अर्थ मन्त्रालय पाए प्रधानमन्त्री दाबी नगर्ने ‘मुड’मा गगन, ‘रनाहा’मा माओवादी

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 02, 2022 | 11:36:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका एक मात्र डलर अर्बपति बिनोद चौधरी तेस्रो पटक सांसद बनेका छन् । यसअघि २ पटक एमाले र काँग्रेसको कोटाबाट समानुपातिक सांसद बनिसकेका चौधरी पहिलो पटक प्रत्यक्ष निर्वाचन जितेर संसद भवन छिर्दैछन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका चौधरीले नवलपरासी पश्चिम १ बाट हृदयश त्रिपाठीलाई हराए । अब उनको लक्ष्य शक्तिशाली मन्त्री बन्ने देखिएको छ । चौधरीले अर्थमन्त्री बन्ने इच्छा काँग्रेस वृत्तमा देखाइसकेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा नरहेको र अर्थतन्त्र नबुझेकाहरुले अर्थव्यवस्था संकटतर्फ गइरहेको आरोप लगाउने गरेको टिप्पणी गर्दै आएका छन् । तर, गठबन्धनकै तर्फबाट चुनाव जितेका खर्बपति चौधरी भने अर्थतन्त्र संकटमा रहेको स्वीकार गर्छन् । उनले संकटमा रहेको अर्थतन्त्र सुधार गर्न आफू सक्षम रहेको दाबी गर्दैै अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने इच्छा देखाएका छन् ।

चौधरीलाई अर्थमन्त्रीको दाबीबाट ‘ब्याक’ गराउन गगनको कसरत

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले निर्वाचन अगाडीबाटै प्रधानमन्त्रीको भावी उम्मेदवारका रुपमा आफूलाई प्रस्तुत गर्दै आएका छन् । उनको व्यवस्थापन गर्न काँग्रेस र गठबन्धन नेतृत्वलाई चूनौती बनिरहेका बेला खर्बपति चौधरीले अर्थ मन्त्रालय नै ताकेपछि गठबन्धन नेतृत्वलाई झन सकस परेको छ ।

त्यसो त, गगनलाई उप–प्रधानमन्त्रीसहित अर्थमन्त्री बनाएर बिनोद चौधरीलाई उद्योग मन्त्री बनाउने कसरत पनि सुरु भएको स्रोत बताउँछ । यसका लागि गगन थापा निकटका नेताहरु सक्रिय छन् ।

‘नेपालमा मात्रै नभई विश्वभरी नै चौधरी ग्रुपको आफ्नै प्रतिष्ठा छ, सफल औद्योगिक घरानाको नेतृत्व गरेको हुनाले उहाँ (बनोद चौधरी)लाई उद्योगमन्त्री बनाउने विषयमा अनौपचारिक छलफल हुन थालेका छन्’ स्रोत भन्छ, ‘चौधरी ग्रुपको उत्पादनमूलक उद्योग, सेवा क्षेत्रमा पनि लगानी भएकाले उहाँ (बिनोद चौधरी)ले उद्योग मन्त्रालयको नेतृत्व कुशलतापूर्वक सम्हाल्न सक्नुहुन्छ भन्नेमा पार्टी नेतृत्व विश्वस्त छ । अब उहाँको राय लिएर थप छलफल होला ।’

यदि चौधरीलाई उद्योग मन्त्रीमा सहमत गराए महामन्त्री गगन थापा आफू अर्थमन्त्री बन्ने सर्तमा संसदीय दलको नेतामा चुनाव नै नलड्न पनि सक्ने अनुमान हुन थालेको छ । गगनको रोजाइ सके प्रधानमन्त्री नसके अर्थमन्त्री रहेको निकटस्थहरु बताउँछन् ।

देउवा के चाहन्छन् ?

अब बन्ने सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवाले नै गर्ने दाबी विश्लेषकहरुको छ । पार्टीभित्र रामचन्द्र पौडेलदेखि गगन थापासम्म संसदीय दलको नेता बन्ने होडमा रहेपनि देउवा नै संसदीय दलको नेतामा चुनिने र उनी नै गठबन्धनको तर्फबाट प्रधानमन्त्री बन्ने निश्चित जस्तै देखिएको विश्लेषण हुने गरेको छ ।

देउवा आफू भने आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा अर्थ मन्त्रालयको जिम्मेवारी बिनोद चौधरीलाई दिन सकारात्मक देखिएको स्रोतले दाबी गरेको छ । यसो हुँदा प्रहरी प्रशासनसँग राम्रो सम्बन्ध भएका महामन्त्री गगन थापालाई उपप्रधानमन्त्री सहित गृहमन्त्री बनाएर व्यवस्थापन गर्न सकिने आन्तरिक तयारी छ । यसका लागि ज्ञानेन्द्रबहादुर कार्की लगायतका देउवा समूहका नेताहरुले पनि कसरत गरिरहेको बुझिएको छ ।

‘गगनलाई २ वर्षपछि मन्त्री बनाउँदा पनि केही बिग्रिदैन, उनले अब पार्टी संगठनमा काम गर्नुपर्छ भन्ने पक्षमा शेरबहादुर दाइ (उनकै भाषामा) हुनुहुन्छ’ सभापति देउवालाई उधृत गर्दै काँग्रेस स्रोत भन्छ, ‘गठबन्धन कायम राख्न उहाँ प्रतिवद्ध हुनुहन्छ, मन्त्रालयको भागबण्डा गर्दा विवाद आउन नदिन पनि उहाँ सचेत हुनुहुन्छ, कसैलाई अन्याय नहुने गरी मिलाउँछु भन्नु भएको छ ।’

माओवादी के भन्छ ?

गृह र अर्थ २ वटै शक्तिशाली मन्त्रालय काँग्रेसलाई छोड्न माओवादी तयार छैन । प्रधानमन्त्रीमा काँग्रेस र माओवादीबीच आधा आधा कार्यकालमा सहमति भएर पहिलो चरणमा देउवा प्रधानमन्त्री बन्दा गृह र अर्थमध्ये एउटा मन्त्रालयमा आफूहरुको दाबी स्वभाविक हुने माओवादीका एक नेता बताउँछन् ।

‘हाम्रो दाबी प्रधानमन्त्रीमा हो, संसद विघटन भएपछि हामीहरुकै पहलमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु भएको हो, त्यसकारण अब नयाँ सरकार बन्दा पहिला हामीले प्रधानमन्त्री पाउनुपर्छ भन्ने हाम्रो दाबी हो’ ती नेता भन्छन्, ‘यदि गठबन्धनभित्र सहमति भएमा गृह र अर्थ २ वटैमा हाम्रो दाबी स्वभाविक हुन आउँछ, प्रधानमन्त्रीसहित गृह र अर्थ पनि छोड्ने कुरा कल्पना गर्न सकिँदैन, यो गठबन्धनको मर्म विपरित पनि हुन्छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved