सेबोनलाई बन्धक बनाउने अर्थमन्त्रीको योजनामा तीन भाईको साथ, कुन दुलोमा छन् शेयरबजारका नेता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2024 | 11:02:13 PM मा प्रकाशित

नेपाल धितोपत्र बोर्ड(सेबोन) लाई बन्धकमा राख्ने अर्थमन्त्री बर्षमान पुनको योजनालाई अध्यक्षका तीन उम्मेदवारले खुलेरै साथ दिएको खुलेको छ। प्रस्तुतीकरण तथा अन्तरवार्तामा सहभागी नभएर उनीहरुले अर्थमन्त्री पुनको योजनालाई साथ दिएका हुन्। 

सेबोन अध्यक्षका उम्मेदवार तीन भाई अर्थात् नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नबराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र तत्कालिन बीमा समितिका तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाईले अन्तरवार्तामा नै सहभागी नभइकन अर्थमन्त्री पुनको योजनालाई साथ दिएका हुन्। 

सेबोन अध्यक्षको लागि अन्तिम पाँचमा परेका यी सबैलाई राष्ट्रिय योजना आयोगको कार्यालयमा अन्तरवार्ताको लागि आइतबार बिहान बोलाइएको थियो। तर अन्तरवार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले प्रस्तुतीकरण दिए पनि तीन भाई उपस्थित भएनन्। तीनै जना मोबाइल स्वीच अफ गरेर दिनभर गायब भए। अर्थमन्त्री पुनको निर्देशनअनुसार नै यी तीन भाई प्रस्तुतीकरणको लागि अनुपस्थित भएको स्रोतको दाबी छ। 

तीन जना अनुपस्थित हुँदा सिफारीसमाथि नै प्रश्न उठ्ने भएकाले अर्थमन्त्री पुनले फेरि यो लफडा शुरु गरेर शेयर बजारलाई बन्धकमा राख्न खोजेको देखिन्छ। किनकि धितोपत्र ऐनले कम्तीमा पनि तीन जनाको नाम सिफारिस गर्नु पर्ने भनेको छ। 

“(४) उपदफा (३) बमोजिमको समितिले नाम सिफारिस गर्दा यस ऐन बमोजिम योग्यता पुगेका कम्तीमा तीन जना व्यक्तिको नाम सिफारिस गर्नेछ,” धितोपत्र सम्बन्धी ऐन २०६३ मा उल्लेख छ। यस अनुसार प्रस्तुतीकरणमा सहभागी भएका पाँच जनामध्ये कम्तीमा तीन जना नभए सिफारिस गर्न मिल्दैन। गरिए ऐनको खिलाफ हुने भएकाले अर्थमन्त्रीको योजनाअनुसार नै उनीहरु सल्लाह गरेर अनुपस्थित भएको देखिन्छ।  

अर्थमन्त्री पुन विभिन्न लफडा झिकेर आफु नै धितोपत्र बोर्ड चलाउने योजनामा छन्। त्यहिअनुसार नै उनले अर्थमन्त्री भएर आएयता धितोपत्र बोर्ड अध्यक्ष चयनमा विभिन्न लफडाबाजी गर्दै आएका छन्। अध्यक्षमा आफु अनुकुलको पात्र ल्याउने योजना कुनै पनि हालतमा पुरा नहुने देखेपछि नै अर्थमन्त्री पुनले अर्थमन्त्रालयबाटै धितोपत्र बोर्ड चलाउने योजना बुनेको स्रोतले जनाएको छ। 

स्रोतकाअनुसार अर्थमन्त्री पुनले आफ्नो मान्छे ल्याउने प्रयास अन्तर्गत सत्ता साझेदारमा सबैभन्दा बढी निर्णायक भूमिका रहेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग संयुक्त बैठकसमेत गरेका थिए। मान्छे आफुले भनेको हुनुपर्ने तर काम एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डले भनेझै हुने अर्थमन्त्री पुनको प्रस्ताव ठाडै अस्विकार भएपछि अर्थमन्त्रालयबाटै धितोपत्र बोर्ड चलाउने निष्कर्षमा पुन पुगेका हुन्। 

त्यहि भएर अर्थमन्त्री पुनले अध्यक्ष नियुक्ति नहुँदासम्म अर्थमन्त्रालयकै कर्मचारी स्वतः अध्यक्ष बन्नेगरि  केहि ऐन संशोधन गरेका हुन्। सोहि संशोधित ऐनमा टेकेर अर्थमन्त्री पुनले आफ्ना विश्वास पात्र नरेन्द्र कुमार रानालाई भरतपुर महानगरिपलिकाबाट सिधै अर्थमन्त्रालय तानेर बोर्डको कार्यबाहक अध्यक्ष बनाएका थिए।

जनताको आँखामा छारो हाल्नलाई अर्थमन्त्री पुनले केहि दिनलाई बैंक तथा वित्तीय समन्वय महाशाखा अर्थात् विभागीय प्रमुखलाई बोर्डको अध्यक्षमा नियुक्ति गरेका थिए। तर केहि दिनमै उनलाई हटाएर अर्थमन्त्री पुनले कुनै बेला आफ्नै  गृहजिल्लामा प्रमुख जिल्ला अधिकारी रहेका रानालाई पुरा अधिकार दिएर धितोपत्र बोर्डको कार्यबाहक अध्यक्ष बनाएका हुन्। 

संसदीय तथा राज्यका निकायले दिएका निर्देशन विपरित धितोपत्र बोर्डबाट कुनै निर्णय नगर्ने बताए पनि रानालाई नै धितोपत्र बोर्डको सम्पूर्ण बाँकी काम गराउने गरि अध्यक्ष बनाएर पठाएको पछिल्ला क्रियाकलापबाट खुलेको छ। रानाले अध्यक्ष भएलगत्तैको पहिलो बैठकबाट लेखा समितिको निर्देशनलाई संशोधन गराउने तथा वरिष्ठ कार्यकारी निर्देशकलाई साइड लगाएर जुनियर कार्यकारी निर्देशकलाई सचिव अर्थात् व्यवस्थापन र सञ्चालक बीच पुलको काम गर्ने निर्णय लिए। 

कार्यबाहक अध्यक्षमा रानालाई राखेर आफुलाई माओवादी भन्ने तर नेपाली कांग्रेसको समेत सदस्यता लिएका डा अधिकारीलाई विश्वासमा लिएर व्यवस्थापनको कामको जिम्मेवारी माओवादी निकट मानिने रुपेश घिमिरेलाई सचिवमा ल्याउनुले अर्थमन्त्री पुन धितोपत्र बोर्डलाई बन्धकमा राख्न चाहन्छन भन्ने देखाउँछ। 

कुन दुलोमा छन् शेयरबजारका नेता ?

रमेश हमालको कार्यकाल सकिएको ६ महिना वितिसक्दा पनि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति हुन सकेको छैन। अर्थमन्त्री स्वयम् नै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त नगरी आफै धितोपत्र बोर्ड चलाउन चाहन्छन्। तर उनको यस्तो बदनियतमा शेयर लगानीकर्ताको हकहितको लागि खुलेका भनेका आधा दर्जन बढी संघ संस्था तथा तीनका नेताहरु मौन देखिन्छन्।

त्यसैले पनि पछिल्लो समय शेयर लगानीकर्ताका नेताहरुमाथि नैतिक प्रश्नसमेत उब्जिएको छ। केहि अंकले बजार घट्दा तथा केहि राम्रा नीतिगत परिवर्तनमा समेत नेप्से र धितोपत्र बोर्ड घेर्न जाने शेयर लगानीकर्ताका नेताहरु छ महिनादेखि धितोपत्र बजार अर्थमन्त्री पुनबाट बन्धक बन्दासमेत उनीहरुले केहि बोल्न सकेका छैनन्।

एउटा सामान्य कार्यक्रममा समेत हानाथाप गर्ने नेताहरु धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा अर्थमन्त्री पुनबाट भएको यस्तो लज्जास्पद काममा समेत मौन बसेपछि लगानीकर्ताहरुले आफुलाई शेयर बजारका नेता भन्नेहरु कुन दुलोमा पसेका छन् भनेर प्रश्न गरेका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved