरक्षा गार्डले तलब नपाएको कुरा शतप्रतिशत प्रायोजित कुरा हो, यही लेखिदिनुस् ।'

'त्यहींका सुरक्षा गार्डहरूले नै तलब नपाएको गुनासो गरेका छन् नि ?' भन्ने प्रश्नमा उनले भने, 'चुनावी प्रोपोगान्डा चलाइएको हो, यो शतप्रतिशत प्रायोजित कुरा हो ।' उनको जवाफले चौधरी ग्रुप यी विषयमा बिल्कुलै संवेदनशील नरहेको पुष्टि हुन्छ ।

सुरक्षा गार्डहरूसँगको संवाद बिजपाटीसँग सुरक्षित छ । स्रोतको सुरक्षाका लागि नाममा गोपनीयता अपनाइएको छ – सम्पादक

 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved