ढुवानीमा आजीवन प्रतिबन्ध लाग्ने गरी डिजेलमा के मिसाए चालक र सहचालकले ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 10, 2023 | 03:45:20 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतबाट ल्याइएको ८० हजार लिटर डिजेलमा मिसावट पुष्टी भएको छ । फागुन १० गते झापाको चारआलीस्थित नेपाल आयल निगमको कार्यालयमा आएका ४ वटा ट्याङ्करमा लोड रहेको डिजेलमा मिसावट पुष्टी भएको हो ।

मिसावट भएको डिजेलको मूल्य १ करोड ४० लाख रुपैयाँ बराबर छ । के मिसाइएको र कति मात्रामा मिसाइएको हो भन्ने यकिन भइसकेको छैन । यसका लागि थप ल्याब परीक्षणका लागि भारतीय आयल कर्पोरेशनमा नमूना पठाइएको छ । 

भारतीय आयल कर्पोरेशनबाट परीक्षणको रिपोर्ट आएपछि क्षतिको आँकलन गरिने नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । क्षतिको यकिन भएपछि ट्याङ्कर धनीबाट क्षतिपुर्ति भराइनेछ ।

४ वटा ट्याङ्करमा लोड भएर आएको ८० हजार लिटर डिजेलमा मिसावट भएको पाइएपछि निगमले छानबिन समितिमार्फत अनुसन्धान गरिरहेको छ ।

निगमले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापालाई पनि पत्र पठाएर अनुरोध गरेको छ । झापा प्रहरीले अनुसन्धानका लागि उक्त दिनको सम्पूर्ण विवरण, सम्बन्धित ट्याङ्करबारे जानकारी र भारतबाट लोड भएका कागजात प्रमाणहरु निगमसँग मागेको छ ।

तर, प्रारम्भिक अनुसन्धानबाट भने नेपाल प्रवेश नगर्दै भारतीय भूमिमै मिसावट भएको देखिएको छ । भारतको सिलगुढीबाट झापाको चारआली डिपो जम्मा ३५ किलोमिटर दूरीमा पर्छ । 

यसमा नेपालतर्फ १५ किलोमिटर र भारततर्फ २० किलोमिटर बाटो छ । नेपाली भूमिमा प्रवेश गरिसकेपछि मिसावटका लागि चालकहरुले अनुकुल वातावरण नपाउने र मिसाउनका लागि इन्धनजन्य वस्तु पनि नपाउने भएकाले भारतमै मिसावट भएको अनुमान छ ।

भारततिर सस्तोमा मट्टितेल पनि पाइने र अनुदानको मट्टितेल पनि उपलब्ध हुने भएकाले सोही मट्टितेल मिसाइएको हुनसक्ने जनाइएको छ ।

अर्कोतर्फ, इन्धन ढुवानीका ट्याङ्करमा ‘मेकानिकल लकिङ सिस्टम’ हुन्छ । यो लकिङ प्रणाली बीचमा खोल्न मिल्दैन । तर, चालकहरुले भारततिरै अनेक ‘जुगाँड’ गरेर खोलेर मिसावट गरेको पाइएको उपाध्यायको भनाइ छ । 

यसरी खोल्न पनि एउटा ट्याङकर चालक र सहचालकले मात्रै नसक्ने र धेरै मिलेर उतैबाट प्राविधिक लगाएर खोलेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

‘हाम्रा ट्याङ्करहरुमा डिजिटल लकिङ सिस्टम होइन, मेकानिकल लकिङ हो’ उपाध्यायले भने, ‘तर, मेकानिकल लक भए पनि फिटिङ खोल्दा रहेछन्, यसबारे प्रहरीको अनुसन्धानबाट सबै कुरा खुल्छ होला ।’

चालक–सहचालकलाई इन्धन ढुवानीमा आजीवन प्रतिबन्ध

निगमले ४ वटा ट्याङ्करलाई ६ महिना इन्धन ढुवानी गर्नबाट रोक लगाउने निर्णय गरेको छ । ट्याङ्करका चालक र सहचालकलाई भने आजीवन इन्धन ढुवानीमा संलग्न हुन नपाउने गरी आजीवन प्रतिबन्ध लगाएको छ ।

ट्याङ्कर नम्बर ना ७ ख १५०७ का चालक रचित भट्टराई र सहचालक प्रज्वल बस्नेत, मे १ ख २१५१ नम्बरका ट्याङ्कर चालक डिल्लीराम भट्टराई र सहचालक राजेश मण्डल, ना ७ ख ६९७४ का चालक विनोद भट्टराई र सहचालक प्रदीप क्षेत्री र मे १ ख २१९४ नम्बरको ट्याङ्कर चालक विकीरण राई र सहचालक मनोज कुमाललाई इन्धन ढुवानीमा आजिवन प्रतिबन्ध लगाइएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved