
गत आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भए । सोमबार सपथ ग्रहण गरेर उनले कार्यभार सम्हाले । नेकपा एमालेको समर्थनमा वामपन्थी नेतृत्वमा सरकार बन्नु र उत्तरी छिमेकी देश चीनले नेपालसँगका नाका खोल्नु एकैसाथ जस्तो देखिएको छ ।
यतिमात्रै नभई, नेपालमा प्रस्तावित चिनियाँ परियोजना पनि सुरु हुने संकेत देखिएका छन् । केरुङ–काठमाडौं अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडको प्राविधिक टोली गत बुधबार काठमाडौँ आइपुगेको छ ।
सँगै, ३२ महिनादेखि बन्द रहेको रसुवागढी नाका पनि गत मंगलबारबाटै सूचारु भयो । गत बुधबार हुम्लाको यारी नाका पनि खुल्यो ।
हुन त प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनासाथ बधाई दिने क्रममा चिनियाँ पक्षले बेल्ट एण्ड रोड (बिआरआई) परियोजना अगाडी बढाउनुपर्ने बताएको छ ।चिनियाँ ऋण सहयोगमा बनेको पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटनकै दिन चिनियाँ दूतावासले उक्त विमानस्थल बीआरआई प्रोजेक्ट अन्तर्गतकै रहेको पनि उल्लेख गर्यो ।
चीनको यस कदमलाई कतिपयले एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि चीनको सक्रियता बढेको अर्थमा पनि लिएका छन् ।
वाम सरकार बन्नु र चिनियाँ परियोजना अघि बढ्नु संयोग मात्रै हो ?
अनेकन अड्कलबाजी भइरहे पनि नेपालमा नयाँ सरकार बन्नु र चिनियाँ नाका खुल्नु तथा नेपालमा प्रस्तावित चिनियाँ परियोजनाको अध्ययन अगाडी बढ्नुबीच सम्बन्ध नहुने चीन मामिलाका जानकारहरु बताउँछन् ।
चीन मामिलाका जानकार डा. रुपक सापकोटा नेपालमा नयाँ सरकार बन्नु र नेपालसँग जोडिएका चिनियाँ नाका खुल्नु, चिनियाँ परियोजना अघि बढ्नु संयोग मात्रै भएको बताउँछन् । चीनले ‘जिरो कोभिड’ नीति लिएकाले कोरोनाकाल (झण्डै ३ वर्ष) मा नाका बन्द गरेको र अहिले विस्तारै खुलाउँदै गएकाले चीनले नेपालमा प्रस्ताव गरेका परियोजनाको काम पनि अघि बढाउन लागेको उनको भनाई छ ।
२०२० को मार्चदेखि चीन प्रवेश गर्नेले अनिवार्य क्वारेन्टाइनमा बस्नु पथ्र्यो । तर अब जनवरी ८ देखि क्वारेन्टाइन खारेज हुँदैछ ।
‘कोरोनाका कारण बन्द रहेका चिनियाँ नाका अहिले दुई तर्फी रुपमै खुल्न थालेका छन्, नाका सहज गराउँदै लैजाने चीनको यसअघिकै रणनीति हो’ एक जना चीन मामिलाका जानकार भन्छन्, ‘परिस्थिती अनुकुल बन्दै गएपछि नेपालसहित अरु देशमा पनि चीनले प्रस्ताव गरेका परियोजनाहरु अघि बढ्ने क्रम सुरु भएको छ । सोही अनुसार चिनियाँ टोली पनि नेपाल आएको हो ।’
परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि चीनले कसको सरकार बन्यो, कसको समर्थनमा बन्यो भन्दा पनि आफूले विगतमा गरेको प्रतिवद्धता पूरा गर्ने कुरालाई प्राथमिकतामा राख्ने भएकाले अहिले सोही प्रतिवद्धता अनुसार काम गर्न चिनियाँ टोली नेपाल आएको बताउँछन् ।
कोभिडका कारण बन्द रहेका नाका सहज गर्न यसअघिको सरकारले पनि पहल गरिरहेको थियो । त्यसैको ‘रिजल्ट’ अहिले देखिएको परराष्ट्रका अधिकारीहरुको दाबी छ । नयाँ सत्ता समिकरण र चिनियाँ नाका खुल्नुबीच सम्बन्ध नहुने उनीहरुको जिकिर छ ।
‘वाम सरकार बन्दा चीन उत्साहित चाहिँ छ’
एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि चीन केही उत्साहित भने भएको दाबी कतिपय विश्लेषकहरुको छ । प्रचण्ड प्रधानमन्त्री भएपछि चीनले बिआरआई परियोजना अगाडी बढाउन चाहेको कुरा उल्लेख गर्नुले पनि नेपालमा वामपन्थी सरकार बनेपछि चीन उत्साहित भएको मान्न सकिने डा। सापकोटाको भनाइ छ ।
बन्द रहेका नाका खुल्नु र परियोजनाहरु अघि बढ्ने संकेत देखिनुले नेपालको अर्थ राजनीतिमा सकारात्मक प्रभाव पार्ने उनको दाबी छ । यद्यपी, यसलाई वर्तमान सरकार चीनतिर ढल्कियो वा चिनियाँ प्रभाव र हस्तक्षेप बढ्यो भनेर प्रचार गरिनु गलत हुने डा। सापकोटा बताउँछन् ।