गैरआवासीय नेपालीको लागि पनि नेपालको शेयर बजार खुला तर लागू हुनेछन दर्जनौं शर्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2024 | 09:12:53 AM मा प्रकाशित

laxmi sunrise bank

नेपालको प्राथमिक तथा दोस्रो बजार अन्तत: गैरआवासीय नेपालीको लागि पनि खुला भएको छ। सरकारले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका ०८१ संशोधनमार्फत यस्तो व्यवस्था गरेको हो। 

नेपाल सरकार र गैरआवासीय नेपाली  (एनआरएन) को संयुक्त लगानी रहेको कम्पनीले प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्न पाउने र त्यसमा एनआरएन हरुले लगानी तथा कारोबार गर्न पाउने भएसंगै नेपालको शेयर बजार एनआरएन को लागि खुला भएको हो। 

तर यसकालागि केहि शर्तहरु राखिएका छन्। जसमा आइपीओ निष्काशन गर्ने कम्पनीमा नेपाल सरकार र एनआरएनको संयुक्त लगानी हुनुपर्नेछ। सेयर निष्कासन गर्नुपूर्व सेयर बोर्डमा दर्ता गर्नुपर्ने प्रावधान निर्देशिकामा छ ।

यसरी निष्काशन भएका आइपीओमा एनआरएनले मात्र लगानी तथा कारोबार गर्न पाउनेछन। र आईपीओ बिक्री गरेर संकलन गरेको रकम त्यो कम्पनीले नेपालको पूर्वाधार विकासमा लगाउनुपर्नेछ। यसरी जारी भएको आईपीओ दोस्रो बजार कारोबारका लागि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पनि हुन पाउनेछ , तर दोस्रो बजारमा पनि त्यो सेयर एनआरएनले मात्र खरिदबिक्री गर्न पाउँछन् । यो सेयर कारोबारका लागि एनआरएनले नेपाली बैंकमा अमेरिकी डलरमा खाता खोल्नुपर्नेछ । यो सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्जले छुट्टै प्लेटफर्म (विन्डो) प्रदान गर्नुपर्नेछ । 

यस्ता कम्पनीले जारी पुँजीको १० प्रतिशतभन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी सेयर जारी गर्न पाउँछन् । संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीले प्रिमियम थप गरी सेयर निष्कासन गर्न पाउनेछैनन । 

दरखास्त खुला रहने अवधि कम्तीमा चार कार्यदिन हुनेछ । सबै सेयर बिक्री नभए कम्पनीले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा १५ दिनका लागि सेयरको दरखास्त खुला राख्न सक्नेछ। आवेदकहरूले न्यूनतम सीमा एक हजार कित्ता र अधिकतम सोको गुणांकमा हुने गरी आवेदन दिन सक्नेछन् ।

आवेदकको धितोपत्र खरिद दरखास्त संकलनसम्बन्धी कार्य गर्न आस्बा अनुमति प्राप्त कुनै बैंक तथा वित्तीय संस्थामा गैरआवासीय नेपालीको नेपाली रुपैयाँमा रकम रहने गरी बैंक खाता हुनुपर्नेछ । आवेदकले आवेदन दिँदा विदेशी मुलुकको नागरिकता वा राहदानी वा त्यस्तो विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र र गैरआवासीय नेपाली नागरिकता वा गैआवासीय नेपाली परिचयपत्र पेस गर्नुपर्ने व्यवस्था छ ।

कम्पनीले निष्कासन गरेको सेयर बाँडफाँट भएको मितिले एक वर्षको अवधि पूरा नभई खरिद बिक्री गर्न नपाइने व्यवस्था छ । निर्देशिकामा विदेशी लगानी तथा रकम फिर्तासम्बन्धी विशेष व्यवस्था निष्कासित सेयरमध्ये ५० प्रतिशतभन्दा कमका लागि आवेदन परेमा त्यस्तो निष्कासन प्रक्रिया रद्द हुनेछ । सेयरधनीले खरिद नगरे प्रचलित कम्पनी ऐनबमोजिम पुँजी संरचनामा हेरफेर गरी सेयर पुँजी समायोजन गर्नुपर्नेछ ।

गैरआवासीय नेपालीले खोल्ने खातामा प्रचलित कानुनअनुसार प्राप्त हुने विदेशी मुद्रा, विनिमय दरलगायतका राष्ट्र बैंकले तोकेबमोजिमका विवरण सम्बन्धित आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले अद्यावधिक गरी राख्नुपर्नेछ ।

लगानी फिर्ता र रकम फिर्ता (रिप्याट्रिएसन) सम्बन्धी व्यवस्था 'विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, ०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली- ०७७',  'औद्योगिक व्यवसाय ऐन-०७६',  'नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली-०७८' र नेपाल राष्ट्र बैंकले निर्धारण गरेबमोजिम हुनेछ। 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved