राष्ट्र बैंकलाई टाउको दुखाइ बन्यो कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 20, 2025 | 08:45:39 AM मा प्रकाशित

राष्ट्र बैंकलाई कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन टाउको दुखाइ बनेको छ। चरम अपचलन भएको निष्कर्षपछि संचालक समितिको सिफारिसमा टेक ओभर गरिएको बैंकलाई व्यवस्थापन गर्न कठिन भइरहेको छ। 

बैंक स्रोतकाअनुसार, बजारबाट निक्षेप संकलनको बाटो रोकिएको र ऋणीबाट ऋण असुली सोचे जस्तो नभएकोले निक्षेपकर्तालाई रकम फिर्ता गर्न नै समस्या उत्पन्न भएको हो। निक्षेपकर्तालाई रकम फिर्ता गर्नका लागि भल्टमा पर्याप्त नगद छैन। 

बजारबाट निक्षेप संकलनको बाटो रोकिएको छ भने ऋणीहरूबाट असुली समेत न्यून छ। बैंकसँग करिब नगद एक अर्बसहित डेढ अर्ब रुपैयाँ अपचलन भएको देखिएको छ। नियमित खर्चका लागि समेत नगदको अभाव भएपछि ऋणीबाट रकम असुली वा सम्पत्ति बिक्री नभएसम्म शाखा खोल्ने वा बन्द गर्ने निर्णय भइरहेको छ।

बैंकमा कुल ४ अर्ब ६६ करोड निक्षेप र २ अर्ब ५२ करोड कर्जा प्रवाह भए पनि आवश्यक मौज्दात रकम नदेखिएपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दै टेक ओभर गरेको हो। राष्ट्र बैंकले टेक ओभर गरेपछि टीकाराम खतिवडाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरी बैंकको व्यवस्थापनको जिम्मेवारी दिइएको छ। तर, वित्तीय संकट झन् जटिल बन्दै जाँदा राष्ट्र बैंकलाई पनि व्यवस्थापन गर्न गाह्रो भइरहेको छ।

स्रोत भन्छ,  बैंकका जिम्मेवार व्यक्तिहरू नै नेपालगन्जका मिटर व्यवसायीसँग मिलेर मिटरब्याजमा लागेको सुनिएको थियो तर मिटरब्याजमै लागेको पुष्टि भएको छैन। तर कर्जा अपचलन र निक्षेप दुरुपयोगमा मिटरब्याजको आरोप लागेका व्यक्तिहरुको संलग्नता देखिएको छ। 

कुनै समय लगातार तीन वर्षसम्म लाभांश वितरण गर्न सफल बैंक चरम अपचलनका कारण अहिले गम्भीर आर्थिक संकटमा पुगेको छ। यो विषयमा बिजपाटी डटकमले करिब साढे दुई वर्षअघि नै खोजमूलक समाचार प्रकाशित गरेको थियो।

समितिको प्रतिवेदन अनुसार अपचलनमा पूर्वअध्यक्ष राजेन्द्रवीर राय, पूर्वप्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावत, वित्त विभागका पूर्वप्रमुख महादेव (वेदप्रकाश सिंह ठकुरी), तथा हालका सीईओ नीरज विक्रम शाह संलग्न रहेको पाइएको छ। 

बैंकको आर्थिक सुधारका लागि राष्ट्र बैंकले थप रणनीति ल्याउनुपर्ने देखिएको छ भने अपचलनमा संलग्न पदाधिकारीहरूमाथि कडा कानुनी कारबाही आवश्यक देखिन्छ। यद्दपि, कारबाहीको लागि नेपाल राष्ट्र बैंकको अन्तिम प्रतिवेदनको पर्खाईमा रहेको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ। 


- कर्णाली डेभलपमेन्ट बैंकमा १ अर्ब २६ करोड रुपैयाँ अपचलनको खुलासा, के भन्छ राष्ट्र बैंक ?

- यसरी डुबाइयो कर्णाली डेभलपमेन्ट बैंक, राष्ट्र बैंकका गभर्नर पनि उत्तिकै जिम्मेवार

- [Exclusive] कर्णाली डेभलपमेन्ट बैंक मिटरब्याजीको कब्जामा, निक्षेपकर्ताको अर्बौं रकम जोखिममा

- कर्णाली डेभलपमेन्ट बैंकमा यसरी गरिन्छ 'निमुखा' प्रयोग गरेर अर्बौंको अपचलन

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved