नवनियुक्त अर्थमन्त्री डा महतले विश्वासमा लिनैपर्ने यी चार स्टेक-होल्डर

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 31, 2023 | 03:53:31 PM मा प्रकाशित

laxmi  sunrise bank

निक्कै लामो समयपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारको मन्त्रिमण्डल विस्तार भएको छ । मन्त्रिमण्डलमा नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका नेता डा प्रकाशशरण महत अर्थमन्त्रीका रुपमा सहभागि भएका छन्। आर्थिक मन्दी र न्यून विकास खर्चको चपेटामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने दायित्व अब डा महतको काँधमा आइपुगेको छ ।

अर्कोतिर, विषयगत मन्त्रालयहरुले आफ्ना कार्यक्रमहरु नै पठाउन नसकेको अवस्थामा अगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने प्रमुख कार्यभार पनि डा महतकै छ । 

अमेरिकाबाट अर्थशास्त्रमै पीएचडी गरेका व्यक्ति हुनाले उनीसँग निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरु पनि आशावादी नै देखिएका छन् । नवनियुक्त अर्थमन्त्री डा महतले अबको अर्थतन्त्रलाई अघि बढाउन केही निश्चित योजनाका साथ अघि बढ्नुपर्ने देखिन्छ । उनले मुख्य चार सेक्टरलाई विश्वासमा लिन सक्नुपर्ने अर्थविद्को सुझाव छ ।

पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको नजरमा उनले विश्वसमा लिनुपर्ने चार सेक्टर

नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले अर्थमन्त्रीले मुख्यगरी ४ ‘स्टेकहोल्डर’लाई विश्वासमा लिएर काम गर्नुपर्ने बताउँछन् । यसरी विश्वासमा लिएर काम गर्दा अर्थतन्त्रमा देखिएका समस्या केही महिनामै समाधान गर्न सकिने क्षेत्रीको विश्वास छ ।

१, राष्ट्र बैंक 

पूर्वगर्भनर क्षेत्रीले अर्थमन्त्रीले जहिल्यै पनि राष्ट्र बैंकसँग सुमधुर सम्बन्ध कायम गर्न सक्नुपर्ने बताएका छन् । अब अर्थमन्त्री बनेका डा महतले सरकारको आर्थिक सल्लाहकारसमेत रहेको राष्ट्र बैंकमार्फत अर्थतन्त्रको वास्तविक अवस्था के हो र कसरी अगाडि जाँदा ठिक हुन्छ भन्ने सल्लाह लिएर मात्रै काम गर्नुपर्ने उनको सुझाव छ ।

‘केन्द्रीय बैंकलाई विश्वासमा लिनुपर्छ, स्वायत्त हुँदाहुँदा पनि राष्ट्र बैंक भनेको सरकारको आर्थिक सल्लाहकार हो, आरोप जे लगाए पनि उ साँच्चै रियालिस्टिक नै हुन्छ, उसको कुरा सुनेन र राजनीतिक लाभ हुने गरी निर्णयहरु गर्दै गयो भने समस्या आउँछ’ पूर्व गर्भनर क्षेत्रीले भने, ‘कहिलेकहीँ सरकारले बढी खर्च गर्ने कार्यक्रम ल्याउन लाग्यो भने राष्ट्र बैंकले यो हो अवस्था भनेर भनिदिनुपर्छ, राष्ट्र बैंकले भनेको कुरा अर्थमन्त्रीले सुन्नुपर्छ । 

भनेको कुरा पनि बुझेन भने त के काम भयो र ? त्यहीँ भएर कम्तीमा राष्ट्र बैंकले सुझाव दिँदा उसका ट्रमहरु बुझ्ने मान्छे अर्थमन्त्री हुनुपर्छ भनेको हो ।’

२, निजी क्षेत्र 

अहिले निजी क्षेत्रले लगानीको वातावरण नभएको र ब्याजदर पनि बढिरहेको भन्दै गुनासो गरिरहेका बेला अब अर्थमन्त्रीले निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने पूर्वगर्भनर क्षेत्री बताउँछन् । 

यद्यपि, ब्याजदरको विषय ‘फ्रि मार्केट इकोनोमी’मा बजारले नै निर्धारण गर्ने विषय भएकाले यसमा भन्दा पनि निजी क्षेत्रको लगानी नै अहिले अस्वभाविक रुपमा घटिरहेकाले सुरक्षाको ग्यारेन्टी दिएर निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्न सक्नुपर्ने उनको भनाई छ ।

‘हाम्रो अर्थतन्त्रको प्रमुख पिल्लर नीजि क्षेत्र हो, बचतकर्ताले बैंकमा राखेको निक्षेपलाई ब्याज तिरेर ऋणका रुपमा उपभोग गर्ने निजी क्षेत्रको मनोबल जहिल्यै उकास्नुपर्छ’ उनले भनेका छन्, ‘ऋण उपभोग गरेर अर्थतन्त्र चलायमान बनाउने भएकाले निजी क्षेत्रको विश्वास भएन भने जतिसुकै विद्धान अर्थमन्त्री भए पनि काम देखिँदैन ।’

३, विदेशी लगानीकर्ता 

अहिले विदेशी लगानीको प्रतिबद्धता घटिरहेको र लगानी बोर्डको बैठकसमेत ८ महिनादेखि बस्न नसकिरहेको अवस्थामा विदेशी लगानीकर्ताको विश्वास जित्न अर्थमन्त्रीका रुपमा डा महतलाई चुनौती छ ।

ठूला पूर्वाधारहरुमा विदेशी लगानी भित्र्याएर यस्तो लगानीको प्रतिफल सहजै लैजान सक्ने वातावरण बनाएर देशमा ‘स्थिर पूँजी’ वा ‘पूर्वाधार पूँजी’को विकासका लागि विदेशी लगानीकर्ताहरुले विश्वास गर्न सक्ने वातावरण बनाउनुपर्ने पूर्वगर्भनर क्षेत्री बताउँछन् ।

४, दातृ राष्ट्र र दातृ निकाय

अहिले राजस्व कम उठेर चालु खर्च नै धान्न मुस्किल रहेको अवस्था छ । सँगै, विश्वभरीकै अर्थतन्त्रमा सङ्कुचन आएकाले दातृ राष्ट्र र दातृ निकायहरुले नेपाललाई गर्दै आएका सहयोग घटाउन सक्ने जोखिम पनि उत्तिकै छ । 

यसले अझ बढी समस्या निम्तिने खतरा रहेकाले सहयोग नघट्ने गरी दातृ राष्ट्र र दातृ निकायहरुको पनि विश्वास जित्न सक्ने गरी नयाँ अर्थमन्त्रीले काम गर्नुपर्ने पूर्व गर्भनर क्षेत्रीको सुझाव छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved