नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारीमा रहेका अर्थमन्त्रालयका सहसचिव महेश बरालमाथि बरालिएरै धितोपत्र बोर्डमा ५१ दिन बिताएको आरोप लागेको छ। सामान्यतया दैनिक प्रशासनको बाहेक अरु काम नगर्ने बताउँदै आएका बरालले धितोपत्र बजारको हितका लाग गर्नुपर्ने काम चाहिं नगरेर अरु काममा नै समय दिएपछि उनीमाथि यस्तो आरोप लागेको हो।
मापदण्ड पुर्याएर आएका कम्पनीहरुलाई साधारण शेयर, हकप्रद, डिबेञ्चर निष्कासनको अनुमती दिएर कम्पनीहरुलाई पूँजी संकलनको बाटो खोलिदिएर धितोपत्र बजारलाई सक्रिय बनाउनुपर्नेमा नेकपामाओवादी निकटका कर्मचारीलाई उनीहरुले चाहेको विभाग पठाउने र उनीहरुले चाहेको देश घुमाउनेमा नै व्यस्त रहेको आरोप उनीमाथि छ।
धितोपत्र बोर्डको दैनिक प्रशासन बाहेक अरु कुनै काममा पनि कलम नचलाउने भन्दै आएका बरालमाथि माओवादी निकटका कर्मचारीलाई उनीहरुले चाहेकै विभागमा पठाएको भन्दै त्यहाँकै कर्मचारीले असन्तुष्टि जनाएका छन्। बरालले माओवादी निकट कार्यकारी निर्देशक तहदेखि अधिकृत तहसम्मका २० जना कर्मचारीलाई उनीहरुले चाहे अनुसारको विभागामा पठाएका छन्।
स्रोतकाअनुसार माओवादी निकट मानिएका कार्यकारी निर्देशक डा नवराज अधिकारीलाई अनुसन्धान विभागबाट प्रशासन, डेपुटी कार्यकारी निर्देशक रुपेश केसीलाई प्रशासन, हरि भुसाललाई प्रशासन, नारायण शर्मालाई अनुसन्धानबाट सुपरीवेक्षण पठाइएको छ।
त्यतिमात्र नभई उनले आफुलाई सघाउने र आफ्ना कुराहरु सुन्ने सञ्चालक तथा कर्मचारीलाई विदेश भ्रमणको नाममा पोस्ने गरेका छन्। यो ५१ दिनमा बरालले करिब ३३ जनालाई विदेश भ्रमणको स्वीकृति दिएका छन्। हालै मात्रै करिब ३५ लाख रुपैयाँ खर्च हुनेगरी उनले बोर्डका चार जना र छ जनासमेत गरि १० जनालाई भारतको धितोपत्र बोर्ड नियामक सेबीको अध्यक्ष माधबी पुरी बुचविरुद्ध कर्मचारीले आन्दोलन गरिरहेकै बेला सेबीमा भ्रमणमा पठाउने निर्णय गरेका छन्।
आईपीओ, हकप्रद तथा डिबेञ्चर निष्कासन बन्द हुँदा विगत १० महिनादेखि धितोपत्रबो प्राथमिक बजार लगभग निष्क्रिय अवस्थामा छ। जसले गर्दा मर्चेन्ट बैंकर, क्यापिटल, निष्कासन अनुमतिको पर्खाईमा रहेका कम्पनी, आरटीएस जस्ता संस्थाहरु व्यवसाय नै नपाएर हैरान छन्। तर अर्थ मन्त्रालयबाट प्रतिनिधिको रुपमा आएका बराल कर्मचारी अरुवा र विदेश भ्रमणमा रमाउन थालेपछि अहिले उनको ‘नियत’ माथि धितोपत्र बोर्डकै कर्मचारीहरुले प्रश्न उठाउन थालेका छन्।
धितोपत्र बोर्डको अध्यक्षसहित बीमा संस्थानको अध्यक्ष र त्रिभुवन विमानस्थलको भन्सार कार्यालय हेर्ने जिम्मा पाएका बरालले धितोपत्र बोर्डमा ‘लफडा’ भएकोले कलम पनि चलाउँदिन भन्ने गरेको तर माओवादीका कर्मचारी पोस्ने काममा भने ब्यस्त हुन थालेपछि रुष्ट कर्मचारीहरु प्रधानमन्त्री कार्यालय नै गुहार्ने तयारीमा छन्।