कसका लागि होइन धितोपत्र बोर्डले ल्याएको नयाँ ‘एसएमईज प्लेटफर्म’, के भन्छन् सेबोन र नेप्से ?

सीता बुढाथोकी

सीता बुढाथोकी

Feb 03, 2025 | 08:43:10 PM मा प्रकाशित

laxmi sunrise bank

नेपालमा साना तथा मझौला कम्पनीहरूको (एसएमई) धितोपत्र कारोबारलाई लक्षित गरी नयाँ ‘एसएमईज प्लेटफर्म’ सञ्चालनमा आएको छ। अब २५ करोडभन्दा कम चुक्ता पूँजी भएका कम्पनीहरूले सो प्लेटफर्ममार्फत शेयर बजारमा कारोबार गर्न सक्नेछन्।

नेपाल धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाका धितोपत्र कारोबारका लागि नयाँ नियमावली लागू गरेको छ। हालसम्म २५ करोडभन्दा कम चुक्ता पूँजी भएका कम्पनीहरू शेयर बजारमा कारोबार गर्दै आएका थिए। अब भने यस्ता कम्पनीहरूको कारोबार ‘एसएमईज प्लेटफर्म’ अन्तर्गत मात्र हुनेछ।

बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार अब २५ करोड मुनिका कम्पनीहरूले आईपीओ निष्कासनका लागि स्वीकृति लिँदा एसएमईज प्लेटफर्ममा सूचीकृत हुने गरी अनुमति प्रदान गरिनेछ। यसका लागि आवश्यक नियमन तथा संरचना तयार गरिन लागेको छ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले एसएमई कम्पनीहरूको कारोबार प्रक्रिया पारदर्शी बनाउन नयाँ नियमावली र कारोबार संयन्त्र तयार भइरहेको बताए। उनका अनुसार, नेप्से बोर्ड बैठकले यसबारे निर्णय गरेपछि लागू गरिनेछ। साथै, नेप्सेले तयार पारेको विनियमावलीलाई धितोपत्र बोर्डले स्वीकृत गरेपछि मात्रै कार्यान्वयन हुनेछ।

नयाँ नियम अनुसार, आईपीओमा आवेदन दिने लगानीकर्ताले कम्तिमा ५०० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ। शेयरको अङ्कित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

यस प्लेटफर्ममा सूचीकृत कम्पनीहरूको कारोबारले नेप्सेका प्रमुख सूचकहरूमा प्रत्यक्ष प्रभाव नपार्ने प्रवक्ता पराजुलीले बताए। उनका अनुसार, एसएमई कम्पनीहरूको आईपीओ तुलनात्मक रूपमा जोखिमयुक्त हुने भएकाले सबै लगानीकर्ताका लागि उपयुक्त नहुन सक्छ।

प्रवक्ता पराजुलीका अनुसार एसएमई कम्पनीहरू नयाँ तथा साना भएका कारण जोखिम लिन सक्ने लगानीकर्ताका लागि मात्र उपयुक्त हुनेछन्। “एसएमईज प्लेटफर्म सबैका लागि ल्याइएको होइन,” उनले भने, “जोखिम मोल्न सक्ने लगानीकर्ताले मात्र यस्ता कम्पनीका शेयरमा लगानी गर्नु उचित हुन्छ। नयाँ खुलेका सबै कम्पनी राम्रो हुने ग्यारेन्टी हुँदैन, त्यसैले आम लगानीकर्ताले बुझेरै निर्णय गर्नुपर्छ।”

हाल आईपीओ पाइपलाइनमा रहेका केही कम्पनीहरू २५ करोडभन्दा कम चुक्ता पूँजीका छन्। प्रवक्ता घिमिरेका अनुसार ती कम्पनीहरूको अवस्थाबारे धितोपत्र बोर्डले कुनै निर्णय गरिसकेको छैन। तर, हाल बजारमा सूचीकृत भइसकेका २५ करोडभन्दा कम चुक्ता पूँजीका कम्पनीहरूलाई भने यसले असर गर्नेछैन।

एसएमईज प्लेटफर्म लागू भएसँगै साना तथा मझौला कम्पनीहरूले पूँजी जुटाउन सहज हुने अपेक्षा गरिएको छ। यसबाट नेपालका स्टार्टअप तथा लघु उद्यमहरूले वित्तीय स्रोतहरू सहजै जुटाउने अवसर पाउनेछन्, जसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved