राजधानी काठमाडौंलगायत देशका धेरै ठाउँमा आईभीएफ (इनभिट्रो फर्टिलाइजेसन) का नाममा मनपरी भईरहेको पाइएको छ। नेपाल सरकारले संचालन अनुमति दिएपनि मापदण्डको अभावमा यस्ता संस्थाहरुलाई मनपरी गर्ने बाटो खुलेको हो।
स्वास्थ्यमन्त्रालयले जनसंख्या सेवा ऐन २०७५ तथा जनसेवा स्वास्थ्य नियमावली २०७७ अनुसार यस्ता संस्थाहरुलाई संचालनको अनुमति दिएको छ। तर सञ्चालन अनुमति लिएका धेरैजसो आईभीएफ सेन्टर विशेषज्ञविनै चलिरहेको पाइएको छ भने केहि आइभीएफ सेन्टर स्वास्थ्य मन्त्रालयबाट अनुमती लिए बिना गैरकानुनी रुपमा संचालनमा रहेको पाइएको छ।
त्यस्तै संचालन अनुमति लिएकाहरु पनि कतिपयले गैरकानूनी रूपमा शाखा खोलिरहेका छन् भने कतिपय भारतमा दर्ता भएर नेपालमा चलेका छन् । बिजपाटी डटकमले गरेको खोजमा यस्तो तथ्य फेला परेको हो ।
संचालन अनुमति लिएका हुन् वा गैरकानुनी रुपमा चलेका आईभीएफहरुले मापदण्ड नहुँदाको फाइदा उठाउदै सन्तान सुख दिने नाममा हजारौं निसन्तान दम्पतीबाट लाखौं असुल्दै आएका छन्। यसरी लाखौँ असुलेपनि लेनदेनको पारदर्शिता नहुँदा राजस्व समेत छली भएको पाइएको छ।
काठमाडौंका गल्लीगल्ली मात्र नभएर राजधानीबाहिरका मुख्य शहरमा पचासौंको संख्यामा यस्ता आईभीएफ सेन्टरहरू चलिरहेका छन् । न तिनमा सरकारको अनुगमन छ, न त नियमन नै ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको जानकारी अनुसार, १५ वटा आइभिएफ सेन्टरले मात्र कानूनी इजाजत प्राप्त गरेका छन्। तर मापदण्ड बिना नै संचालन अनुमति दिईएको पाइएकोले मन्त्रालय तथा उच्च पदस्तहरुसंगको साँठगांठमा यस्ता आईभीएफ सेन्टरहरू चलिरहेको आशंका देखिएको छ।
मापदण्डको अभावमा मनपरी
प्राकृतिकरूपले बच्चा जन्माउन नसक्ने दम्पतीका लागि 'टेस्ट ट्युब बेबी' जन्माइदिने नाममा अहिले संसारभर नै आईभीएफ सेन्टरहरू खुलेका छन् । तर सहजै 'सेटिंग' मा अनुमती लिएर नेपालला संचालन भईरहेका आइभिएएफ सेन्टरहरु मापदण्ड अभाबको फाइदा उठाएर मनपरी रुपमा चलेको पाइएको छ।
मन्त्रालयले अनुमति दिएको भनिएता पनि महिलाको अण्डा र पुरुषको वीर्यलाई निकालेर बाहिर निषेचन गराई पुनः महिलाको पाठेघरमा प्रत्यारोपण गर्नुपर्ने यो प्रक्रियामा विशेषज्ञको योग्यता कति हुने भन्नेबारे कुनै मापदण्ड तथा निर्देशिका बनाइएको छैन ।
