अन्तत: धितोपत्र बोर्डले पायो नेतृत्त्व, को हुन् अध्यक्ष नियुक्त भएका श्रेष्ठ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2024 | 07:06:00 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल धितोपत्र बोर्डले एघार महिनापछि कार्यकारी अध्यक्ष पाएको छ। मङ्सिर दश गते साँझ ५ बजे बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गर्दै एघार महिनापछि बोर्डलाई नेतृत्त्व दिएको हो। 

अर्थमन्त्री बिष्णु पौडेलले मन्त्रिपरिषदमा पेश गरेका तीन जना मध्ये श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गरिएको हो। मन्त्री पौडेल समक्ष छनौट समितिले अध्यक्षका लागि श्रेष्ठ सहित धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय मुक्ति श्रेष्ठ र डा नबराज अधिकारीलाई प्रस्ताव गरेको थियो।  

धितोपत्र बोर्ड तत्कालिन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि २०८० पुस २० पछि कार्यकारी अध्यक्ष विहीन अवस्थामा थियो। 

को हुन् श्रेष्ठ ?

बिजपाटीलाई अर्थमन्त्रालयबाट प्राप्त श्रेष्ठको बायोडाटाअनुसार श्रेष्ठको जन्मथलो स्याङ्गजा भए पनि पढाई र कर्मथलो काठमाडौँ भएको देखिन्छ । २०३३ सालमा स्याङ्गजाको भिरकोट नगरपालिकामा जन्मिए पनि उनको पढाई तथा कर्मथलो काठमाडौँ र बुटवल हो ।

काठमाडौँ विश्वविध्यालयबाट फाइनान्समा एमबीए गरेका श्रेष्ठको पढाई मात्र नभई अनुभव पनि बैंक वित्तीय क्षेत्र नै देखिन्छ । श्रेष्ठसँग स्वाभिमान लघुवित्त वित्तीय संस्थामा झन्डै ८ वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव छ भने तत्कालिन नेपाल एक्सप्रेस फाइनान्समा (कैलाश विकास बैंक हुँदै हाल प्राइममा मर्ज भएको) १० दश वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव छ । यी दुवै संस्थामा श्रेष्ठ संस्थापक अध्यक्ष हुन् । 

पदीय हिसाबले मात्र नभई संस्थाको संस्थापक तथा लगानीकर्ताको हिसाबले पनि श्रेष्ठले लघुवित्त तथा फाइनान्स कम्पनी र विकास बैंक हुँदै बैंक सञ्चालनको अनुभव प्राप्त गरेको देखिन्छ । 

त्यतिमात्र नभई श्रेष्ठसँग नेपाल विद्युत प्राधिकरणमा तीन वर्ष सञ्चालक समिति सदस्यको रुपमा काम गरेको अनुभव पनि छ । उनले वित्तीय क्षेत्रबाट प्रतिनिधित्व गर्दै प्राधिकरणमा सञ्चालक समितिको जिम्मेवारी निर्वाह गरेका हुन् ।

लगानीकर्ताको हिसाबले बैंक वित्तीय संस्थाको नेतृत्वमा रहेको मात्रै नभई श्रेष्ठसँग सोप एण्ड केमिकल, हाइड्रोपावर तथा कलेजहरुमा प्रत्यक्ष जिम्मेवारी निभाएर काम गरेको अनुभव रहेको छ । हाल श्रेष्ठ तथा उनको परिवारको लगानीमा तीन भन्दा बढी हाइड्रोपावर रहेका छन् । 

त्यस्तै आवद्दताका हिसाबले पनि श्रेष्ठ म्यानेजमेन्ट एसोसियसन नेपाल (म्यान)को आजीवन सदस्य, रुपन्देही चेम्बर अफ इन्डस्ट्रिजको कार्यकारी सदस्य रहेका छन्। 

प्रत्यक्ष रुपमा कुनै पनि सरकारी निकायमा नियुक्ति नलिएकाले बजारमा चर्चा नबटुले पनि श्रेष्ठ शैक्षिक योग्यताका हिसाबले मात्रै नभई अनुभव र क्षमताका हिासबले पनि प्रतिस्पर्धीहरुलाई टक्कर दिने अवस्थामा रहेको उनको बायोडाटाबाट देखिन्छ ।


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved