नेपालमा मात्रै नभइ संसारको जुनसुकै कुनामा बस्ने मुस्लिम समुदायका लागि हलाल मासु आस्थासँग जोडिएको विषय हो। मुस्लिम समुदायका कुनै पनि व्यक्तिले हलालबाहेकको मासु खानेबारेमा कल्पनासमेत गर्न सक्दैन।
तर नेपालमा भने हलाल मासुको नाममा मुस्लिम समुदायको आस्थामाथि गम्भीर खेलवाड भएको पाइएको छ। नेपाल भित्रकै तथा अरब र छिमेकी मुलुकबाट आउने मुस्लिम समुदायका व्यक्तिलाई हलाल मासु खुवाउने नाममा यस्तो खेलवाड भएको पाइएको हो।
हलाल मासुको आधिकारिकता दिने सरकारी निकाय नभएको कमजोरीको फाइदा उठाउँदै हलाल नेपाल नामको संस्था (एनजीओ) ले बाँडेको प्रमाणपत्र देखाएर मासु बिक्रेता, वितरक, होटल तथा रेष्टुरेन्टबाट नै यस्तो खेलवाड भइरहेको बिजपाटीको खोजमा भेटिएको हो। यसरी प्रमाणपत्र पाउनेहरुले एकै ठाउँमा कुखुरा, खसी र बंगुरको मासु तयार पारी बिक्री गर्दै आएका छन् ।
इस्लामिक मूल्य, मान्यता भित्र रहेर मासुको व्यापार गर्नेलाई मात्र हलाल मासुको सर्टिफिकेट वितरण गरेको हुनुपर्ने नेपाल गुणस्तर तथा नापतौल विभागले स्पष्ट पारेको छ। तर यसरी सर्टिफिकेट वितरण र त्यसअन्तरगत रहेर गरिएका काम, कारबाहीहरुमा थुप्रै आशंकाहरु उब्जिएका छन् । पछिल्लो समय मुस्लिम आयोगको हलाल मासुको सर्टिफिकेटको नाममा विकृति फैलिएको निष्कर्षले पनि त्यसलाई पुष्टीगर्छ। आयोगले हलाल मासुका सम्बन्धमा अविश्वास पैदा भएको भन्दै देशभरबाटै गुनासाहरु प्राप्त भएको पनि बताएको छ ।
हलाल नेपाल जवाद अन्सारी नामका व्यक्तिले चलाएको संस्था हो । त्यही संस्थाबाट हलाल सर्टिफिकेटको वितरण हुने गरेको पाइएको छ। यो संस्थाले सरकारको कुनै पनि आधिकारीक निकायबाट हलाल सर्टिफिकेट वितरणको अनुमति लिएको छैन ।
हलाल नेपालले ठूलो परिमाणमा मासु तथा ससेज वितरण गर्ने संस्थालाई हलाल मासुको सर्टिफिकेट दिने र यी मासु वितरकले पनि आफूले मासु बिक्री गर्ने होटल, रेष्टुरेन्ट तथा मार्टलाई यही सर्टिफिकेट देखाएर आफूहरुको मासु हलाल भएको दावी गर्दै आएको छ ।
काठमाडौँलगातका नेपालका विभिन्न शहरमा अवस्थित होटल तथा रेष्टुरेन्टले पनि हलाल मासु बिक्री गर्ने दावी गर्ने मासु वितरकसँग सम्झौता गरेर बनाएको सर्टिफिकेट हलाल मासु भनेर खान आउने मुस्लिम समुदायका व्यक्तिलाई देखाएर 'हलाल' हो भन्नेबारे सुनिश्चितता गराउने गरेका छन्।
नेपालको चितवनस्थित गुर्मेट भिएनाका प्रबन्ध निर्देशक तथा अध्यक्ष रामकृष्ण थापाले आफूहरुले बिक्री गर्ने मासु हलाल प्रमाणित गर्नलाई कुनै एक संस्थाबाट हलाल सर्टिफिकेट लिएको बताए। तर कुन संंस्थाबाट कस्तो मापदण्ड पुरा गरेर हलाल सर्टिफिकेट लिएको भन्नेबारे उनले खुलाउन चाहेनन्।
'हामीले बिक्री गर्ने मासु हलाल प्रमाणित गर्नलाई कुनै एक संस्थाबाट हलाल सर्टिफिकेट लिएको भन्ने थाहा छ, हामीले संस्था लिनु अगाडि पहिला नै हलाल सर्टिफिकेट लिइसकेकाले यसबारे धेरै जानकारी छैन', उनले भने।
त्यस्तै मासु र सेवालाई हलाल भनेर मुस्लिम ग्राहकलाई सेवा बिक्री गर्दै आएको काठमाडौँको एक होटल मालिकले पनि आफूहरुले गुर्मेट भिएनाले दिएको सर्टिफिकेट देखाएर मुस्लिम ग्राहकलाई सेवा दिंदै आएको स्वीकारेका छन्।
नेपालकै ठुलो तथा पहिलो कोल्ड स्टोर गुर्मेट भिएनाका अध्यक्ष थापासँगको कुराकानीमा उनलाई हलाल मासु, यसको मूल्य, मान्यता र विधिबारे स्पष्ट जानकारी नभएको पाइएको छ। चितवनमा 'फ्याक्ट्री' रहेको गुर्मेट भिएनाले चिकेन, मटन तथा बंगुरको मासु तथा ससेज वितरण गर्दै आएको छ।
गुर्मेट भिएनाले जस्तै भ्याली कोल्ड स्टोरले पनि काठमाण्डौ लगायत नेपालका धेरै होटल रेष्टुरेन्ट र मार्टमा हलाल भनेर ठुलो परिमाणमा मासुको विक्री तथा वितरण गर्दै आएको छ। भिएनाकै शैलीमा भ्याली कोल्ड स्टोरले पनि कुखुरा र खसीको मात्रै नभई बंगुरको मासु पनि वितरण तथा विक्री गर्दै आएको छ। दुवै सँस्थाको वेबसाइटमा हलाल भनेर कतै उल्लेख नगरीएपनि यिनीहरुले विक्री वितरण गर्ने मासुका परिकारमा भने हलाल भनेर लेखिएको 'ट्याग' राखिएको पाइएको छ। यस्तो 'ट्याग' को आधिकारिता भने उही 'हलाल नेपाल' ले दिएको सर्टिफिकेट नै हो।
गुर्मेट भिएना, भ्याली कोल्ड स्टोरले जस्तै नेपालमा सुपर क्वालिटी मिट, अलि कोल्ड स्टोर, लगायत दर्जनौ सँस्थाहरुले हलाल भनेर कुखुराको मासु, ससेज तथ्य अन्य परिकारहरु वितरण तथा विक्री गर्दै आएका छन्। यी संस्थाहरुले सहि रुपमा काम गरेको भएपनि यिनीहरुलाई पनि हलाल भनेर आधिकारिकता दिने निकायको अभाव नै रहेको छ।
होटल एसोसिएसन नेपाल, हानका अध्यक्ष विनायक शाहले काठमाौँलगायतका होटलले मासु वितरकबाट लिएको हलाल सर्टिफिकेटको आधारमा आफूहरुले मुस्लिम समुदायका व्यक्तिहरुलाई हलाल मासु तथा सेवा उपलब्ध गराउँदै आएको स्वीकारे ।
'हलाल मासु भनेर बिक्री गर्ने वितरकसँग विश्वास गरेर नै मासु तथा ससेज खरिद गर्ने हो। उनीहरुले देखाएको सर्टिफिकेट नक्कली हो की सक्कली भन्ने कुराको अध्ययन तथा अनुसन्धान गरेर हिंड्नलाई होटलसँग समय हुँदैन। अर्को कुरा यो सबै विश्वासमा चल्ने कुरा हो। मासु बिक्री गर्नेले नै हलाल सर्टिफिकेट देखाएर मासु हलाल हो भनेपछि हामीले पनि हलाल भनेर नै विश्वास गरेर मुस्लिम समुदायबाट आउने ग्राहकलाई सेवा दिने हो', अध्यक्ष शाहले भने।
आफूहरुले हलाल मासु हो भन्ने कुरामा नै विश्वास गरेर वितरकबाट मासु खरिद गरेको बताउँदै अर्का एक होटल व्यवसायीले भने , 'हलाल मासु भनेको अर्गानिक र इस्लामिक मूल्य मान्यता अनुसारको हुनुपर्ने भन्ने मेरो बुझाइ छ, यही मान्यतालाई पालना गरेको कारण गुर्मेट भिएनाले हलाल सर्टिफिकेट पाएको होला भन्ने हाम्रो बुझाइ हो, उसले दिएको सर्टिफिकेटलाई विश्वास गरेर नै उसको मासुलाई हलाल भनेर मुस्लिम समुदायलाई सेवा दिँदै आएका छौँ। तर व्यापारको नाममा मुस्लिम समुदाय वा अन्य कुनै समुदायको आस्थामाथि खेलवाड गर्नेबारे हामी सोच्न पनि सक्दैनौं', ती होटल मालिकले भने।
त्यस्तै रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान)का अध्यक्ष अरनिको राजभण्डारीले नेपालमा पछिल्लो समय धेरै रेष्टुरेन्टले हलाल मासु भनेर सेवा प्रवाह गरिरहेको पाइए पनि आफू यसको आधिकारिकता र यथार्थताबारे जानकार नभएको बताए। हलाल भनेको के हो भन्नेबारे आफूलाई स्पष्ट थाहा नभए पनि मुस्लिम समुदायले हलाल मासु खान्छन् भन्ने थाहा भएको र मुस्लिम मूल्य मान्यता अनुसार नै मासु तयार गरिनुपर्नेमा आफ्नो दुईमत नभएको उनले बताए।
'धेरैले स्वघोषित रुपमा हलाल मासु भनेर रेष्टुरेन्ट चलाएका छन्, यसको आधिकारिकताबारे खास जानकारी छैन। तर नेपालमै मुस्लिम समुदायको जनसंख्या ठूलो भएको र पछिल्लो समय खाडीबाट आउने पर्यटक पनि बढेकाले हलाल मासुबारेको आधिकारिकता हेर्ने निकाय हुनुपर्छ', उनले भने।
हलाल नेपालको कागजातमा फरकफरक नाम
आफूहरु अन्तर्राष्ट्रिय संस्थाबाट प्रमाणित भएको दावी गर्ने हलाल नेपालले प्रस्तुत गरेको नाममा पनि एकरुपता नभएको पाइएको छ। सर्टिफिकेटमा 'हलाल नेपाल' नाम उल्लेख गरिएको छ भने सर्टिफिकेट दिनलाई मापदण्ड तोकिएको 'डकुमेन्ट'मा 'हाइजेन वर्ल्ड नेपाल' लेखिएको छ।
तर यसले उपलब्ध गराएको वेबसाइटमा भने 'हलाल सर्टिफिकेसन बोर्ड' लेखिएको छ। यस वेबसाइटमा उल्लेख हलालसम्बन्धी अन्य संस्थाका नामहरु पनि नेपालकै भएको देखिन्छ।
त्यसैले पनि सतहमा जवाद अन्सारी देखिने यो समूहले फरकफरक नाम उल्लेख गरेर धेरै संस्थाहरुसँग हलाल सर्टिफिकेटको व्यापार गर्दै आएको आशंका उब्जिएको छ।
हलाल नेपालका प्रमुख जवाद अन्सारीको भनिएका आधा दर्जन बढी सम्पर्क नम्बरमा सम्पर्क गर्दासमेत उनीसँग कुराकानी हुन सकेन। तर जवाद अन्सारीको भनिएको एउटा नम्बरको 'व्हाट्स एप'मा सम्पर्क गर्दा प्रेमधोज कार्की नाम गरेका व्यक्ति भेटिए । आफू हलाल नेपालमा काम गर्ने बताएका उनले हलाल नेपालबाट काठमाडौँलगायत देशका विभिन्न होटल रेष्टुरेन्ट तथा मासु वितरकलाई हलाल सर्टिफिकेट वितरण गरेको स्वीकारे।
यसअघिः
विश्वासको भरमा हलाल खाना, सरकारलाई नै थाहा छैन प्रमाणित गर्ने निकाय
उनले हलाल मासुको बिक्री गर्ने संस्थाहरुलाई उनीहरुले इस्लामिक कानुनको पालना गरेको यकिन गरेर मात्र हलाल सर्टिफिकेट दिने गरेको दावी पनि गरे। तर हलाल नेपालबाट सर्टिफिकेट लिएर हलाल मासु बिक्री गर्ने दावी गर्ने मासु वितरकहरुले एकै ठाउँबाट कुखुरा, खसी र बंगुरको मासु बिक्री गर्ने गरेको पाइएको छ। यो कुराले कार्की नाम गरेका व्यक्तिको उक्त दावी सत्य देखिँदैन।
मुस्लिम आयोगको चासो
मुस्लिम आयोगले पछिल्लो समय हलाल मासुको सर्टिफिकेटको नाममा विकृति फैलिएको निष्कर्ष निकाल्दै हलाल मासु बारेमा काम गर्नलाई समिति निर्माणको उद्देश्यले कार्यदल गठन गरेको छ।
आयोगका सदस्य महमदिन अलिकाअनुसार आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षमा कार्यदल गठन गरेको छ। कार्यदलमा आयोगसहित गुणस्तर तथा नापतौल विभाग, नेपाल पर्यटन बोर्ड, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलगायतका महत्वपूर्ण निकायका प्रतिनिधि सहभागी छन् ।
हलाल मासुबारे निर्णय लिने निकाय मुस्लिम आयोग नभए पनि समुदायसँग जोडिएको संवेदनशील विषय भएकाले आयोगले समिति निर्माणको लागि कार्यदल गठन गर्ने निर्णय लिनुपरेको अलिले बताए।
सरकारी परिषदले स्वीकृत गरेपछि मात्र हलाल मासुले गुणस्तर चिन्ह पाउँछ
नेपाल स्ट्याण्डर्ड प्रदान गर्ने नेपालको एकमात्र सरकारी संस्था 'नेपाल गुणस्तर तथा नापतौल विभागले हलाल मासुलाई कानूनी दायरामा ल्याउनलाई 'ड्राफ्ट' बनाएर नेपाल गुणस्तर परिषद पठाएको विभाग उपमहानिर्देशक तथा प्रवक्ता ज्योति जोशी भट्टले बताइन्। उनकाअनुसार उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री अध्यक्ष रहने उक्त परिषदले स्वीकृत गरेपछि मात्र हलाल मासुु कानूनी दायरा आएर यसले गुणस्तर चिन्ह प्राप्त गर्नेछ।
यसरी गुणस्तर चिन्ह प्राप्त गरेपछि मात्र नेपाल सरकारको मुस्लिम समुदायसँग सम्बन्धित संस्थाको सहजीकरण तथा समन्वयमा इस्लामिक कानून तथा विधिलाई समेटेर मुस्लिम समुदायका अगुवा व्यक्ति तथा संस्थाहरुसँगको समन्वयमा निर्माण गरिएको हलाल मासुसम्बन्धी कानूनी दायरा भित्र रहेर बल्ल हलाल मासु प्रमाणित हुने कार्य सुरु हुने प्रवक्ता भट्टको भनाइ छ।
यद्यपि आस्थासँग जोडिएका सबै विषय कानूनी दायरा ल्याएर त्यसलाई 'डकुमेन्टु गर्न गाह्रो हुने तर इस्लामिक मूल्य मान्यता भित्र रहेर मासुको व्यापार गर्नेलाई मात्र हलाल मासुको सर्टिफिकेट वितरण गरेको हुनुपर्ने भट्टले बताइन्।
यो पनिः
- अब मुस्लिम आयोगले नै हलाल सर्टिफिकेट वितरण गर्ने, अध्यक्ष अन्सारी भन्छन्- मापदण्ड बनिसक्यो
- विश्वासको भरमा हलाल खाना, सरकारलाई नै थाहा छैन प्रमाणित गर्ने निकाय