व्यापार व्यवसाय संचालन गरेर भन्दा सर्वसाधारणलाई साधारण शेयर निष्काशन गरेर मनग्गे कमाई गर्ने सोच बनाएका कम्पनीहरुलाई गम्भीर धक्का लागेको छ। नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठको नेतृत्त्वमा रहेको नेपाल धितोपत्र बोर्डको पछिल्लो निर्देशनले आईपीओलाई कमाई खाने भाँडो बनाएका कम्पनीलाई यस्तो धक्का लागेको हो।
धितोपत्र बोर्ड स्रोतअनुसार, आइपीओको पाइपलाइनमा रहेका दुईवटा कम्पनीको प्रति कित्ता पचास रुपैयाँ कायम गरिएकाले उनीहरुलाई प्रति कित्ता एक सय रुपैयाँ नै कायम गरेर आइपीओ निष्काशनको अनुमति लिन आउँनलाई निर्देशन दिइएको छ। यसरी निर्देशन पाउनेमा अकामा होटल र सांसद राजेन्द्र बजगाईको लगानीको एक होटल रहेको छ।
बोर्डको निर्देशनअनुसार अब यी दुई होटलले आफ्नो बिशेष साधारणसभा डाकेर प्रति कित्ता पचास रुपैयाँको सेयरलाई प्रति कित्ता सय रुपैयाँ कायम गर्नुपर्ने भएको छ। सोहिअनुसार सांसद बजगाईको होटलले स्पेशल एजिएम समेत डाकिसकेको छ।
धितोपत्र बोर्डले प्रति कित्ता ५० रुपैयाँको दरले सर्वसाधारणलाई आइपीओ बिक्रि गरिसकेको हाथवे इन्भेष्टमेन्ट नेपाललाई पनि शेयरको मूल्य प्रति कित्ता एक सय रुपैया कायम गर्नलाई निर्देशन दिएको छ। हाथवेको प्रति कित्ता शेयर मूल्य यत्तिखेर प्रति कित्ता १२८४ रुपैयाँ पुगेको छ। यो भनेको , हाथवे को शेयर मूल्य यति बेला प्रति कित्ता २४०० पुगेको हो। तर आम सर्वसाधारणलाई यसको प्रति कित्ता आधार मूल्य पचास रुपैयाँ हो भन्ने हेक्का कमै रहेको पाइएको छ।
तत्कालिन अध्यक्ष रमेश हमालले हाथवे लाई धितोपत्र बोर्डले चाहेको बेलामा उसको आधारभूत शेयर मूल्य प्रति कित्ता एक सय रुपैयाँ बनाउनलाई निर्देशन दिन सक्ने शर्त राखेर आइपीओ अनुमति दिएकाले बोर्डले अहिले त्यो सुविधा प्र्ग्योग गरेको बोर्डको भनाई छ।
प्रति कित्ता पचास रुपैयाँ तोकेर सर्वसाधारणलाई आइपीओ विक्री गर्दा सर्वसाधरण झुक्किएको र यसरी झुक्याउने कम्पनीले अनावाश्यक फाइदा उठाएको धितोपत्र बोर्डको बुझाई छ।
त्यस्तै, कुल चुक्तापुंजीको दश प्रतिशत आइपीओ मात्रै ल्याएर त्यसको माग र आपूर्तिमा खेलेर कर्नारिंग गरी सेयर मूल्यमा खेल्ने काम बढेको भन्दै बोर्डले सबै कम्पनीलाई अब कम्तिमा २० प्रतिशत आइपीओ विक्रीको प्रस्ताव ल्याउनलाई निर्देशन दिएको छ। यसका लागि पाइपलाइनमा रहेका कम्पनीहरुले आन्तरिक तयारी गरिसकेको बोर्डको दाबी छ।
धितोपत्र बोर्डका यो कडा कदमले ‘आइपीओको नाममा 'सर्वसाधारण झुक्याउने' र 'मूल्यमा कर्नरिंग ’ गरेर मनग्गे कमाई गर्ने उदेश्यले सेयर बजारमा सुचिकृत हुन आउँने कम्पनीमाथि गम्भीर धक्का लागेको छ भने आम सेयर लगानीकर्ताको लगानी थप सुरक्षित हुने अपेक्षा गरिएको छ।