भारतमा तालिम लिएर आएको, नेपालमै सिकेको अथवा कुनै देशमा ६/८ महिना फेलोशिप गरेको दाबी गर्ने 'कथित विशेषज्ञ'लाई नागरिकको स्वास्थ्यमाथि खेलबाडको अधिकार दिने काम मन्त्रालयले गरिरहेको छ । यसका अलावा विशेषज्ञ हुँ भन्ने दाबी गर्दै एमबीबीएस गरेका गाइनोकोलोजिस्टहरूले पनि आईभीएफ प्रविधिका नाममा महिलाहरूको पाठेघरलाई प्रयोगशाला बनाइरहेका छन् ।
नेपालमा अनुमति लिएर चलेका भनिएका आईभीएफ सेन्टरहरूमै विशेषज्ञ डाक्टर नरहेको पाइएको छ। अनुमति लिएर सञ्चालनमा रहेका भनिएका वात्सल्या, हार्दिक, नेसनल, सुभश्री, इन्दिरा, काठमाडौं फर्टिलिटी सेन्टर, होप फिर्टलिटी सेन्टर, एन्जल फर्टिलिटी क्लिनिक, नेपाल इन्टरनेसनल फर्टिलिटी,क्रिएटर्स आईभीएफ, मनमोहन आईभीएफ, ह्याम्स,वरदान फर्टिलिटी,स्नेहा फर्टिलिटीलगायतमा विशेषज्ञ उपलब्ध नभएको पाएको छ।
समिति गठन,तर मापदण्ड नबनाउन लबिङ
'केही महिना तालिम लिएर इम्ब्रोयलोजिस्ट बनिन्न' बाँझोपन व्यवस्थापन सेवा सञ्चालन मापदण्डसम्बन्धी निर्देशिका बनाउन गठित समितिका एक सदस्यले भने, 'तर, यहाँ तालिम लिएको भरमा यस्ता आईभीएफ सेन्टरमा अयोग्यको हातमा निसन्तान दम्पतीले आफ्नो बच्चाको जिम्मेवारी दिइरहेका छन् ।'
उनले यो समिति बनेको ६ महिना भएपनि अहिलेसम्म परिणाम देखिनेगरी काम नभएको बताए । समितिमा डा. पदमराज पन्त पन्त, प्रसुती गृहका श्रीप्रसाद अधिकारी र स्वस्ती शर्मा छन् ।
समितिले प्रारम्भिक रूपमा ड्राफ्ट पनि तयार गरेको थियो । आईभीएफमा हुनुपर्ने मानव जनशक्तिमा कम्तीमा एकजना मान्यता प्राप्त शिक्षण संस्थाबाट मेडिकल क्लिनिकल इम्ब्रियोलोजी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको व्यक्ति हुनुपर्ने प्रावधान समेटिएपछि सञ्चालनमा रहेका आईभीएफहरू तर्सेको स्रोत बताउँछ ।
यो योग्यता भएको कुनै पनि व्यक्ति नेपालमा सञ्चालित आईभीएफमा नभएकाले संगठितरूपमै यस्तो प्रावधान नराख्न लबिङ गरिँदै आएको छ । स्रोतका अनुसार मन्त्रालयका कतिपय कर्मचारीले नै अयोग्य आईभीएफ सेन्टरको प्रभावमा परेर समितिलाई काम गर्न दिएका छैनन् ।
'समितिले जथाभावी निर्देशिका बनाउने कुरा भएन । विश्व स्वास्थ्य संगठनको मापदण्डलाई आधार बनाएर निर्देशिका बनाउने हो भने यहाँ सबैको धन्दा चौपट हुन्छ,' स्रोतले भन्यो ।
छैनन् योग्य विशेषज्ञ
क्लिनिकल इम्ब्रियोलोजीमा स्नातकोत्तर गरेर परिषदमा दर्ता भएका (दर्ता नम्बर १) व्यक्ति नेपालमा जम्मा एकजना रहेको परिषदले जनाएको छ। परिषदकाअनुसार परिषदमा दर्ता भएका इम्ब्रियोलोजिस्ट जम्मा एकजना छन्। परिषदमा दर्ता हुन सम्बन्धित विषय पढेको हुनुपर्छ। चिकित्सा शिक्षा आयोगबाट एनओसीसँगै परिषदमा निवेदन दिनुपर्छ। त्यसपछि परिषदको विविध समितिले यसलाई हेर्छ । परिषदले पनि परीक्षा लिन्छ र पास भएपछि मात्र त्यो इम्ब्रियोलोजिस्ट बन्छ । अनि मात्र त्यो आईभीएफ चलाउन योग्य हुन्छ।
परिषदमा दर्ता भएका एकमात्र इम्ब्रियोलोजिस्ट अशोककुमार झा हुन् । उनी त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित टिचिङ अस्पताल महाराजगञ्जमा काम गर्छन् ।
नेपालमा संचालनमा रहेका केहि आइभीएफ सेन्टरले आफुहरुकोमा इम्ब्रियोलोजिस्ट भएको दाबी गरेका छन् तर त्यो दाबी परिषदका अनुसार झुटो साबित भएको छ। आइभीएफ सेन्टरमा काम गर्ने अधिकांश डाक्टरहरुले आफुहरुलाई आइभिएफ़ विशेषज्ञ भनेर चिनाएका छन् तर उनीहरु विशेषज्ञ हुन् भनेर नेपालको सम्बन्धित निकायबाट पुष्टि हुँदैन। यो समस्या नेपालका प्राय: सबै आईभीएफ सेन्टरहरूमा छ ।
यससँगै नेपालका अधिकांश आईभीएफहरूमा आवश्यक मात्रामा भौतिक पूर्वाधार छैनन् । सानो फ्ल्याटमा चलाइएका छन् । बाहिरै निशेचित डिम्ब र शुक्रकिटलाई आवश्यक तापक्रम र आवश्यक वातावरणीय अनुकूलन चाहिन्छ । वातानुकूलित अवस्था सिर्जना गर्न महंगो उपकरण आवश्यक पर्छ ।
पैसाको लागि आमा बन्ने क्षमता गुमाउंदै नेपाली युवती
निसन्तान दम्पतीका लागि बरदान देखिएका आइभिएफ़ सेन्टरहरु अहिले हजारौं युवतीहरुको बाँझोपनको जिम्मेवार देखिएका छन्। बिशेषगरि दम्पतिमध्ये महिलामा कमजोरी देखिएकाको हकमा स्वस्थ महिलाबाट पैसा दिएर डिम्ब खरिद गर्ने गरिएको छ। भारत लगायतका देशमा महिलालाई आफ्नो डिम्ब दान वा विक्री गर्नलाई कडाई गरिएको भएपनि नेपालमा त्यसको कुनै लेखाजोखा नै छैन।
भारतमा विहे पश्चात एउटा बच्चा भैसकेका महिलालाई मात्रै जीवनकालमा एक पटक डिम्ब दान वा विक्रीको अनुमति छ तर नेपालमा विहे नभएका हजारौं युवतीले पैसाको लागि डिम्ब बिक्रि गरिरहँदा भोलि उनीहरुमा बाँझोपन आउने खतरा रहेको यस क्षेत्रका जानकार बताउछन।
के भन्छ स्वास्थ्य मन्त्रालय ?
नेपालमा कति आईभीएफ सेन्टर चलेका छन् भन्ने आधिकारिक तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन । 'गैरकानूनी रूपमा चलेका छन् भने त त्यसको जिम्मेवारी गृहअन्तर्गतको जिल्ला प्रशासन कार्यालयले लिने हो, समाउने हो अनि बन्द गराउने हो,' मन्त्रालयका एक अधिकारी भन्छन् ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पनि अहिलेसम्म मापदण्ड नबनेको स्वीकारे । 'आईभीएफको मापदण्ड अहिलेसम्म बनेको छैन,' उनले भने, 'हामी बनाउने क्रममा छौं।'