बिहेको सिजनमै सुन अभावः दैनिक ५० किलो माग, १० किलो आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2022 | 10:00:47 AM मा प्रकाशित

laxmi  sunrise bank

सामान्यतया, साउन महिनाबाट नेपाली समाजमा सुनको माग बढ्न सुरु हुन्छ । भदौमा महिलाहरुको चाड हरितालिका तीज पर्ने भएकाले सुनको माग साउनबाटै सुरु हुन्छ । असोजमा पनि दशैँ पर्ने हुनाले चाडवाडको अवसर पारे गरगहना जोड्ने मान्छेहरु हुन्छन् ।

कार्तिकमा तिहार पर्ने भएकाले सुनको माग अत्याधिक हुन्छ । लक्ष्मी पूजामा गरगहना पूजा पनि गरिन्छ । त्यसपछि मंसिर आउँछ, मंसिरमा बिहेको लहर नै चल्छ । यस महिनामा सुनको माग ह्वात्तै बढ्छ ।

छैन सुन

सुनको माग बढ्ने समयमै बजारमा सुनको अभाव छ । आयातमा माग भन्दा अत्यन्त कम कोटा प्रणाली कायम हुँदा बजारमा कच्चा सुनको अभाव देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले सुनको माग दैनिक ५० किलो छ । तर, राष्ट्र बैंकले सुन आयातको कोटा दैनिक १० किलो मात्रै तोकिदिएको छ । जसका कारण माग अनुसार सुन उपलब्ध हुन सकेको छैन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य बजारमा सुनको माग बढिरहेको तर, सुन नहुँदा समस्या भएकाले आफूहरुले आयातमा तोकिएको १० किलोको कोटा बढाउन माग गरिरहेको बताउँछन् । काठमाडौँ उपत्यकासँगै, बाहिरका जिल्लाहरुबाट पनि व्यवसायीहरुले सुन अभाव भएको भन्दै पटक पटक गुनासो गरिरहेको र आफूहरुले व्यवसायीहरुको तर्फबाट राष्ट्र बैंकमा कोटा बढाउन अनुरोध गरिरहेको भएपनि सुनुवाई नभएको उनको गुनासो छ ।

अर्डर लिन नसकिएको गुनासो

व्यवसायीहरुले पर्याप्त सुन नहुँदा अर्डर लिन पनि नसकिएको गुनासो गर्दै आएका छन् । यति मात्रै नभई, कोरोनाको समयमा दैनिक २५ किलोसम्म सुन आयात गर्न दिएको राष्ट्र बैंकले अहिले माग बढ्दो क्रममा रहेका बेला १० किलोमा खुम्च्याउनु अन्याय भएको व्यवसायीहरुको दुःखेसो छ ।

एक दम्पतीको व्यक्तिको बिहेमा औसतमा कम्तीमा ८ देखि १० तोला सुन खपत हुन्छ । तर, व्यवसायीहरुले नयाँ गहनाको अर्डर लिन नसकिरहेको बताउने गरेका छन् । 

सुनको आपूर्ति बढाउने पक्षमा छैन राष्ट्र बैंक

नेपालमा संयुक्त अरब इमिरेट्स (यूएई),  स्वीट्जरल्यान्ड, टर्की, अष्ट्रेलिया लगायतका देशबाट सुन आयात हुन्छ । तर, राष्ट्र बैंकले विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि सुन आयातको कोटा कोभिड कालमा भन्दा १५ किलोले घटाएर दैनिक १० किलोमा सिमित गरिदिएको छ ।

अहिले व्यवसायीहरुले सुन आयातको कोटा बढाउन माग गरिरहेको भएपनि राष्ट्र बैंक कोटा बढाउने पक्षमा देखिएको छैन । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार विदेशी मुद्राको सञ्चितिमा देखिएको दबाब कमी हुँदै आएपनि अहिले नै आयातलाई पूर्ववत् अवस्थामै फर्काउने अवस्था नहुँदा सुनसहित अन्य बस्तुको आयातलाई निरुत्साहित गर्ने नीतिगत प्रवन्ध तत्काल फेरबदल हुने सम्भावना छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved