
 2mb (1).gif)
नेपाल सरकारले नेपालमा पनि हलाल मासुलाई राज्यको नियमनभित्र ल्याउने प्रयास थालेको छ। नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतको गुणस्तर तथा नापतौल विभागले नियमनको प्रयास थालेको हो ।
नेपाल आउने विदेशी मुस्लिम समुदायका लागि मात्र नभइ आन्तरिक पर्यटकको रुपमा नेपालका विभिन्न ठाउँमा घुमफिर गर्ने नेपाली मुस्लिम समुदायका लागि पनि हलाल खानाको प्रत्याभूति गर्न यस्तो प्रयास गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागकी उपमहानिर्देशक तथा प्रवक्ता ज्योति जोशी भट्टले बिजपाटीलाई बताइन्।
उनकाअनुसार हलाल मासुलाई कानूनी दायरामा ल्याउने उद्देश्यले २०७९ साल जेठ १० मा नियमनको प्रस्तावित मस्यौदा निर्माण गरी स्वीकृतिका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अध्यक्ष रहने नेपाल गुणस्तर परिषद्मा पठाइएको छ। परिषद्ले स्वीकृत गरेपछि मात्र हलाल मासु कानूनी दायरा आइ यसले गुणस्तर चिन्ह प्राप्त गर्नेछ।
हलाल सर्टिफिकेसनसम्बन्धी गुणस्तर तयार गर्ने सम्बन्धमा समिति गठन गर्ने निर्णय २०७८ साल मङ्सिर ६ गते भएको थियो। यस समितिमा नेपाल सरकारका सरोकारवाला निकाय मात्र नभइ नेपालका मुस्लिम समुदायलाई प्रतिनिधित्व गर्ने अन्य विभिन्न संघ, संस्थाका पदाधिकारीहरुलाई समेत राखिएको छ। यही समितिले बृहत छलफल गरेर हलाल सर्टिफिकेसनसम्बन्धी गुणस्तर तयार गर्ने सम्बन्धमा कानूनी ड्राफ्ट निर्माण गरी परिषद्मा पठाइएको हो। परिषदको अध्यक्ष भने बहालवाला मन्त्री रहनेछन् ।
यस समितिमा नेपाल सरकारका सरकारी निकाय अन्तर्गत गुणस्तर तथा नापतौल विभागका डिजी, विभागको गुणस्तर निर्धारण तथा प्रवद्र्धन शाखाका निर्देशक, उद्योग मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, त्रिभुवन विश्वविद्यालय, उपभोक्ता हकहित सम्बन्धी संस्थाहरुका साथै मुस्लिम समुदायको प्रतिनिधित्व गर्ने संस्थाहरु पनि रहेका छन्। जसमा दारुल इफ्ता ओल्मजा, जमियत अल्माय नेपाल बागबजार, इस्लामिक संघ नेपाल, जामियत अहले हदिस, जामे मस्जिद काठमाडौँ रहेका छन्।
परिषद्ले उक्त कानूनी ड्राफ्ट स्वीकृत गरेपछि मात्र हलाल मासुको बिक्रीवितरण कार्य कानूनी दायरामा आउनेछ । अनि यसले गुणस्तर चिन्ह पनि प्राप्त गर्नेछ। यसरी गुणस्तर चिन्ह प्राप्त गरेपछि मात्र मुस्लिम समुदायसँग सम्बन्धित संस्थाको सहजीकरण तथा समन्वयमा इस्लामिक कानून तथा विधिलाई समेटेर बल्ल हलाल मासु प्रमाणित हुने कार्य सुरु हुने प्रवक्ता भट्टको भनाइ छ।
हलाल मासु सम्बन्धमा तयार पारिएको कानूनी ड्राफ्टको व्यवस्थालाई आधार मान्दा पनि नापतौल विभाग आफैँले हलाल सर्टिफिकेट वितरण गर्न सक्ने अवस्था छैन। त्यसैले परिषद्बाट पास भएर गुणस्तर चिन्हको मान्यता पाएपछि नेपाल सरकार मातहतको कुनै मुस्लिम संघ, संस्थामार्फत हलाल सर्टिफिकेट वितरण गर्ने र यसरी प्रमाणपत्र लिएर व्यवसाय गर्नेको अनुगमन तथा नियमन विभागले नै गर्नसक्ने प्रवक्ता भट्टको भनाई छ। यद्यपि के, कसरी प्रक्रिया अघि बढ्छ भन्ने विषय अहिले पनि रहस्यमै छ ।
त्यसो त पछिल्लो समय हलाल मासु प्रयोग गर्ने दाबी गर्ने होटल रेष्टुरेन्टको वृद्धि भएसँगै यसको प्रमाणीकरण र बिश्वसनियता माथि पनि प्रश्न उठेको छ। आफुलाई हलाल भनेर घोषणा गर्नलाई हलाल प्रमाणित गर्दिने कसले भन्ने प्रश्नको उत्तर अहिलेपनि सहज छैन। बढ्दो चाँसोलाई सम्बोधन गर्ने उदेश्यले नेपाल मुस्लिम आयोगले एउटा कार्यदल बनाउने निर्णय गरेको छ तर अहिलेसम्म एउटा कार्यदल समेत निर्माण गर्न सकेको छैन।
बजारमा वर्षौंदेखि बिक्रीमा हलाल सर्टिफिकेट
नेपाल सरकारले हलाल मासुलाई प्रमाणितको कानून निर्माणको प्रत्रिया अघि बढाएको १७ महिना भए पनि यसको टुंगो लाग्न सकेको छैन। तर नेपालमा वर्षौंदेखि हलाल मासुको सर्टिफिकेट बिक्री हुँदै आएको छ। विडम्बना यसरी हलाल सर्टिफिकेट दिने हलाल नेपाल नामक संस्था आफू भने नेपालमा कहीँ कतै दर्ता छैन।
हलाल नेपाल बाट सर्टिफिकेट लिनेहरुले आपसी समझदारीमा यसको शुल्क तय गर्ने गरेको पाइएको छ। औषतमा प्रति सँस्थालाई सुरुमा सर्टिफिकेट दिँदा २५ हजार लिने गरेको र त्यसपश्चात प्रत्येक वर्ष एउटा निश्चित रकम लिने गरेको पाइएको छ। यद्दपि हलाल नेपालका संचालक जवाद अन्सारी सम्पर्कमा नआउँदा हलाल नेपालले के कति शुल्क लिन्छ र कसरी उक्त शुल्क निर्धारण हुन्छ भन्नेबारे जानकारी यकिन हुन सकेको छैन।
हलाल नेपालले सम्बन्धित सँस्थालाई दिने डकुमेन्टमा 'हलाल मासु' भनेको के हो र भन्नेबारे मात्र उल्लेख गरिएको छ तर 'हलाल नेपाल आफैंमा के कस्तो सँस्था हो, हलाल नेपालबाट सर्टिफिकेट लिनेको नियमन कसरी गरिन्छ र सर्टिफिकेटको शुल्क कसरी निर्धारण हुन्छ' भन्ने कुरा कहीं कतै उल्लेख भएको देखिदैन।
नेपाल सरकारको कुनै पनि निकायले प्रमाणीकरण नगर्दा पनि हलाल नेपाल नामको एउटा संस्थाले दर्ता विनै पैसा लिएर सर्टिफिकेट बाँड्ने काम गरेको भेटिएको छ । उसले वितरण गरेको सर्टिफिकेट देखाएर नै नेपालका मासु बिक्रेताले आफू हलाल प्रमाणित भएको भन्दै आएका छन्। यसरी हलाल प्रमाणित भएकाबाट लिएको सर्टिफिकेट देखाएर अधिकांश होटल तथा रेष्टुरेण्टले हलाल मासु पाइन्छ भन्दै मुस्लिम समुदायका व्यक्तिलाई हलाल भनेर सेवा दिइरहेका छन्।
हलाल नेपालका प्रतिनिधि जवार अन्सारीलाई यस बारेमा स्पष्ट हुनलाई पटकपटक सम्पर्क गर्दा उनीसँगको सम्पर्क हुन नसके पनि उनका प्रतिनिधिले भने होटलहरुमा सर्टिफिकेट दिने गरेको स्वीकार गरेका छन् । स्मरण रहोस् की यो संस्था नेपालको कुनै निकायमा प्रमाणपत्रवितरण गर्ने निकायका रुपमा दर्ता नै छैन ।
यस अघि:
- हलाल मासुका नाममा नेपालमा मुस्लिम समुदायको आस्थामाथि खेलवाड