अखाद्य नुन बेचेर कमिसन हत्याउने चक्करमा साल्ट ट्रेडिङ धनगढी !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2022 | 01:19:41 PM मा प्रकाशित

laxmi  sunrise bank

साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीले दुई वर्ष अघि अस्वीकृत भएको नुन बजारमा पठाउने तयारी थालेको छ। अस्वीकृत भई भारतीय सप्लायर्सलाई फिर्ता गर्नु पर्ने नुन फिर्ता नभएको र त्यसलाई बजारमा पठाउने तयारी भएको तथ्य फेला परेको हो। 

२०७७ असोजमा साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीले खरिद गरेको २ हजार ५ सय मेट्रिक टन खान अयोग्य नुन बजारमा पठाउन थालेको सूचना बिजपाटीलाई प्राप्त भएको छ। दुई वर्ष अगाडि आयात गरे लगत्तै साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीको दुई नम्बर गोदाममा राखिएको नुन जनस्वास्थ्यका लागि हानिकारक भन्दै अस्वीकृत गरेको थियो। तर त्यहीँ नुन अहिले आएर प्रयोगशाला परीक्षणको नाटक रचेर बजारमा लैजाने चलखेल सुरू भएको समाचार स्रोतको दाबी छ।

स्रोतले भन्यो, ‘साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीमा दुई वर्ष अगाडि २०७७ असोजमा ५५ हजार बोरा ‘आयो नुन’ बनाउनका लागि फ्रिफ्लो नुन आएको थियो। यो नुन जाँच गर्दा कालो र माटो मिसिएको भेटियो। साल्ट ट्रेडिङ धनगढीले यो नुन प्याकिङ गरेर बजारमा बेच्न नसक्ने भनि जानकारी गरायो। काठमाडौंबाट तुलेश्वर साह भन्ने कर्मचारी आएर त्यो नुन त्यस्तै राख्न निर्देशन दियो। त्यो नुन खाएका क्यान्सर र मुटु रोग हुने भएकाले भारत नै फिर्ता लान भनियो। तर, पार्टीले कोरोनाको बाहना बनाएर नुन लगेन। अहिले नुनको भारतीय पार्टीलाई तिर्नुपर्ने पैसालाई कमिसन हत्याएर बिक्री गर्न खोजिँदै छ।’

दुई वर्ष अगाडि अर्थात २०७७ को असोजमा साल्ट टेड्रिङ कर्पोरेसन धनगढीले भारतको कचव्राइन केमिकल्सबाट ५५ हजार बोरा फ्रि फ्लो नुन खरिद गरेको थियो। साल्ट ट्रेडिङ धनगढीको २ नम्बर गोदाममा त्यो नुन अहिलेसम्म छ। बजार मुल्यअनुसार ५ करोड रुपैयाँको यो अखाद्य नुन बिक्री गर्ने चलखेल अहिले सुरु भएको दाबी गरिएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनको केन्द्रिय कार्यालयबाट यहीँ नुन बिक्री गर्ने प्रयोजनका लागि एक जना कर्मचारी केही दिनदेखि धनगढीमा छन्। चुनावको मौका छोपेर नुन प्याकेजिङ गरेर बजारमा पठाउने तयारी भइरहेको समाचार स्रोतको दाबी छ। तर साल्ट ट्रेडिङ धनगढीका लेखा प्रमुख तेजबहादुर कुँवरले २ नम्बर गोदाममा भएको नुन प्याकेजिङ नगरेको बताए। 

उनले भने, ‘हामीले त्यो नुन प्याकेजिङ गरेका पनि छैनौँ। जस्तो छ त्यहीँ अवस्थामा राखेका छौँ। अहिले तत्काल आज चाँहि खाद्य प्रविधि तथा गुण नियन्त्रणको टोलीले सेम्पल टेष्ट गर्नको लागि लिएर जानुभएको छ।’ उनले थपे, ‘उहाँहरूको रिपोर्ट आएपछि के हुने, के नहुने भन्ने कुरा त्यस पछाडि हामी बताउँने छौँ।’

स्रोतका अनुसार दुई वर्षदेखि भारतीय सप्लायर कम्पनीलाई फिर्ता गर्नुपर्ने नुन अहिले बिक्री गरेर कम्पनीलाई पैसा भुक्तानी नगरी त्यो रकम कमिसनको रुपमा खाने चलखेल भएको हो। उक्त कामका लागि काठमाडौंबाट कर्मचारीलाई परिचालन गरिएको छ। दुई वर्ष अगाडि नै साल्ट ट्रेडिङकै अधिकारीले स्वास्थ्यका लागि हानिकारक भन्दै अस्वीकृत गरेको नुन अहिले आएर गुणस्तर जाँच गर्ने नाममा बिक्री गर्ने बाटो खुलाउने प्रक्रिया योजनावद्ध ढङ्गले अगाडि बढेको स्रोतको दाबी छ।

२०७७ मै नुन भारतीय कम्पनीलाई फिर्ता गर्नुपर्नेमा किन गरिएन भन्ने जिज्ञासामा नमुना परीक्षण पछाडि मात्रै नुनको बारेमा थाहा हुने लेखा प्रमुख कुँवरको भनाइ छ। ‘अहिले हामीले ठिक हुन्छ भनेर भनेका छैनौँ। हामीले त्यो नुन प्रयोगमा ल्याएका पनि छैनौँ र फिर्ता गर्नुपर्ने हो। तर विविध कारणले फिर्ता भएन होला,’ कुँवरले भने।

दुई वर्षदेखि गोदाममा राखिएको नुनको बोरामा प्याकेजिङ गरिएको र उपभोग गरिसक्नुपर्ने मिति उल्लेख नै गरिएको छैन। सामान्यतया कुनै पनि खाद्यवस्तुको निश्चित उपभोगको मिति हुन्छ। तर साल्ट ट्रेडिङ धनगढीको गोदाममा राखिएको ५ करोडको नुनमा प्याकेजिङ गरिएको र उपभोग गरिसक्नुपर्ने मिति नै उल्लेख छैन।

यस्तै दुई वर्ष अगाडि खान अयोग्य ठहर भएको नुनको अहिले प्रयोगशाला परीक्षणको प्रयोजन जसरी पनि मोटो रकम कमिसन खाएर रिजेक्टेड नुन बिक्री गर्नु रहेको सहजै अनुमान गर्न सकिन्छ। तर लेखा प्रमुख कुँवर भने यो मान्न तयार छैनन्।

उनी भन्छन्, ‘त्यो जसले भने पनि गलत हो। त्यो बजारमा पठाइदैन किनभने नुन कमसल गुणस्तरको छ भने हामी पनि त्यसलाई बजारमा लगेर बिक्री गर्दैनौँ।’ केबिसिआई २०-२१/२००१ सन् २०२० को अक्टोवर ६ तारेखमा नुन खरिद गरिएको स्रोतको दाबी छ।

सन् २०२० अर्थात २०७७ मै अखाद्य ठहर भएको नुनको अहिले आएर प्रयोगशाला परीक्षण गराउनुमा कैफियत रहेको सहजै अनुमान गर्न सकिन्छ। साल्ट ट्रेडिङ कर्पोरेसनका माथिल्लो तहका अधिकारीहरूले जसरी पनि जनस्वास्थ्यका लागि हानिकारक ठहर भएको नुन बजारमा पठाउन चलखेल गर्न थालेका हुन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved