गणतन्त्रका पम्फादेवीहरु !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2023 | 12:23:57 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले बजारमा २ कुराको चर्चा छ । एक, नक्कली भुटानी शरणार्थी बनाएर गरिएको ठगी प्रकरण र अर्को गणतन्त्रका पम्फादेवी । नक्कली भुटानी शरणार्थीका सम्बन्धमा अनुसन्धानकारी निकायहरुले अनुसन्धान नै सुरु गरेका छन् । 

यसबारे दिनहुँ जसो नयाँनयाँ समाचारहरु पनि आइरहेका छन् । यस्ता प्रकरणहरुबाट कमाउने धन्दामा लागेर  ‘पम्फादेवी’ बनेका भनिएकाबारे भने समाचार खासै आएका छैनन् । ‘गणतन्त्रकी पम्फादेवी’को चर्चा सांसद डा. अमरेशकुमार सिंहले संसदबाटै गरेका हुन् । 

वैशाख १३ गते उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको बैठकमा दिएको सार्वजनिक महत्वको वक्तव्यमाथिको छलफलका क्रममा सांसद सिंहले गणतन्त्रकी पम्फादेवीको प्रसङ्ग झिकेका थिए । त्यसयता उनले सार्वजनिक सञ्चार माध्यमहरुबाट काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा नै ‘गणतन्त्रकी पम्फादेवी’ भएको सङ्केत गरेका थिए ।

अहिले वालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँण पनि अर्की पम्फादेवीको रुपमा चर्चामा आएकी छिन् । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने प्रकरणमा उनको नाम जोडिएको भनिएको अडियो नै सार्वजनिक भएको छ । 

‘४५/४६ सालमा पञ्चायत ढल्ने बेलामा पम्फादेवीको नाम चर्चित थियो भ्रष्टाचारको नाममा । अहिले गणतन्त्रको पम्फादेवीले भ्रष्टाचार गरेर आक्रान्त पारेको छ । गणतन्त्र जाने अवस्थामा छ’ सांसद सिंहले संसदमा भनेका थिए, ‘पम्फादेवीहरुलाई कसरी लगाम लगाउने ? जति ठूला भ्रष्टाचार भएको छ, त्यो सबैमा पम्फादेवीहरुको संलग्नता हुन्छ ।’

संसदमा आरजु देउवाको नाम नलिइ गणतन्त्रकी पम्फादेवी भनेका अमरेशले अन्तरवार्तामा भने यो छिपाएका छैनन् । आखिर अमरेश सिंहले आफ्नै पूरानो पार्टीकी नेतृ र अहिले सांसदसमेत रहेकी आरजु देउवालाई किन गणतन्त्रकी पम्फादेवीको उपनाम दिए ?

पञ्चायतकी पम्फादेवी भनेर तत्कालीन रानी ऐश्वर्याराज्यलक्ष्मी शाहलाई भनिन्थ्यो । उनलाई पम्फादेवी ठकुरी भनिन्थ्यो । राजाको शासनकालमा रानीले भ्रष्टाचार गरिन् भनेर सोझै भन्न र लेख्न नसक्ने अवस्था भएकाले त्यसबेला रानी ऐश्वर्याको विरोध गर्नेहरुले ‘पम्फादेवीले भ्रष्टाचार गरिन्’ भनेर विरोध गर्थे ।

२०४६ सालमा प्रजातन्त्रको पुर्नबहालीपछि रानी ऐश्वर्या हरितालीका तीजको अवसरमा पशुपतिनाथको दर्शन गर्न गएकी थिइन् । त्यसबेला तत्कालिन कम्युनिष्ट घटकहरु नेकपा मालेलगायतमा आवद्ध महिलाहरुले घेराबन्दी गर्दै ‘पम्फादेवी’ भनेर विरोध जनाएका थिए । 

त्यतिबेला रानी ऐश्वर्याले नेपालमा भ्रष्टाचार गरेर आर्जन गरेको सम्पत्ति स्वीस बैंकमा ‘पम्फादेवी ठकुरी’को नाममा राखेको आरोप लागेको थियो । त्यहीँ भएर रानी र दरबारको विरोध गर्दा ‘पम्फादेवी’को नामबाट गरिन्थ्यो । २०४४/०४५ सालतिर सडकमा आन्दोलनमा उत्रिएका नेताहरु अहिले पनि स्मरण गछन् की, त्यतिबेला पम्फादेवी भनेको साह्रै खराब र भ्रष्ट महिलाको प्रतिकात्मक नाम थियो ।

अहिले पनि शक्तिको दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको भनेर देउवा पत्नी आरजु र खाँण पत्नी मञ्जुलाई ‘गणतन्त्रकी पम्फादेवी’ भनेर चित्रित गर्न खोजिएको छ । ‘पञ्चायतकी पम्फादेवीका कारण पञ्चायत ढलेको हो, ६३ सालपछिकी पम्फादेवीका कारण गणतन्त्र ढल्न लागेको छ’ सांसद अमरेश भन्छन्, ‘वीरेन्द्रका पालामा सबै निर्णय पम्फादेवी (रानी ऐश्वर्या) ले गर्थिन्, अहिले शेरबहादुर देउवाकी श्रीमती भएर उहाँ (आरजु राण)ले पावरको दुरुपयोग गर्नुभएको छ । पार्टीमा सभापतिको पावर होस् वा देशमा प्रधानमन्त्री (देउवा प्रधानमन्त्री भएका बेला) को पावर ।’

डा. स्वर्णिमले भनेको ‘दाइ–भाउजू’ कम्पनी पनि ‘पम्फादेवी’ ?

आरजु राणाले शक्तिको दुरुपयोग गरेको आरोप लगाउने र टिप्पणि गर्ने अमरेशकुमार सिंह एक्ला र पहिलो पात्र होइनन् । यसअघि देउवा सत्तामा हुँदा सरुवा बढुवादेखि नियुक्तिमा समेत उनले गरेका चलखेल छिपेका छैनन् । जनार्दन शर्माले बजेट ल्याउँदा आफ्नो स्वार्थ अनुसार कर नीतिहरु फेरबदल गराएर छोरा जयवीरको कम्पनीलाई फाइदा दिलाएको र यसबापत रात्रीभोज आयोजना गरेको भनिएको विषय एक वर्ष पनि पुगेको छैन ।

 डा अमरेश सिंह रानी ऐश्वर्या (पञ्चायतकी पम्फादेवी)को जति रजगज थियो, त्यो भन्दा बढी हालिमुहाली अहिले आरजुको भएको दावी गर्छन् । त्यसो त, काँग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दैगर्दा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले पनि ‘काँग्रेस पार्टी दाई–भाउजु–साला–भतिजको अक्षम गिरोह’ मा परिणत हुने क्रममा रहेको टिप्पणि गरेका थिए । 

उनले ‘भाउजू’ भनेर उनै आरजुलाई भनेका थिए । उनको भनाइको सार पनि अमरेशकुमार सिंहले भनेजस्तै ‘गणतन्त्रकी पम्फादेवी’ले गरेको ‘पावरको मिस यूज’प्रति लक्षित थियो ।

‘पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ । जननायक वीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ’, डा. वाग्लेले भनेका थिए ।

पम्फादेवीको चर्चाबीच गगन थापाको आक्रोशित स्टाटस

आइतबार साँझ काँग्रेस महामन्त्री गगन थापाले पार्टी नेतृत्वप्रति आक्रोश पोख्दै एउटा स्टाटस लेखे । पम्फादेवीहरुले पार्टीमा हालिमुहाली मच्चाइरहेको र शक्तिको आडमा भ्रष्टाचार गरिरहेको चर्चा भइरहेका बेला महामन्त्री थापाको स्टाटसले काँग्रेसभित्रको विवाद थप छताछुल्ल बनाइदिएको छ ।

‘एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो’ गगनले लेखेका छन् । यसले पनि पम्फादेवीहरुको हालिमुहालीबाट गगनहरु आजित भएको देखाउँछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved