रुस र चीनका कारण विश्वभर सुनको भाउ आकासियो, नेपालमा कतिसम्म पुग्ला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2023 | 02:02:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सुनको भाउले पछिल्लो पटक मंगलबार रेकर्ड तोड्यो । मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा किनबेच भयो । यो हालसम्मकै उच्च मूल्य थियो ।

बुधबार तोलामा १ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

नेपाली समाजमा सुनको माग बढ्ने सिजनमै भाउ आकासिएपछि बिक्रेता र क्रेता दूबै मारमा परेका छन् । भाउ बढेपछि सुन खरिद गर्नेहरु घट्दा व्यवसायमा प्रभाव पर्ने सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियश श्रेष्ठ बताउँछन् । उनका अनुसार मंसिरमा भन्दा पनि माघ र फागुनमा सुनको माग अत्याधिक हुन्छ । यी २ महिनामा बिबाहका लगनहरु प्रशस्त हुने भएकाले दैनिक ४० किलोसम्म सुनको माग हुन्छ ।

‘विगतमा माघ र फागुनमा दैनिक ४० किलोजति सुनको माग हुन्थ्यो, अहिले भाउ बढेका कारण सुनको माग दैनिक सरदर ३० किलोजति छ’ उनले भने, ‘तर, बजारमा माग अनुसार सुनको उपलब्धता छैन ।’

राष्ट्र बैंकले दैनिक १० किलो मात्रै सुन आयात गर्न अनुमति दिँदै आएको छ । विदेशी मुद्राको सञ्चितीमा दबाब परेको भन्दै सुनको आयातमा प्रतिदिन १० किलोको कोटा लगाइएको छ । व्यवसायीहरुले भने कोटा बढाउन माग गर्दै आएका छन् । तर, राष्ट्र बैंक तत्काल सुन आयातको कोटा बढाउने पक्षमा देखिएको छैन ।

भाउ आकासिनुको कारण के ?

नेपाली बजारमा सुनको भाउ बढ्नुमा डलरको भाउले पनि केही हदसम्म भूमीका खेल्छ । किनकी, नेपालमा सुन आयात गर्ने वाणिज्य बैंकहरुले डलरको भाउ अनुसार पैसा तिर्नुपर्छ । डलरको भाउ बढेको बेलामा बढी मूल्य तिर्नुपर्दा त्यसको प्रभाव स्वरुप नेपाली उपभोक्ताले खरिद गर्दा पनि बढी नै मूल्य तिर्नुपर्छ ।

अहिले शक्ति राष्ट्रहरुले सुनको सञ्चिती बढाउँदा अन्तराष्ट्रिय बजारमै सुनको भाउ बढिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियश श्रेष्ठको भनाई छ । विश्व बैंक लगायतका संस्थाहरुले सन् २०२३ मा विश्वभरी नै आर्थिक मन्दी आउने खतरा रहेको भन्दै सचेत हुन भनिरहेकाले शक्ति राष्ट्रहरुले सुनको सञ्चिती बढाउँदा अहिले सुनको भाउ बढेको उनले बताए ।

‘विभिन्न कारणहरुमध्ये मेजर कारण चाहिँ चीन र रसियाका सेन्ट्रल बैंक (केन्द्रीय बैंक)ले सुनको रिजर्भ बढाएका छन्, यसले अन्तराष्ट्रिय बजारमै सुनको भाउ बढेको छ’ शाक्यले भने, ‘मन्दीको कुराले गर्दा शक्ति राष्ट्रहरुले सुनमा लगानी गरेर रिजर्भ बढाएका हुन् भन्ने लाग्छ ।’

अन्तराष्ट्रिय बजारमा सुनको भाउ अहिले १९ सय डलर प्रतिऔँसको वरीपरी छ । तर, यो मूल्य २५ सय देखि २६ सय डलरसम्म पुग्न सक्ने अनुमान अन्तराष्ट्रिय रुपमा हुँदै आएको छ । यदि सुनको भाउ प्रतिऔँस २६ सय डलर पुग्यो भने नेपालमा प्रतितोला १ लाख ४० हजार रुपैयाँ नाघ्ने छ ।

पूरानै गहनाको भर

शक्ति राष्ट्रहरुले सुनको रिजर्भ बढाएको भएपनि नेपालमा भने आयातमा प्रतिदिन १० किलोको कोटा लगाइएको छ । बजार माग अनुसार आयात नहुँदा सिजनमा सुनको अभाव हुने देखिएको व्यवसायीहरुको गुनासो छ ।

‘नयाँ गहना नहुँदा खरिदकर्ताले किन्न पाएका छैनन्, यहीँ बेला भाउ पनि बढिदिँदा उपभोक्ताहरु पूरानै गरगहना प्रयोग गरेर काम चलाउने अवस्थामा देखिएका छन्’ शाक्यले थपे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved